लकडाउनका कारण रोकिएको बालबालिकाको नियमित खोप इलाममा सुचारु

लकडाउनका कारण रोकिएको बालबालिकाको नियमित खोप इलाममा सुचारु

लकडाउनका कारण रोकिएको खोप सेवा इलाममा संचालन भइरहेको छ । बालबालिबालाई जन्मेदेखि १५ महिना सम्म दिइने विभिन्न खोपहरु सुरु गरिएको छ । इलाम जिल्लामा पहिलो चरणमा बैशाख ११ गते देखि १६ गतेसम्म इलाम नगरपालिका, रोङ गाउँपालिका , सुर्योदय नगरपालिका ,सन्दकपुर गाउँपालिका , माइजोगमाई गाउँपालिकामा संचालन भएको जनस्वास्थ्य कार्यलय इलामका खोप सुपरभाइजर विष्णु ओस्तीले जानकारी दिनु भयो । दोसा्रे चरणमा वैशाख २१ देखि २६ गतेसम्म चुलाचुली गाउँपालिका , देउमाईनगरपालिका , फाककोकथुम गाउँपालिका , माई नगरपालिका र माङसेबुङ गाउँपालिकामा खोप कार्यक्रम संचालन हुने ओस्तीले बताउनु भयो । डब्लु एचओ को मापदण्ड अनुसारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशिका अनुसार सुरक्षाका उपायसहित बालबालिकालाई खोप दिन सुरु गरिएको उहाँले बताउनु भयो ।
स्वास्थ्यकर्मीले पिपिइ प्रयोग गरी सामाजिक दुरी कायम गरी एक एक जना गरेर पालैपालो खोप लगाउने गरी व्यस्थापन गरिएको चुलाचुली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दुश्यान्त दहालले बताउनु भयो ।
जिल्लाभर १५० वटा खोप केन्द्रहरुबाट खोप सेवा संचालनमा छ । बालबालिकालाई जन्मेदेखि १५ महिना सम्म दिइने विभिन्न खोप तालिकाअनुसार सुचारु गरिएको जनाईएको छ । बालबालिकालाई जन्मेदेखि १५ महिनाभित्र विभिन्न रोग विरुद्ध ११ प्रकारका खोप दिइन्छ । यी खोपहरुले बालबालिकालाई विभिन्न रोग लाग्नबाट बचाउने गर्दछ ।