विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशसभामा पेस भएको प्रतिस्थापन बजेट विधेयक लोककल्याणकारी हुने बताएका छन् ।
विधेयकका सम्बन्धमा आर्थिक मामिला तथा योजना मन्त्रालयको सभाहलमा आज आयोजित पत्रकार भेटघाटमा उनले बजेट प्रगतिशील भएको दावी गरेका हुन् ।
जनताका घरदैलोसम्म पुर्याउने लक्ष्यका साथ योजना र बजेटको व्यवस्था गरेको उनले बताए । मुख्यमन्त्री कार्कीले भने, ‘प्रदेशमा १० वर्षमुनिका बालबालिकाको उपचार बजेट पारित भएकै दिनदेखि निःशुल्क उपचार हुने छ ।’
उनले शैलेजा हृदय केन्द्र अस्पताल निर्माण र महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गर्ने बजेटको विशेषता रहेको उल्लेख गर्दै प्रदेशको राजधानी आउनसम्मका सबै बाटोलाई व्यवस्थित गर्ने दाबी गरे ।
मुख्यमन्त्री कार्कीले विराटनगरको रानीबाट सुनसरीको दुहबीसम्म ‘बाइपास’ बाटो निर्माण गर्ने जनाउँदै राजस्व बढाउन लोक कल्याणकारीका योजना सञ्चालन हुने बताए ।
उनले बजेट अध्यादेशबाट आए पनि सबैको मन छुने गरी ल्याएको र यसले आम नागरिकको आवश्यकता र चाहनालाई पूरा गर्ने दाबी गरे । उनले भने, ‘बजेट पूर्णरूपमा कार्यान्वयन हुन्छ ।’
प्रतिक्रिया