इलाम , १८ चैत : कुनै किसिमको दुर्घटना भएमा तत्काल केही उपचार गर्नुपर्ने हुन्छ ताकि थप जोखिम मोल्न नपरोस् । अस्पताल पुर्याउन समय लाग्न सक्छ, वा अस्पताल पुर्याइरहँदा पीडितले असहय दुखाई झेल्नुपर्छ । यस्तो अवस्था आउन नदिनका लागि प्राथमिक उपचार उपयोगी हुन्छ । प्राथमिक उपचार भनेको कुनैपनि दुर्घटना लगत्तै गरिने सामान्य रोकथाम विधी हो । प्राथमिक उपचारले संभावित जटिलताबाट छुटकारा दिलाउन सक्छ । यता तर्फ सबैको ध्यान पुग्न सकेको हुदैन । तर इलाममा रहेको सुनगाभा बचत तथा ऋण सहकारी संस्थाले आधाभुत प्राथमिक उपचार प्रशिक्षण तालिम दिएको छ । समुदाय प्रति उतरदायी हुँदै प्राथमिक उपचार ( फस्ट एड )तालिम दिएको संस्थाका अध्यक्ष गोपाल पौड्यालले बताउनुभयो । यहि चैत २० गते ६८ औ राष्ट्रिय सहकारी दिवस मनाईदै छ । दिवसको अवसर पारेर आयोजना गरिएको चारदिने आधारभूत प्राथमिक उपचार तालिम सोमबार इलाममा सम्पन्न भएको छ । इलाम अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रभु शाहको प्रमुख आतिथ्यता र सुनगाभा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोपाल पौडेलको अध्यक्षतामा भएको थियोे । सैद्धान्तिक र ब्यवहारिक तालिम भएको भएकोले प्रभावकारी हुने शाहले बताउनु भयो । कुनैपनि विपदमा सुरक्षाकर्मी नै अगाडि हुने भएकोले सुरक्षाकर्मी सबैले अनिवार्य तालिम लिनु पर्ने उहाँको भनाई छ । प्राथमिक उपचारले जोखिम कम गर्ने भएकोले यो तालिम प्रभावकारी हुने उहाँले बताउनु भयो ।

कार्यक्रममा इलाम नगरपालिका सहकारी शाखाका प्रेम पाण्डे ,प्रमुख प्रशिक्षक कृष्ण चन्द्र पाण्डे ,जिल्ला सहकारी संघ इलामका अध्यक्ष लिला प्रसाद थापा लगायतले मन्तव्य राखेका थिए । स्थानीय सरकारले नै यस्तो कार्यक्रम राख्नु पर्ने र टोल टोलमा प्राथमिक उपचार गराउन सक्ने गरि तालिम हुनु पर्ने बताएका छ्न ।

तालिममा नेपाल प्रहरी , सशस्त्र प्रहरी , नगर प्रहरी लगायत सुनगाभा सहकारी संस्थाका सेयर सदस्यहरु गरि ४० जना सहभागी भएका थिए । उनीहरूलाई समुदायमा प्राथमिक उपचार सेवा पुर्याउन फस्टएड किड उपलब्ध गराएको छ ।
सुनगाभाले यस अघि पाठेघरको मुखको क्यान्सर परिक्षण र स्वास्थ शिबिर संचालन गरेको थियोे । समुदाय प्रति उतरदायी हुँदै स्वास्थमा विविध कार्यक्रम संचालन गर्दै आएको जनाएको छ । यस सहकारीले बचत र ऋण लगानी मात्रै नगरी बिभिन्न सामाजिक र सेवामुलक कार्यहरु गर्दै आई रहेको छ । शेयर सदस्यहरुको क्षमता अभिवृद्धि , स्वास्थ परिक्षण , साथै सामाजिक सेवामा सामेल गराउदै जिम्मेवार बनाउन तालिमको आयोजना गरेको संस्थाका सचिव जीवन कोइरालाले बताउनु भयो । तालिममा सहभागीको आफुले समाजको लागि अति नै आवश्यक तालिम लिएको बताएका छन ।





प्रतिक्रिया