इलाम, चैत २६ । इलामको नेपाल भारत सिमा क्षेत्रमा आवतजावतमा थप कडाइ गर्न इलामका सात स्थानमा सशस्त्र प्रहरीका अस्थायी पोष्ट खडा गरी उच्च सुरक्षा सतर्कता अपनाइएको छ । सशस्त्र प्रहरी बल १ नं गण हेडक्वाटरका सशस्त्र प्रहरी उपरीक्षक रोसन बिष्टका अनुसार सिमा क्षेत्रका ५ स्थानमा अस्थायी पोष्ट स्थापना गरीएको बताउनुभयो ।
सिमा क्षेत्रमा अवस्था हेरेर पोष्टमा सुरक्षाकर्मी परिचालन गरीएको पनि उहाँले बताउनुभयो । सीमा क्षेत्रमा घुसपैठ गरी भारतबाट नेपाल फर्कने क्रम रोक्न सिमा क्षेत्रमा थप सशस्त्र प्रहरी परिचालन गरिएको हो । पोष्ट खडा गरेसंगै सीमाक्षेत्रमा सुरक्षा व्यवस्थालाई कडा बनाइएको बिष्टले बताउनुभयो । उहाँका अनुसार प्रमुख सिमावर्ती नाका पशुपतिनगरमा पहिले देखिनै सिमा सुरक्षा बल (बिओपि) रहेको छ । बिश्वमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण खुल्ला सिमानाको फाईदा उठाएर भारतबाट नेपाल प्रबेश गर्ने बढेसंगै त्यसलाई रोकथामका लागि सिमाका बिभिन्न क्षेत्रमा अस्थायि पोष्ट राखेको हो ।
सशस्त्र प्रहरी उपरीक्षक बिष्टका अनुसार रोङ गाउँपालिकाको जिर्मले, सूर्योदय नगरपालिकाको समाल्बुङ्ग, छब्बिसे, हिले, मानेभञ्ज्याङ्ग, सन्दकपुर गाउँपालिकाको मेघमा र जौबारीमा अस्थायि सुरक्षा पोष्ट राखिएको हो । कोरोनाको संक्रमित देश भारतबाट हुलका हुल नेपालीहरु प्रबेश गर्ने र उनीहरु क्वारेन्टाइनमा नबसि गाउँ गाउँमा जान थालेपछि यसलाई रोकथाम गर्न अस्थायि सुरक्षा पोष्ट खडा गरेको बताइएको छ ।