रुकुम घटना : प्रदेश १ को दलित अधिकारकर्मीको टोलिले स्थलगत अध्ययन गर्‍यो

रुकुम घटना : प्रदेश १ को दलित अधिकारकर्मीको टोलिले  स्थलगत अध्ययन गर्‍यो

असार ४
रुकुमको चौरजहारी नगरपालिका वडा नं ८ सोतीमा नवराज विकसहित ६ जना युवाहरुको हत्याकाण्डको प्रदेश १ का दलित अधिकारकर्मीले स्थलगत भ्रमण गरेको छ । पींडितहरुको पक्षमा ऐकबद्धता जनाउन अधिकारकर्मीहरुको टोली घटनास्थल पुगेको जनाइएको छ । १ नं प्रदेशका १४ वटै जिल्लाहरुमा एक चरणको विरोध र खबरदारीको आन्दोलन सकेर दलित अधिकारकर्मीहरु टोली घटनास्थल पुगेको टोलीका सदस्य नवराज शंकरले बताउनु भयो । घटनालाई ढाकछोप र तोडमोड गर्न अझैसम्म पनि हदैसम्मको षडयन्त्र भइरहेको शंकरले बताउनु भयो । शंकरले भन्नु भयो ‘एकातिर आन्दोलन थप सशक्त बनाउने कुरा छदैछ तर मुद्धाको प्रक्रियालाई मसिनो गरी ध्यान दिनुपर्ने भन्दै ‘दबाव र प्रभावमा परेर पछिल्लो पटक पोष्टमार्टम रिपोर्ट र सरकारी वकिलको भूमिका पींडितको पक्षमा देखिँदैन ।’ युवाहरुको लासमाथि भइरहेको षड्यन्त्रको राजनीति ६० लाख दलितहरुमाथिको षड्यन्त्र भएको उहाँको भनाइ छ ।
जातपात र छुवाछूतको कलंक उत्पीडित दलित समुदायको मात्रै समस्या नभएको भन्दै टोलीका अर्का सदस्य हुकुमसिंह नेपालीले सबै नेपाली एकजुट भएर न्यायको पक्षमा खबरदारी गर्नुपर्ने बताउनु भयो । ‘हत्या गरेर भेरी नदिमा बगेका होनाहार युवाहरुका परिवारले न्याय पाउनु पर्दछ ।’‘यसको लागि हामी जस्तोसुकै कदम चाल्न तयार रहेको नेपालीको भनाई छ ।
टोलीका सदस्य उमेश विश्वकर्माले रुकुम हत्याकाण्ड विश्वलाई नै चकित बनाउनेगरीको नरसंहार भएको बताउनु भयो । यो घटनाले विधिको शासन, समानता र सामाजिक न्यायको धज्जी उडाउने काम भएको उनले बताउनु भयो । घटनास्थलमा पुगेका टोलीका अर्का सदस्य हरि पोख्रेल दर्जीले असमानता र विभेदकाविरुद्ध दलित मुक्ति आन्दोलनलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने बताउनु भयो ।

सद्ले गठन गरेको संसदीय छानवीन समिति समेत घटनास्थलमा पुगेकोले संसदीय टोलीसँग समेत सत्यतथ्य छानविनको लागि टोलीको तर्फबाट भेटघाट र कुराकानी भएको छ । टोलीमा इलामका नवराज शंकर ,झापाका हुकुमसिंह नेपाली र हरि पोख्रेल दर्जी ,मोरङका उमेश विश्वकर्मा रहेका थिए ।

प्रदेश १को तर्फबाट गएको अधिकारकर्मीहरुको टोलीले तयार गरेको प्रतिवेदन चाँडै सार्वजनिक गर्ने र संसदीय समितिलाई समेत बुझाउने जनाइएको छ । अधिकारकर्मीहरुको टोलीले मृतक परिवारलाई राहत सहयोग समेत उपलब्ध गराएको छ । मृतकहरु नवराज विक, टिकाराम सुनार, गणेश बुढा, सन्दीप (सञ्जु) विक, लोकेन्द्र सुनार र गोविन्द शाहीको परिवारहरुलाई प्रति परिवार ११ हजार रुपैंयाँका दरले राहत रकम उपलब्ध गराएको जनाएको छ ।