इलाम , जेठ ३० ।
इलाम नगर पालिका स्तरीय ‘गंगादेवी श्रेष्ठ/बद्री शाह स्रष्टा सम्मान कोष’ स्थापना हुने भएको छ । सिर्जनशील स्रष्टाहरुलाई पुरस्कार तथा आर्थिक सहयोग गरी उत्प्रेरित, प्रोत्साहित र सम्मान गर्नका लागि “गंगादेवी श्रेष्ठ/बद्री शाह स्रष्टा सम्मान कोष” स्थापना हुने भएको हो । इलाम नगरपालिका वडा नं. ७ मालापथ निवासी स्व. गंगादेवी श्रेष्ठ र स्व. बद्री शाहको पुण्य स्मृतिमा रु १ लाख रकम अक्षय कोषमा प्रदान गर्ने र सोको ब्याजबाट कोष सञ्चालन गर्ने गराउने इच्छा गरी इलाम नगरपालिका वडा नं. ७ मालापथ निवासी रामकुमार शाह ( इलाम नगरपालिकका प्रशासकीय अधिकृत )ले निवेदन दिनु भएको थियो । कोष स्थापनाको लागि शाहले दिनु भएको निवेदनको प्रस्तावलार्य इलाम नगरपालिकाका मेयर केदार थापाले दोस्रो कार्य सुचीमा राख्नु भएको थियो । मेयर थापाको कार्यसुचीलाई इलाम नगरपालिका कार्यपालिकाको सोमबार बसेको बैठकले अनुमोदन गरेको जनाइएको छ । शाहले आफ्नो बुवा स्व. बद्री शाहको स्मृति र शाहको परिवारले अभिभावक मानेको स्व. गंगादेवी श्रेष्ठको स्मृृतिमा व्यक्तिगत रुपमा अक्षयकोष स्थापना गर्न रकम प्रदान गर्ने निगरानी डटकमलाई बताउनु भयो । शाहले भन्नु भयो – ‘बुवा र अजिको स्मृतिमा सम्मान स्वरुप अक्षयकोष स्थापना गर्ने आफुलाई इच्छा लागेर अक्षयकोष स्थापना गर्न लागेको हु । ’
कोष स्थापना गर्ने, कोषको अक्षय कोष तथा अन्य बैकिङ्ग कारोबारको लागि प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको दस्तखतबाट सञ्चालन हुने गरी बैंक खाता खोल्ने जनाइएको छ । कार्यपालिकाबाट अर्को व्यवस्थापन नहुन्जेलसम्मका लागि सो कोषको सञ्चालन, व्यवस्थापन तथा सिफारिसका लागि संयोजकमा विशिष्ट नागरिक युद्धप्रसाद बैद्य, उपसंयोजक कृष्णकुमार शाह, सदस्यहरु निवर्तमान नगर प्रमुख महेश बस्नेत, पूर्व नगर प्रमुख हिमालय कर्माचार्य, पूर्व उपप्रमुख कृष्णप्रसाद श्रेष्ठ, पत्रकार महासंघ पूर्व अध्यक्ष धर्म गौतम, इन्जिनियर गोपाल श्रेष्ठ, इन्जिनियर सुरेश नेम्वाङ्ग, साहित्यकार डम्बर पहाडी, साहित्यकार राधेश्याम लेकाली, कवि तथा वडा सदस्य बिमल बैद्य, साहित्य कला संगीत प्रतिष्ठान इलाम, सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भुजेल रहेको समिति गठन गनें जनाइएको छ ।