एकीकरणदेखि आन्दोलनको तयारीसम्म : राजपा

एकीकरणदेखि आन्दोलनको तयारीसम्म : राजपा

काठमाडौं। नेपालीहरुको महान् चाड बडा दशैं मनाउन व्यस्त छन्। आपसी वैमनश्यतालाई बिर्सेर सामाजिक सद्भावका रुपमा दशैं मनाउन धेरै नेपाली आफ्नो जन्म थलो पुगिसकेका छन्। आज नागरिक हर्षोउल्लासका साथ दशैं मनाउन थालेको बेला समाजवादी पार्टी र राजपाले भने एकता प्रक्रियालाई अगाडि बढाउने भएका छन्। दशैं, तिहार र छठको करिव एक महिनाको अवधिमा समाजवादी पार्टी र राजपाबीच एकता प्रक्रियालाई तीव्रता पाउने भएका हो।

राजपासँग एकता गर्न समाजवादी पार्टीले बढी रुची देखाएपछि त्यसप्रति राजपाले पनि सक्रियता देखाएको हो। समाजवादी पार्टीले पार्टी नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता टोली गठन गरेर एकताका लागि राजपालाई पत्राचार गरेपछि राजपाले पनि नेता राजेन्द्र महतोको नेतृत्वमा वार्ता टोली गठन गरेको छ।

दुवै पक्षबीच केही चरणमा औपचारिक र अनौपचारिक वार्तासमेत भएका छन्। राजपाले एकताका लागि सरकारबाट बाहिरिनुपर्ने सर्त राखेपछि केही लम्बिएको एकता प्रक्रियाले यो बीचमा तीव्रता पाउने राजपा महासचिव केशव झाले बताए। ‘एकताका लागि समाजवादी पार्टी सरकारबाट बाहिरिनुपर्ने राजपाको बटमलाइन हो,’ झाले डिसी नेपालसँग भने, ‘अहिले त्यसप्रति समाजवादी पार्टी लचिलो भएका कारण यो बीचमा एकता प्रक्रियाले तीव्रपा पाउने अपेक्षा गरेका छौं।’

राजपाको सरकारबाट बाहिरिनुपर्ने अडानप्रति समाजवादी पार्टी सकारात्मक रहेको बताइएको छ। एकताका लागि सरकारबाट बाहिरिने कुरा बाधन नहुने जवाफ समाजवादी पार्टीले दिएको छ।

योसँगै राजपाले आन्दोलनको तयारीसमेत गरिरहेको छ। सरकारले आफूहरुको माग पूरा नगरेको भन्दै राजपाले ‘राष्ट्रिय मुक्ति आन्दोलन’ को तयारी पनि गरिरहेको छ। राजपाले सम्पूर्ण पहिचानवादी शक्तिलाई समेटेर राष्ट्रिय मुक्ति आन्दोलन गर्ने तयारी गरेको हो। राजपाले संविधान संशोधन गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र कैलालीबाट प्रत्यक्ष निर्वाचन सांसद रेशम चौधरीलाई रिहा गर्नुपर्ने माग राख्दै आइरहेको छ।

सुरुमा वर्तमान सरकारलाई बाहिरै बसेर समर्थन गरेको राजपाले आफ्नो माग पूरा नभएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि राजपाले आन्दोलनको कार्यक्रम भने सार्वजनिक गरेको छैन। तर अब सबै पहिचानवादी शक्तिसँग कार्यगत एकता गरी आन्दोलन गर्ने निष्कर्षमा राजपा पुगेको महासचिव झाले जनाए।

यो बीचमा राजपाले गर्नुपर्ने अर्को पनि काम छ। यदि समाजवादीसँग एकता भएन भने राजपाले कात्तिक अन्तिममा महाधिवेशन गर्नुपर्ने बाध्यकारी अवस्था छ। राजपाले कात्तिक २८ र २९ गते महाधिवेशन गर्ने निर्णय यसअघि नै गरिसकेको छ। तर तयारी नपुगेको भन्दै महाधिवेशनको मिति सार्ने तयारी पनि भइरहेको छ। राजपा र समाजवादी पार्टीभित्र एकीकरण भएन भने कात्तिकमा महाधिवेशन गर्ने तयारीमा राजपा लाग्नु पर्नेछ।