logo
  • २०८१ कार्तिक २७ | Tue, 12 Nov 2024
  • एमाले अध्यक्ष ओलीलाई इलाममा कालो झण्डा

    एमाले अध्यक्ष ओलीलाई इलाममा कालो झण्डा


    इलाम , बैशाख १४ : प्रदेशको नाम ‘कोशी’ खारेज गर्नुपर्ने माग गर्दै आन्दोलनरत पहिचान पक्षधरहरुले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई विहीबार इलाममा कालो झण्डा देखाएर विरोध गरेका छन् ।

    सदरमुकाममा आयोजित पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्न आएका पूर्वप्रधानमन्त्री ओलीसहित एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ र प्रदेशसभा सदस्य रामबहादुर मगर (राना) आन्दोलनकारीले कालो झण्डा देखाएका छन् ।

    कार्यक्रमस्थलतर्फ लागेका तीनैजना नेतालाई सयौंको संख्यामा रहेका आन्दोलनकारीले इलाम बजारमा कालो झण्डा प्रदर्शन गर्दै उनीहरुविरुद्ध चर्को नाराबाजी गरेका थिए । पूर्वप्रधामन्त्री ओलीसहितका नेताहरु कडा सुरक्षा व्यवस्थाबीच कार्यक्रमस्थल प्रवेश गरेपछि आन्दोलनकारीले कार्यक्रमस्थ बाहिर समेत प्रदर्शन गरेका थिए ।

    आन्दोलनकारीहरुले ‘कोसी प्रदेश खारेज गर’, ‘केपी ओली मुर्दावाद’ ‘राम राना मुर्दावाद’ जस्ता नारा लगाउँदै कालो झण्डा प्रदर्शन गरेका थिए ।

    प्रदर्शन कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले ‘कोशी’ प्रदेशको नाम खारेज नभएसम्म आन्दोलन जारी रहने बताए । उनले पहिचान विरोधी भारतीय नाम ‘कोशी’ लाई खारेज नगरेसम्म सरकारसँग वार्ता समेत नगर्ने बताए ।

    यसैबीच प्रहरीले नौ जना आन्दोलनकारीलाई नियन्त्रणमा लिई साँझ छाडेको छ । प्रहरीले अर्पण राई, राम लिङदम, बिक्रम फियाक, सपना राई, विक्रम राई, धर्म लिम्बू, कुमार फत्र, महेश फियाक र गणेश लिम्बूलाई नियन्त्रणमा लिई साँझ छाडेको हो । झडपको अवस्था आएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
    पूर्वप्रधानमन्त्री ओली इलाम आउने भएपछि आन्दोलनकारीहरुले विहानै मेची राजमार्गको इलाम नगरपालिका-१० गोदक खण्डमा रुख ढालेर बाटो अवरुद्ध गरेका थिए ।



    Avatar निगरानी संवाददाता    
  • २०८० बैशाख १४, बिहीबार १७:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP