सिन्धुपाल्चोकमा बस दुर्घटनामा ११ जनाको मृत्यु

सिन्धुपाल्चोकमा बस दुर्घटनामा ११ जनाको मृत्यु

मेलम्ची/सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ भोटसिपास्थित बडहरे चोक नजिक खोँचमा एक सवारी साधान दुर्घटना हुँदा कम्तीमा ११ जनाको निधन भएको छ । सोही गाउँपालिका–९को सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नंको बस सडकबाट २०० मिटर तल खस्दा १२ जनाको निधन भएको प्रहरीले जनाएको छ । पचासभन्दा बढी घाइते भएकोे स्थानीयवासी राजेन्द्र आचार्यले बताउनुभयोे ।सो घटनामा क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्र्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । दुर्घटनाको स्थिति हेर्दा थप क्षति हुनसक्ने देखिन्छ ।

दुर्घटनामा परेका प्राय सबै घाइते भएको हुनसक्ने अनुमान गरिएको र घटनाको थप विवरण आउन बाँकी रहेको उहाँको भनाइ थियो ।छतमा समेत यात्रु भएकाले कम्तीमा पनि ७० भन्दा बढी यात्रु उक्त बसमा चढेका प्रहरी नायब उपरीक्षक काफ्लेले बताउनुभयो । कच्ची सडक र यात्रु बढी भएकाले हेलम्बु यातयातको सो बस दुर्घटना भएको हुन सक्ने बताइएको छ ।

पाँच जनाकोे सनाखत

प्रदेश नं ३का सामाजिक विकासमन्त्री युवराज दुलाल ‘शरद’ उक्त बस दुर्घटनास्थलमा पुग्नु भएको छ । हेलिकप्टर लिएर घटनास्थल आइपुग्नु भएका उहाँले घाइतेको उद्धारमा कुनै कमी हुन नदिन सुरक्षा निकायलाई निर्देशन दिनाका साथै अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे जानकारी लिनुभयो । उक्त दुर्घटनामा निधन भएका १२ मध्ये पाँच जनाको सनाखत भएको छ । सनाखत हुनेहरूमा काभ्रे घर भएका केदारनाथ महाजु, काभ्रे पाँचखाल नगरपालिकाकी सङ्गीता पुरकोटी, इन्द्रवती–९ का हीरा श्रेष्ठ, सोही ठाउँका विनोद लम्साल र सोही नगरपालिका–१० का रितेश आचार्य छन् । रासस