शान्ति र सद्भाव जगाउँदै जागृति नेपाल,बिद्यार्थीको क्षमता अभिबृद्धि गराउन बरबोटेमा बक्तृत्व तथा चित्रकला प्रतियोगिता

इलाम, मंसिर १३ । युवाहरुको क्षमता बृद्धिका साथै समाजमा शान्ति र सद्भाव फैलाउने गरी जागृति नेपाल इलामले बिगत पाँचबर्ष अघिदेखि बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ । इलामनगरपालिकाको वडा नम्बर ४ र ५ लाई समेटेर उक्त संस्थाले कार्यक्रम गर्दै आएको हो । संस्थाले शैक्षिक, खेलकुद तथा सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । युवाहरुलाई समटेर समूह नै बनाइ तथा युवाहरुलाई परिचालन गरेर बिभिन्न गतिबिधि गर्दै आएको उक्त संस्थाको काम जिल्लामा निकै प्रभावकारी बन्दै गएको छ ।

यसै क्रममा शनिबार उक्त संस्थाले इलामनगरपालिका ५ स्थित अमर माविमा आफनो कार्यक्षेत्र भित्रपर्ने बिद्यालयलाई समेटेर बिद्यार्थीको क्षमता बिकास गराउने गरी बक्तृत्वकला तथा चित्रकला प्रतियोगिताको आयोजना गरेको छ । जर्मनको पूर्वेस्रो नामक संस्थाको सहयोग तथा एसियन एकाडेमी फर पिस रिसर्च एण्ड डेभलपमेन्ट काठमाडौंको संयोजनमा भएको बक्तृत्वकलामा पाँच बिद्यालयका सातजना र चित्रकलामा चार बिद्यालयका ६ सहित १३ जना बिद्यार्थीले प्रतिष्पर्धा गरेका थिए । उक्त प्रतियोगितामा बिद्यार्थीको हौसला अझ बढाउने गरी पुरस्कार तथा प्रमाणपत्रको पनि ब्यबस्था गरेको थियो । जसमा यी दुवै बिधामा क्रमश पहिलो, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार जित्ने प्रतियोगिलाई क्रमश १७ सय, १२ सय, ९ सय र ६ सय रुपैंयाँ नगद सहित प्रमाण पत्र बितरण गरीयो । यस्तै पुरस्कार जित्न नसक्ने तर प्रतियोगितामा सहभागिता जनाउने बिद्यार्थीलाई प्रमाण पत्रको ब्यबस्था गरेको थियो ।

जसमा बक्तृत्वकला प्रतियोगितामा अमर मावि बरबोटेकी प्रश्ना खतिवडा पहिलो, इलाम सगरमाथा बोडिङ स्कूलका सुमन ढुंगाना दोस्रो, बरबोटे अंग्रेजी बोडिङ स्कूलका जुनु प्रसाई तेस्रो र सप्तमाई गुरुकुल संस्कृत बिद्यालयका समिर नेपालले सान्त्वना पुरस्कार हात पारे । यसैगरी चित्रकला प्रतियोगितामा अमर मावि बरबोटेकी शुभेच्छा चापागाइँ पहिलो, बरबोटे अंग्रेजी बोडिङ स्कूलका आयूष राइले दोस्रो पुरस्कार हात पार्दा सप्तमाई गुरुकुल संस्कृत बिद्यालयका दिवस घिमिरेले तेस्रो पुरस्कार प्राप्त गर्न सफल भए । पुरस्कार बिजेता बिद्यार्थीलाई संस्थाका अध्यक्ष नरेन्द्र खड्का, इलामनगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठ, इलाम क्याम्पसका प्राध्यापक केबी राई लगायतले पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नुभएको थियो ।

बिश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस र यसका असरका बारेमा बक्तृत्वकलाका प्रतिष्पर्धीले आ आफनो बिचार राखेका थिए, भने शान्ति र सद्भाव झल्काउने किसिमको चित्र कोर्न प्रतिष्पर्धीलाई लगाइएको थियो । सशस्त्र द्धन्दको समयमा मानिसमा पर्न गएको नकरात्मक असरलाई मध्यनजर गरेर उनीहरुलाई आयआर्जनको बाटोमा कसरी अगाडी बढाउने, स्वास्थ्य क्षेत्रमा कसरी अगाडी बढाउन सकिन्छ भन्ने लगायतका बिषयमा बिभिन्न कार्यक्रमहरु गर्दै आएको जागृति नेपाल इलामका सचिब गोपाल पौडेलले जानकारी दिनुभयो । संस्थाले बिद्यालय तथा प्रहरीसंगको समन्वयमा समाजमा शान्ति र सद्भाव झल्काउने गरी काम गर्दै आएको सचिब पौड्यालको भनाई छ ।

यता शनिबार सम्पन्न बक्तृत्वकला तथा चित्रकला प्रतियोगिता जागृति नेपाल इलामका अध्यक्ष नरेन्द्र खड्काको अध्यक्षता एवं इलामनगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष एवं प्रबक्ता ठाकुरनारायण श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो ।