पर्यटन प्रवर्द्धनका लागि अन्तु महोत्सव

पर्यटन प्रवर्द्धनका लागि अन्तु महोत्सव


फिक्कल :आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि नयाँ वर्षको अवसर पारेर अन्तुमा अन्तु महाेत्सवकाे आयोजना हुने भएको छ ।

सूर्योदय नगरपालिकाले यही चैत ३० र २०८१ बै‌शाख १ गते अन्तु महाेत्सव गर्ने भएको हाे । सूर्योदय दृष्यावलोकनका लागि प्रख्यात रहेको अन्तुसँगै सूर्योदय नगरपालिकाकाे पर्यटन विकासका लागि अन्तु महाेत्सव गर्न लागिएको सूर्योदय नगरपालकाका उपप्रमुख दुर्गा बरालले बताए ।

महाेत्सवमा विभिन्न खाद्य परिकार , लाेपोन्मुख लाप्चा जातीको भेषभूषा, सँस्कृति प्रदर्शन अन्य विभिन्न जातजातिको साँस्कृतिक झाँकी, स्थानीय कलाकारहरुबाट साँस्कृतिक कार्यक्रम र डीजे सेसन जस्ता कार्यक्रमहरुको आयोजना गरिने नगरपालिकाले जनाएको छ । ‘अन्तुमा अहिले शुक्रबार र शनिबार आन्तरिक पर्यटकहरु आउने गरेका छन् तर हरेक दिन अन्तुलगायत सूर्योदय नगरभरि पर्यटकहरुलाई स्वागत गर्न सकियोस् भनेर महाेत्सवको आयोजना गरिएको हाे’ नगर उप्रमुख बरालले भने-‘बाह्रैमास देश तथा विदेशका पर्यटकहरुकाे आगमनका लागि महाेत्सव सहयाेगी बन्ने अपेक्षा गरेका छौं ।’

महाेत्सव तयारीका लागि नगरले १० लाख रुपैयाँ खर्च गर्ने जनाएको छ ।

अन्तुमा हाेम स्टे हाेटल तथा कटेजहरुको व्यवस्था गरिएको छ । साउनदेखि हालसम्म अन्तुमा ६० लाखभन्दा बढि आन्तरिक पर्यटकहरु आएका छन् ।