बेपत्ता छोरी र नाती खोज्दै इलामका नारायण

बेपत्ता छोरी र नाती खोज्दै इलामका नारायण

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोलमा श्रीमान चेतमणि सुवेदीसँग बस्थिन ४० वर्षीया निर्मला(निरु) ढकाल सुवेदी । साथमै थिए पाँच बर्षीय छोरा चेन्ज सुवेदी । चेतमणि इमाडोल टेप्पोपार्क नजिकै रहेको आफ्नै मिनीमार्टमा दिनभर व्यस्त रहन्छन् । व्यापार राम्र्रै छ । जेनतेन घरगुजारा चलेकै थियो । मिनीमार्टमा अरु स्टाफहरु पनि भएकाले निरु इमाडोलमको कृष्ण मन्दिर नजिकै डेरामा छोराको हेरचाहमा दिन विताउँथिन । तर विडम्बना, पाँच बर्ष कोरिया बसेर फर्किएपछि घरजम गरेकी निरु छोरासहित बेपत्ता छिन । चैत्र २२ गते नजिकै साथीको बास बसेकी उनी २३ गतेदेखि सम्पर्क छैनन । यो खबर थाहा पाएका निरुका बुबा ६७ बर्षीय नारायण ढकाल इलामको माईजोगमाईबाट काठमाडौं आएका छन् । आफ्नी साइली छोरी निरु र नातीको खोजीमा उपत्यकाका सडक र गल्लीमा भौतारिरहेका छन् । प्रहरी प्रशासन, आफन्त, चिनजानमा रहेका व्यक्तिहरुसँग छोरी खोजी गरिदिन हारगुहार गरिरहेका छन् । इलामको देउमाइ नगरपालिका–६ स्थायी घर र इलामकै माइजोगमाइ–६ माइत भएकी निरु ४० की भइन । सिमित साथी र केही आफन्तबाहेक धेरैसँग उनको सम्पर्क थिएन । ‘दुई बर्षदेखि मोबाइल बोक्न दिएको रहेनछ । मोबाइल नभएपछि सामाजिक संजाल चलाउने कुरै भएन । ज्वाइँसँग राम्रैसँग घरगरी खाएकी होलिन भन्ने लाग्थ्यो । घरजम गरेकी छोरीलाई धेरै सोधीखोजी गरिएन तर बेपत्ताको खबरले मन पोलिरहेको छ । काठमाडौं, भक्तपुर, ललितपुरका धेरै ठाउँमा पुगिसकें, केही पत्तो लागेको छैन,’ढकालले भने,‘मन्दिर, आश्रम, सडक गल्ली सबैतिर पुगिसकें । प्रहरी, आफन्त, साथीसंगत सबै बुझिसकें । बजारको भीडभाडमा कतै छोरी देखिन्छे कि भनेर आँखा लगाउँछु तर पत्तो लागेको छैन ।’ छोरी र नाती बेपत्ता भएपछि ज्वाइँको बोली र व्यवहारप्रति शंका लागेको ढकालले बताए । उनले भने,‘ज्वाइँले पटक पटक बोली फेर्नुभएको छ । छोरीसँगको सम्बन्धमा खटपट भएको र उनी मानसिक समस्या रहेको हो कि भन्ने लागेको छ ।’ बेपत्ता निरुका भाई संजिव ढकाल भन्छन्,‘ ‘दिदी चैत्र २३ गते साथीकोमा जान्छु भनी निस्कनु भएछ । मोबाइल पनि बोक्नुभएको छैन । कपडा पनि एकसरो मात्र लगाएर हिड्नुभएको रहेछ । बेपत्ताका विषयमा भिनाजु त्यति गम्भीर देखिनु भएको छैन । हामी परिवरा शसंकित भएका छौं ।’ दिदी र भान्जाको खोजीमा रहेकाले कसैले देख्नुभए खबर गरिदिनुहुन उनले आग्रह पनि गरेका छन् । बेपत्ताको खोजीका लागि परिवारले नेपाल प्रहरी बृत्त सातदोबाटो र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा पनि निवेदन दिएका छन् । सिआइबीका डिएसपी दुर्गा दाहालले वेपत्ता भएका व्यक्तिको संभावित स्थानमा खोजी भइरहेको जानकारी दिए । उनले बेपत्ताको क्लु पत्ता लगाउन फोन वा अन्य सम्पर्क सुत्र केही नभएकाले कठिन भइरहेको पनि बताए । प्रहरी बृत्त सातदोबाटोका डिएसपी उमेश जोशीले बेपत्ता पत्ता लगाउन विभिन्न कोणबाट प्रयास भइरहेको जानकारी दिए । उनले भने,‘बेपत्ता महिला डिप्रेसनको विरामी भएको बुझिएकाले केही समस्या भएको छ । हामीले मोबाइलको सीम, एटीएमलगायतको अनुसन्धान गरिरहेका छौं । खोजीलाई निरन्तरता दिएका छौं ।’ डिएसपी उमेश पन्त परिवारका सदस्यहरुले निज महिलालाई खोजी गरिदिन अनुरोध गर्दै फोन नम्बर पनि उपलब्ध गराएका छन् । आफन्त तथा परिवारले मोबाइल नम्बर ९८४९४८५२९०, ९८२४००३७७५, ९८४२७०१८६२, ९८२३७८९६६७ मा सम्पर्क गरिदिन अनुरोध गरेका छन् । उकेराबाट