तेज आचार्य, सुशन बिष्ट, राम मैनाली
रोङः केराको स्वाद जती मिठो छ प्राविधिक सेवा र बजारको अभाव भोग्ने केरा उत्पादक कृषकको व्यथा त्यती नै तितो छ । इलामको दक्षिणी क्षेत्र रोङ गाउपालिका, माई नगरपालिका सहितको चुरे क्षत्रका किसानहरु दुई दशक देखि प्राविधिक ज्ञान र दिगो बजारको अभाव झेलिरहेका छन् ।
इलामको रोङ गाउपालिका, माई नगरपालिकाको तल्लो क्षेत्रका किसानको घर खर्च चलाउने आधार बन्दै आएको केरा खेतीमा उत्पादनको समयमा विभिन्न रोगको प्रकोप बढ्ने र विक्रीको समयमा मुल्यनै नहुने हुन थालेपछि किसानहरु समस्यामा परेका हुन् ।
झापाको शनिश्चरे, बिर्तामोड हुँदै काठमाडौ सहितको ठूला सहरमा पुग्ने केराको मुल्य किसानको हातमा भने प्रति घरी १५० देखि २५० सम्म पाउने गरेको रोङ २ बरफल्याङका कृषक टिका प्रसाद भट्टराईले बताए । उनले १५ रोपनी क्षेत्रमा केरा खेती गरेका छन् । बार्षिक ६० हजारको केरा मात्रै विक्री गर्ने उनले त्यही केरा वगानमा सुवारी र पशुका लागि घास समेत उत्पादन गर्दै आएका छन् । सत्र बर्ष देखि व्यवसायीक केरा खेतीमा लागेको भट्टराईले सुनाए ‘जुन आशाले खेती शुरु गरिएको थियो, रोग, किरा र बजारले निराश बनायो ।’
बरफल्याङमा मात्रै तीन सय भन्दा बढिले केरा खेती गर्दै आएका छन् । पहिले रातो देखिने बरफल्याङमा अहिले हरियाली छाएको छ । माइ नगरपालिका र चुलाचुली गाउँपालिकाका चुरे क्षेत्रका किसानले पनि ठूला शहरमा केराको माग बढेपछि खेती शुरु गरेका छन् । कृषकहरुको अनुसार सबै कृषकको समस्या रोग, किरा र बजारको नै छ ।
रोङ २ काे कृषि तथा प्राविधिक शाखा प्रमुख रामकुमार तामाङका अनुसार केरा खेतीमा गवारो किराको प्रकोप बढि देखिने गरेको छ । त्यसवाहेक केरामा लाग्ने मुख्य रोगहरूमा पानामा ओइलाउने, बन्ची टप, पातको थोप्ले, गुवो मर्ने, कोत्रे र गानो कुहिने रोग प्रमुख रुपमा देखिने गरेको उनले बताए । बगैँचा सरसफाइ नगर्दा र केराको झाँङबाट विरुवा सर्दा रोग र किरा फैलने क्रम बढेको उनको भनाई छ ।
रोङ २ का केरा व्यावसायि दिपक ढुंगानाका अनुसार यस क्षेत्रमा चिनीचम्पा, भण्डारी , धुस्रे , सिगापुरी जातका केरा पाइन्छ । उनका अनुसार चिनिचम्पा (लालकोला)को माग बजारमा अरुभन्दा राम्रो छ । झापाका बजारमा पु¥याएर विक्री गर्ने उनले केरा उत्पादकले अहिले पनि राम्रो बजार नपाएको सुनाए । उनले भने ‘शुरक्षित बजारको अभावको कारण किसानहरु मारमा परेका छन् ।’ कतिपय किसानले भने उनीजस्तै विचौलीया व्यपारीको कारण किसानहरुले उचित मुल्य नपाएको बताए ।
रोङ गाउपालिका वडा नम्बर २ का वडा अध्यक्ष टेकबहादुर तामाङका अनुसार केराको बजार व्यवस्थापनका लागि गत बर्ष देखि केराको परिकार बनाउने तालिम शुरु गरिएको छ । चालु बर्ष पनि केराका परिकार बनाउने तालिम सञ्चालन गर्ने योजना रहेको उनले बताए । उनले भने ‘केरा यहाँका आयस्रोत भएकाले यसको संरक्षण र बजार व्यवस्थापनका लागि योजनाबद्ध काम शुरु गरेका छौ ।’
प्रतिक्रिया