संकट ब्यबस्थापन केन्द्रको चारबुँदे निर्णय

इलाम, असार १ । चारबुँदे निर्णय गर्दै कोभिड १९ संकट ब्यबस्थापन केन्द्र इलामको बैठक सम्पन्न भएको छ । आइतबार सम्पन्न बैठकले देशका बिभिन्न जिल्लाबाट इलाम फर्कनेलाई स्वास्थ्य मन्त्रालयले तोकेको सुरक्षा र स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्नेगरी होम क्वारेन्टाइनमा पठाउने, भारत तथा तेस्रो मुलुकबाट इलाम आएकालाई तोकिएको होल्डिङ सेन्टर तथा क्वारेन्टाइनको एउटै ब्लकमा राख्ने र यसरी राखिएकालाई स्वास्थ्य मापदण्डको प्रोटोकल पूरा भएपछि होम क्वारेन्टाइनमा रहने गरी पठाउने पनि निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी एवं केन्द्रका अध्यक्ष तुलसिराम सेडाईको अध्यक्षतामा भएको बैठकले जेठ २८ गते नेपाल सरकारको मन्त्रिपरिषदको निर्णयमा उल्लेख भए बमोजिमका सेवा र कार्यहरु सञ्चालन गर्ने÷नगर्ने सम्बन्धमा उल्लखे भएका बिषयलाई प्रभावकारी ढंगले कार्यन्वयन गर्ने । यस्तै सबै स्थानीय तह,सरकारी निकाय, अन्य सम्बन्धित निकायलाई मन्त्रालयले तोके बमोजिमको प्रोटोकल कायम गर्नेगरी सेवा र कार्यहरु सञ्चालन गर्ने निर्णय बैठकबाट भएको छ । बैठकमा जिल्ला समन्वय समिति प्रमुख गणेश बराल, इलामनगरपालिकाका मेयर महेश बस्नेत तथा सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो ।