सविता पाण्डे , इलाम असार १५ : जुविलेन्ट इलाइट एकेडेमीले कक्षा ११ मा विज्ञान अध्यापन सुरु गरेको छ । इलाम नगरपालिका वाड न. ७ नविन चोकमा रहेको जुविलेन्ट इलाइट एकेडेमीले यसै शैक्षिक सत्र देखि अत्याधुनिक सुविधा सहित कक्षा ११ मा विज्ञान विषय अध्यापन सुरु गरेको जनाएको छ । शुक्रबार एक कार्यक्रमको बीच प्लस टु साइन्सको उदुघाटन भएको छ । इलाम नगरपाकिाका मेयर केदार थापाको प्रमुख आतिथ्यता र विद्यालयका निर्देशक दिपराज आङदेम्बेको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयकको सेवा सुविधा बारे प्रिन्सिपल भुषान्त सुब्बाले जानकारी गराउनु भएको थियो । विद्यार्थीहरु विज्ञान पढ्नका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको बताउदै उहाँले घर नजिकै सर्वशुलभ रुपमा अध्ययन अध्यापन गर्न प्लस टु साइन्स सुरु गरेको बताउनु भयो ।
आर्थिक अवस्था कमजोर भएका कारण इलाममा विज्ञान पढ्न नपाएर अन्य संकायमा पढ्न बाध्य भएको उहाँको भनाई छ । घर पायक अभिभावकको साथमा रहेर काठमाण्डौ लयायतका ठुला शहरहरुमा भएको सुविधा इलाममा नै दिन खोजिएको उहाँले बताउनु भयो । इलाम जिल्लामा अत्याधुनिक सुविधा सहितको प्लस टु साइन्स सुरु गर्नु चुनौतीपुर्ण भएपनि शिक्षालाई सर्वशुलभ बनाउदै इलामलाई शैक्षिक हबको रुपमा विकास गर्न एक इटा थप्ने प्रयास गरिएको प्रिन्सिपल भुषान्त सुब्बाले बताउनु भयो ।
कार्यक्रममा सहभागी वक्ताहरुले समय सापेक्ष शिक्षा भएमा मात्रै विद्यार्थीको भविष्य सुन्दर हुने बताएका छन । शिक्षा व्यवसायिक र प्रविधियुक्त बनाउन जुविलेन्ट इलाइटले सुरुवात गरेको बताएका छन । कार्यक्रममा निजी तथा आवसीय विद्यालय प्याब्सनका केन्द्रिय सदस्य विकास कर्मचार्य , इलाम मोर्डन क्याम्पसका प्रार्चाय माधव सुवेदी , आर्दश माविका प्रधानाध्यापक कुमार पौडेल , महेन्द्र रत्न बहुमुखि क्याम्पस इलामका प्रमुख खगेन्द्रप्रसाद चापागाई , इलाम नगरपालिका शिक्षा तथा समन्वय शाखाका प्रमुख प्रेम गौतम , इलाम नगरपालिका वाड न ७ का वडाअध्यक्ष नरेश श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । यसैबीच विद्यालयले तयार गरेका स्कुल गान सार्वजानिक गरेको छ । भुषान्त सुब्बाको शब्द , संंगीतमा विद्यार्थीहरुले स्वर दिएका छन । गीतको म्युजिक भिडियो समेत तयार गरिएको छ ।
विद्यालयमा एडभान्स प्रविधि
विद्यालयले एडभान्स प्रविधिको सुपर इन्टरएक्टिभ बोर्ड, नयाँ प्रविधिको कम्प्युटर ल्याब, साइन्स ल्याब, पुस्तकालय , फाइबरको डेक्स बेञ्च , छात्राको लागि सेनेटरी प्याड डिस्पोजल सहितको बाथरुम तथा शौचालय सुविधाको व्यवस्था गरिएको छ ।
प्लस टु साइन्स अध्ययन गर्न इलाम सहित झापा , पाँचथर र ताप्लेजुङका विद्यार्थीहरु समेत आउन सक्ने अनुमान गरिएको छ । इलाम पर्यटकीय जिल्ला साथै यहाँको हावापानी बस्नको लागि उपयुक्त भएकोले अन्य स्थान बाट पनि विद्यार्थी अध्ययनको लागि आउने देखिन्छ ।
विद्यालयले होस्टलको समेत व्यवस्था गरेको जनाएको छ । एसइइमा उत्कृष्ट अंक ल्याउने ६ जना विद्यार्थीलाई छात्रवृतिको व्यवस्था गरेको जनाएको छ ।
२०६४ सालमा स्थापना भएको जुविलेन्ट इलाइट एकेडेमीले खेलकुद , संगीत लगायत अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुलाई सहभागी गराउदै आएको छ । गुणस्तरीय शिक्षा साथै अतिरिक्त क्रियाकलाप संचालन गरी विद्यार्थीहरुको चौतर्फी विकासमा जोड दिइरहेको छ । शिक्षालाई व्यापार नभई सेवाको रुपमा स्थापित गर्न खोजिएको विद्यालय व्यस्थापनको धारणा छ । एकेडेमीले कक्षा ११ /१२ मा विज्ञान संकाय सुरु गरे सँगै इलामलाई शैक्षिक हबको रुपमा विकास गर्न टेवा पुग्ने सरोकारवालाहरु बताउछन ।