इलाम: नेपाल महिला संघकी नेतृ बबिता लिङ्दमले आफू नेपाल महिला संघ इलामको बैधानिक अध्यक्ष दावी गर्दै अर्को समूहलाई महिला संघको नाममा अनधिकृत काम नगर्न चेतावनी दिएकी छन् ।
भगवती कोइरालाको नेतृत्वमा रहेको समूहले क्षेत्रीय र पालिका समिति बनाउन थालेपछि लिङ्दमले ध्यानाकर्षण पत्र मार्फत सो काम नगर्न चेतावनी दिएकी हुन् ।
एक बर्ष अघि देखि महिला संघमा देखिएको विवाद अहिले पनि हल भएको छैन ।
जिल्लामा काङ्ग्रेसका हिमालय कर्माचार्यको अग्रसरतामा विवादका विचमा समिति गठन शुरू गरेपछि महिलाहरूमा फाटो ल्याउने खेल शुरू भएको भन्दै सो कदम रोक्न ध्यानाकर्षण गराएको लिङ्दमले बताइन् ।
संघकी जिल्ला अध्यक्षको हैसियतमा लिङ्दमले जारी गरेको ध्यानाकर्षण पत्रमा भनेकी छन् ” नेपाल महिला संघ इलामको नामबाट अनधिकृत रुपमा क्षेत्र र पालिका स्तरमा समिति गठन हुन थालेको अपुष्ट जानकारी प्राप्त भएको प्रति गम्भीर ध्यान आकर्षण भएको छ, यसरी विधान विपरीत हुने कियाकलाप मान्य नहुने कुरा सम्बन्धित सबैमा स्मरण गराउँन चाहन्छु ।” उनले यस प्रकारको अवैधानिक गतिविधिले नेपाल महिला संघ र मातृ संस्था नेपाली कांग्रेसलाई नै क्षति पुग्ने कुरामा सबैले सचेत र जिम्मेवार बन्न आग्रह गरेकी छन् । उनले नेपाल महिला संघ केन्द्रीय समिति, नेपाली कांग्रेस पार्टी, भातृ,शुभेच्छुक संघहरू सहित नेपाली काङ्ग्रेसको जिल्ला कार्यसमिति सहित सबै संरचनालाई पार्टी नेता सहितको संलग्नतामा भइरहेको गतिविधि प्रति चनाखो रहन समेत आग्रह गरेकी छन् ।
उनले भनिन् ” बैधानिक प्रकृया बाहिर रहेर गर्ने कुनै पनि गतिविधि स्विकार्य हुँदैन ।
हालै सन्दकपुर गाउँपालिकामा कोइरालाको समूहले गाउँ पालिका समिति गठन गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा फोटो पोष्ट गर्ने अभियान चलाएको थियोे । त्यहाँ काङ्ग्रेस पुर्व जिल्ला सभापति हिमालय कर्माचार्य , पार्टी सहसचिव देवेन्द्र सुवेदी लगायतको उपस्थिति देखिएको थियोे । केन्द्र देखि जिल्ला सम्म विवाद चुलिएको समयमा समन्वयको प्रयास समेत नगरी पालिका समिति बनाउने प्रयास गर्नुलाई पार्टीको गत अधिवेशनमा निकै कमजोर सावित भएका कर्माचार्यले महिला संघको बैसाकी समातेर तङ्ग्रिन अभ्यास गरेको अर्थमा बुझेको कतिपय काङ्ग्रेस कार्यकर्ताले बताएका छन् ।
लिङ्दमले चाडै जिल्ला कार्य समितिको विस्तार र अन्य सांगठनिक कार्यक्रम सार्वजनिक गर्ने बताएकी छन् ।
लिङ्दमले महिला संघ इलामको अघिल्लो अधिवेशनपछि विधानअनुसार अधिवेशनको प्रकिया अगाडि बढाउने दावित्व अघिल्लो अधिवेशनले गठन गरेको समितिकै भएको प्रष्ट पारेकी छन् । इलाममा जिल्ला कार्यसमितिलाई पाखा लगाउँदै केन्द्रीय कार्यसमितिले “गुट नजिकको मान्छेलाई” संघको जिल्ला अध्यक्ष बनाएपछि विधि मिचिएको भन्दै संघकी सचिव लिङ्दमको नेतृत्वमा पुरानै समितिलाई सकृय बनाइएको छ ।
उनले भनिन् “नेपाल महिला संघ केन्द्रीय समितिले स्थापित मापदण्ड विपरित जिल्ला कार्य समिति भन्दा बाहिरका व्यक्तिहरुको नामवाट गठन गरिने वा मनोनयन गरिने कार्य अवैधानिक हो र यो मान्य हुँदैन ।”
लिङ्दमले भनिन् “स्थापित मापदण्ड र तत्कालीन जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला पदाधिकारी मध्ये जेष्ठताको आधारमा जिल्ला समितिको अध्यक्षको जिम्मेवारी म आफूले पाइसकेको छु ।” उनले जति सक्दो छिट्टै समन्वय, छलफल र सहमतिको आधारमा बाँकी रहेका पदहरूमा समितिलाई संस्थागत रुपमा पूर्णता दिएर अन्य सबै प्रक्रिया विधान अनुसार अगाडि बढाइने जानकारी दिइन्
।
केन्द्र देखि जिल्ला सम्म विवाद
कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघमा गत बर्ष साउन भन्दा अघि देखि संस्थापन र इतर समूह एकअर्कालाई विधानविपरीत काम गरेको भन्दै आरोप प्रत्यारोपमा छन्।
महिला संघ अध्यक्षले १२ जिल्ला अध्यक्ष हटाएको भन्दै संघको विधानको धारा ३८ मा भएको स्पष्टीकरणको मौकासमेत नदिई निगाहका भरमा जिल्लाहरूमा नयाँ अध्यक्ष तोकिए पछि विवाद चुलिएको हो ।
महिला संघका २० केन्द्रीय सदस्यले अध्यक्ष उषा राउत मिश्रलाई बर्खास्त गर्न माग गरे संगै महिलाहरू दुई खेमामा विभाजित छन् । उषा राउत समूह इलाममा पनि शक्ति प्रदर्शनको शैलीमा उत्रिए पछि महिला नेतृहरूमा मनमुटाव बढेको हो ।
महिला संघमा गत बर्ष जेठ ३० गते ५२ सदस्य समिति बनेको थियो । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उषा राउत मिश्रको अध्यक्षतामा गठित नेपाल महिला संघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा ५२ जना सदस्यलाई मनोनयन गरेका थिए। यसको समय अवधि काङ्ग्रेसको विधान अनुसार ६ महिना अघि नै सकिएको छ ।
त्यसो त सभापति देउवाले संघको अध्यक्षमा राउतलाई मनोनीत गरेको करिब एक वर्षपछि तदर्थ समिति बनाएका थिए। राउत महिला संघकै निवर्तमान सचिव पनि हुन्। मंगलादेवी सिंह संस्थापक अध्यक्ष रहेको महिला संघमा यसअघि उमा रेग्मी अध्यक्ष थिइन्।
संघकी अध्यक्षले विधानविपरीत १२ जिल्लाको जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्षलाई बर्खास्त गरेर देउवा समूहका महिलाहरूलाई अध्यक्ष मनोनीत गरेको अर्को पक्षको आरोप छ । महिला संघको विधान महाधिवेशन गर्ने जिम्मा पाएको नेतृत्वले धमाधम जिल्ला नेतृत्वलाई हटाउन थालेपछि केन्द्रीय नेतृत्वले गलत बाटो समातेको भन्दै चर्को विरोध शुरू भएको एक बर्ष पुगिसकेको छ ।
अध्यक्ष राउतले सोलुखुम्बुका अध्यक्ष छिल्हामु शेर्पा, बारा अध्यक्ष सीता मैनाली, पर्साका अध्यक्ष विद्या श्रेष्ठ, सिरहा सभापति विमला निरौला, ताप्लेजुङ अध्यक्ष मीना गुरुङ, इलाम अध्यक्ष निर्मला सञ्जेल, महोत्तरी अध्यक्ष वीना तिवारी, रौतहट अध्यक्ष भुवनी गिरी, कास्की अध्यक्ष कोपिला रानाभाट, झापा सभापति सुशीला ढकाल र हुम्ला सभापति विजया बुढालाई हटाएकी थिइन् ।
सो कदम पछि महिला संघकी केन्द्रीय सदस्य डा. अमिता प्रधान शाक्य सहितले विधान अनुसारको समिति जिल्ला जिल्लामा बनाउने अभियान नै शुरू गरेका थिए ।
अध्यक्ष राउतले कास्कीको महिला संघ अध्यक्षमा मीना पाण्डे, नवलपरासी बर्दघाट पश्चिम अध्यक्षमा तारादेवी भण्डारी, झापा अध्यक्षमा टीका मैनाली सिटौला, हुम्ला अध्यक्षमा सुशीला शाहलाई मनोनीत गरेकी थिइन्।
साथै ताप्लेजुङ अध्यक्षमा गीता चौहान, इलाम अध्यक्षमा भगवती कोइराला, रौतहट अध्यक्षमा अञ्जु झा, महोत्तरी अध्यक्षमा अनिता शर्मा, सोलुखुम्बु अध्यक्ष सरला नाछिरिङ राई, सिरहा अध्यक्ष संगीताकुमारी चौधरी, बारा अध्यक्ष कलावतीदेवी पासवान, पर्सा अध्यक्ष किरणकुमारी शर्मालाई मनोनीत गरेकी थिइन् ।
२०५८ सालमा बनेको र संशोधित भएर आएको विधान अनुसार संघ चलेको संघको संस्थापन निकट समूहले दावी गर्दै आएको छ ।
प्रतिक्रिया