उद्यमी व्यवसायीलाई कोशी प्रदेश प्रमुखको सल्लाह ‘माग पुरा नभए सम्म आवाज उठाइ रहनुस् ’

उद्यमी व्यवसायीलाई कोशी प्रदेश प्रमुखको सल्लाह     ‘माग पुरा नभए सम्म आवाज उठाइ रहनुस् ’

इलाम:कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले इलामका उद्यमी, व्यवसायीलाई सम्बोधन गर्दै उद्यमी व्यवसायीका मागहरु संवोधन नभए सम्म मागलाई निरन्तर उठाइरहन सुझाव दिएका छन् ।
इलामको पशुपतिनगरमा चिया, दुध, यातायात, पर्यटन लगायतका क्षेत्रका उद्यमी व्यवसायीसंगको छलफल पछि उद्यमी व्यवसायीसंग तीन तहका सरकारले सम्बोधन गर्नुपर्ने कतिपय समस्याहरु रहेकाले ती समस्या समाधान गर्न उद्यमी व्यवसायीले पनि निरन्तर आवाज उठाइरहनु पर्ने बताए हुन् ।
सूर्योदय नगर उद्योग बाणिज्य संघले बुधबार सूर्योदय नगरपालिकाको पशुपतिनगरमा आयोजना गरेको छलफल कार्यक्रममा व्यवसायीले इलामको पशुपतिनगरमा अध्यागमन कार्यालय स्थापना भएपनि भारत तर्फ अध्यागमन कार्यालय नभएकाले तेस्रो मुलुकका पर्यटक नेपाल आउन नपाएको, तयारी चियाको विक्रीका लागि भारत बाहेक तेस्रो बजारको खोजी गर्नुपर्ने, पशुपतिनगर नाकालाई ‘बैद्य नाका’को रुपमा विकास गर्नुपर्ने, दुग्ध व्यवसायमा भारतीय उत्पादनको हस्तक्षेप कम गर्न अनुदान र सरकारी नीतिमा सुधार गर्नुपर्ने लगायतका विषय उठाएका थिए ।
प्रदेश प्रमुख खापुङ्गले नीतिगत सुधारकाका लागि प्रदेश सरकार र संघिय सरकारसंग आफूले छलफल अघि बढाउने बताए ।
सूर्योदय नगरपालिका वाड न ३ का वडा अध्यक्ष लोक बहादुर प्रधानले इलाममा कृषि र कृषि जन्य उद्योगहरु बजार र व्यवस्थापनको अभावमा समस्यामा रहेकाले यसको सम्बोधनका लागि प्रदेश र संघ सरकारले गम्भिर भएर काम गर्नु पर्ने बताए । अर्का जनप्रतिनिधि वडा न २ का वडा सदस्य उपेन पाण्डेले कोशी पहाडमा कृषि र पर्यटनको विकासका लागि पशुपतिनगर नाकालाई व्यवस्थीत गर्नुपर्ने बताए ।


सूर्योदय नगर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईको अध्यक्षतामा भएको कार्यक्रममा सूर्योदय टि प्रोड्युसर्स एशोसिएसनका सलहकार चिया उद्यमी पुनम राईले चियाको ठूलो बजार भारत भएकाले त्यहाँको सरकारले लिने सानो निर्णयले पनि यहाँका हजारौ चिया किसान प्रभावित हुने गरेकाले अब सरकारले अन्य देशमा चियाको बजार सूनिश्चत गर्नुपर्ने बताए ।
हिमालयन चिज एशोसिएसनका उपाध्यक्ष गोविन्द खड्काले दुग्ध व्यवसाय कोभिड पछि धरासायी बनेको भन्दै यसलाई सुधार गर्न भारतीय दुग्ध उत्पादनको नेपाली बजारमा बढ्दो हस्तक्षेप नियन्त्रण गर्नुपर्ने बताए । डेरी उद्यमी तोयानाथ महतले कोशी प्रदेशले दुग्ध परिकार नेपाल बाहिर विक्रीगर्दा गत बर्ष दिएको प्रतिकिलो एक सय रुपयाँ अनुदान साना उद्यमीको हातमा नगरेको गुनासो गरे । उनले कृषि अनुदानलाई व्यवहारीक बनाउनु पर्ने सुझाव दिए ।
यातायात व्यवसायी मिलन क्षेत्रीले पशुपतिनगरबाट सहज रुपमा तेस्रो मुलुकका पर्यटक ल्याउने वातावरण बनाउन संघ सरकारले ध्यान दिनुपर्ने बताए । उनले भने ‘बर्षौ देखि यहि भनिरहेका छौ तर, काम भएको छैन ।’
आयोजक संर्योदय नगर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईले यस क्षेत्रको कृषि, पर्यटन उद्योगमा देखिएका समस्या समाधान गर्न तीन तहको सरकारले नागरिकको आवाज सुनेर काम प्रारम्भ गर्नु पर्ने बताए ।
प्रदेश प्रमुख खापुङ्गले यस अघि मंगलबार पशुपतिनगर स्थित नेपाल भारत सिमा क्षेत्रको निरिक्षण गरेका थिए ।
तस्विर ः उद्यमी व्यवसायीसंगको छलफलमा कोशी प्रदेश प्रमुख परशुराम खापुङ्ग । तोयानाथ भट्टराई