इलाम ,असोज १
माईजोगमाई गाउँपालिका-१ प्रेमेजुङमा रहेको शिवमाई माविको भौतिक संरचना जीर्ण र फोहोर अवस्था देखेपछि संचारकर्मी बिनु खड्काले गत भदौ २१ गते सामाजिक संजालमा फोटो सहित पोष्ट गरेपछि उनी विरुद्ध मुद्दा परेको छ । सामाजिक संजाल फेसबुकमा विद्यालय परिवार र ब्यवस्थापन समितिको कारण विद्यालय जिर्ण बन्दै गएकोले सरोकारवालाको ध्यानाकर्षण गराउदा खड्का विरुद्ध उजुरी परेको बताएका छन । खड्कालाई विद्यालय व्यवस्थापन समितिले विद्यालयको नराम्रो कुरा सामाजिक संजालमा पोष्ट गरेको भन्दै न्यायिक समिति माइजोगमाईमा उजुरी दिएको हो ।खड्काले विद्यालय बन्द रहेको अवस्थामा झ्याल ढोका खुल्लै रहेको, बर्खाको पानी कक्षा कोठा भित्र पसेको र भौतिक सामाग्रीको कुनै संरक्षक नभएको अवस्थाको फोटोहरु आफ्नो व्यक्तिगत फेसबुकमा पोष्ट गरेका थिए । सो फोटो सार्वजनिक भएपछि विद्यालयले उनीविरुद्ध न्यायिक समितिमा उजुरी दिएको हो । सरोकारवालाको ध्यानाकर्षणका लागि सार्वजनिक महत्वको विषयको फोटो सामाजिक संजालमा पोष्ट गर्दा आफूविरुद्ध उजुरी परेको जानकारी प्राप्त भएको खड्काले बताए । ‘सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु सबै नागरिकको दायित्व हो । सार्वजनिक सम्पत्ति लथालिङ्ग भयो व्यवस्थित गरियोस् भनेर ध्यानाकर्षण गराउन सामाजिक संजालमा पोष्ट गरेको कारण विद्यालयले मुद्धा हालेको भन्ने न्यायिक समितिबाट जानकारी आएको खड्काले बताए ।
यता विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शालिकराम पौडेलले कोरोना भाइरस संक्रमणको बेला सबै तिर बन्दाबन्दी भएकाले विद्यालयमा जाने अवस्था नभएको बताए ।
विषम अवस्थामा विद्यालयमा सरसफाइ गर्न नसकेको उनले स्विकार गरे । खड्का विद्यालयको सरोकारवाला समेत भएकाले राम्रो कुरा नउठाई नराम्रो मात्र सामाजिक सञ्जालमा सम्प्रेषण गरेकाले छलफल गरिपाउँ भनेर न्यायिक समितिमा निवेदन दर्ता गराएको पौडेलले बताए ।शनिबार न्यायिक समितिले छ्लफलको लागि बोलाएको जनाइएको छ ।
प्रतिक्रिया