बैशाख ४, इलाम । बिश्वमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण नेपालमा पनि दिनदिनै थपिदैं गएको छ । यस महामारीको संक्रमण र जोखिम रोक्न सरकारले चरणबद्ध रुपमा देशमा लकडाउन गरेको छ । देशमा लकडाउन भएको २३ दिन बितिसकेको छ । लकडाउनको इलामे जनताले पालना गरीरहेका छन् ।
स्थानीय सरकारले गरिब, असाह्य, बिपन्न तथा श्रमिकहरुलाई सकेजति राहात उपलब्ध गराउँदै आएको छ । इलाममा स्थानीय सरकारले एकातिर राहात उपलब्ध गराइरहेको छ भने अर्कोतर्फ लकडाउनको समयमा काम गरेर खाने श्रमिकका साथै गरिब तथा बिपन्न एवं सडक पेटीमा बस्नेलाई लक्षित गरेर इलाम बजारमा निशुल्क खाना खुवाउने ब्यबस्था गरीएको छ । अत्यावश्यक कामले गाउँ गाउँबाट आएका मानिसहरुले बजारमा होटल बन्द हुँदा खाना नपाएर भौतिरहेको अवस्था तथा अस्पतालमा ल्याइने बिरामि र कुरुवालाई खानाको ब्यबस्था समेत नभएको अवस्था समेत आउन थालेपछि यहाँका केही युवाहरुको सक्रियतामा इलाम बजारमा निशुल्क खानाको ब्यबस्था गरेका हुन् । युवाहरुको यस कार्यको सबैले खुलेर प्रशंसा गरेका छन् । होटल एशोसिएसन इलामका अध्यक्ष देवी पौडयाल, निर्माण ब्यबसायी एवं इलामका युवा समाजसेवी सुमन श्रेष्ठको सक्रियतामा गत चैत १६ गतेबाट निशुल्क खाना खुवाउने अभियान थालिएको हो । इलामेली किचन नाम दिएर इलाम बजारको टयाक्सि स्टयाण्डमा खाना पकाएर खुवाइँदै आएको छ । किचनमा हाल दैनिक एकसय जनाले निशुल्क खाना खाने गरेको अभियानका एक सुमन श्रेष्ठले बताउनुभयो ।
इलाममा लकडाउनको समयमा वजार पूर्णरुपमा वन्द रहेको छ । फाट्टफुट्ट रुपमा खाद्यान्न पसल खुलेको छ भने बैंकका एटीएमहरु मत्र खुलेको छ । लकडाउनले समय असहज बन्दै गएको छ । गाँसबासको टुंगो नभएकाले भोकै पर्ने अवस्था आएको तथा साँझ बिहान हात मुख जोड्नेको अवस्था अत्यन्त दयनीय बनेको देखेपछि निशुल्क खाना खुवाउने अभियान थालिएको श्रेष्ठको भनाई छ । हालसम्म दुईहजार हाराहारीले भोक मेटाएका छन् ।
बिहान र बेलुका दुई छाक निशुल्क खाना उपलब्ध गराइँदै आएको श्रेष्ठको भनाई छ । सुरुमा यो कार्य सञ्चालन गर्न २०÷२२ हजार रुपैंयाँ खर्च भएपनि अहिले प्राय दिनहुँ जसो खाना खुवाउने दाताहरु आउने भएकाले निशुल्क खान खुवाउन हालसम्म अप्ठयारो नपरेको होटल एशोसिएसनका अध्यक्ष एवं अभियानका सदस्य देवी पौडयालले बताउनुभयो । खान पकाएर खुवाउनका लागि मिठाई ब्यबसायी शुकबीर शर्मा, बेद शर्माबाट सहयोग भएको पनि जानकारी दिनुभयो । जस्तोसुकै अवस्था आएपनि लकडाउन जहिलेसम्म हुन्छ तबसम्म निशुल्क खाना खुवाउन आफूहरु तयार रहेको बताउनुभयो । खाना पकाउन र बितरणका लागि इलामका होटल व्यवसायी सहित माछा ब्यबसायीहरु प्नि संलग्न छन् ।
गरिब, असाह्य तथा बिपन्न, श्रमिक र साहारा बिहिनहरुलाई खाना खुवाउने अभियान थालेपछि इलाम नगरपालिका थेबेचोक निवासि युकेमा रहनु भएका जगत लामाले बिहान बेलुका नै खानासंग मासु खुवाउन भन्दै आर्थिक सहयोग गर्नुभएको अभियानकर्ता सुमन श्रेष्ठले बताउनुभयो । यता अभियान थालेपछि स्थानीय सरकारबाट पनि पूर्ण साथ सहयोग पाएको अभियानकर्ताको भनाई छ । इलामेली किचनमा खाना पकाउनेका लागि एप्रोन पत्रकार राजीव न्यौपाने तथा अन्य आवश्यक सुरक्षा सामाग्रीहरु सुमन श्रेष्ठले नै खरीद गरेर उपलब्ध गराउनु भएको थियो ।