इलाम , असोज १७
प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय इलामले बिभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । “६६ औं प्रहरी दिवस २०७८” को अवसरमा प्रहरी प्रधान कार्यालयले तयार पारेको कार्यतालिका अनुसार जिल्ला प्रहरी कार्यालय इलामले शनिबार स्थानिय बासिन्दा, मन्दिर ब्यवस्थापन समिति एंव बिद्यार्थी समेतको सहभागितामा इलाम स्थित सिंह वाहिनी मन्दिर परिसर सरसफाई कार्यक्रम सम्पन्न गरेको जनाइएको छ । आइतबार इलाम चोकबजारमा चाडपर्वमा हुने सवारी साधन र यात्रुको चापलाई मध्येनजर गर्दै यात्रु सहायता कक्षको स्थापना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामको परिसरमा बिभिन्न प्रजातिका बिरुवाहरु रोपी वृक्षारोपण कार्यक्रम , चाडपर्वमा हुने भिडभाडमा कोभिड १९ को सम्भाबित संक्रमणलाई ध्यानमा राखी मेची राजमार्ग अन्तरर्गत चल्ने बिभिन्न यात्रु वाहक तथा मालवाहक सवारी साधनका चालक, सहचालक र यात्रु तथा पैदल यात्रीहरुलाई समेत “तपाईको मास्क खोई कार्यक्रम” आयोजना गरी कुल तीनसय जनालाई मास्क बितरण गरिएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । प्रहरी दिवसको मुल समारोह भने प्रहरी प्रधान कार्यालयको कार्यतालिका बमोजिम आगामी असोज २० गते भब्य रुपमा मनाउने तयारी गरीएको जनाइएको छ ।