सूर्योदय : इलामको सूर्योदय नगरपालिका ८ मा तीन दिने च्याउ खेती तालिम सम्पन्न भएको छ ।
सूर्योदय नगरपालिका वडा नम्बर ८ को आयोजनामा भएको तालिममा स्थानीय ३५ कृषकको सहभागिता रहेको थियो । तालिममा सिताके च्याउ र कन्य च्याउ खेती प्रविधिबारे प्रशिक्षक शुवास घिमिरेले सहजीकरण गरेका थिए । तालिम समापनको अवसरमा सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गाकुमार बरालले नगरबासी सवल भएमा मात्रै नगर सफलहुने भएकाले नागरिकलाई सहयोग पुग्ने कार्यक्रममा नगरले सहयोग गर्दै आएको बताए । उनले सूर्योदय वाड न ८ ले कृषिमा रचनात्मक काम गरिरहेको बताए ।
समापन कार्यक्रमका सभापति वडा अध्यक्ष जंगबहादुर गुरुङले वडाले कृषकलाई व्यवसायीक बनाउने उदेश्यले तालिमको आयोजना गरेको बताए ।
च्याउ खेती प्रविधि सम्बन्धि सामग्री सहित
व्यवसायिक कन्य च्याउ खेती गर्ने कसरी ?
कन्य च्याउ सामान्यतः छाता आकारका हुने र यी प्रजातिका च्याउहरू सेतो, पहेंलो, गुलाबी र हल्का कालो÷निलो आदि रङ्गमा पाइन्छन् ।
अङ्ग्रेजीमा ‘ओइष्टर च्याउ’ नामले चिनिने यी प्रजातिका च्याउ खेती गर्न २०–२८ डि.से. तापक्रम उपयु्क्त मानिन्छ । प्युरोटसफ्लोरिडा, प्युरोटस फ्लाबेलेटस्, प्युरोटस कर्नीकपी, प्युरोटस इरिंगेर लेन्टिनस् साजरकाजु प्रजातिका कन्य च्याउको खेती गरिन्छ । पछिल्लो समयमा लेन्टिनस् साजरकाजुको खेती प्रायः हुन छोडिसकेको अवस्था छ ।
राजा च्याउ मानिएको कन्य च्याउको व्यवसायिक खेती नेपालमा पहिलो पटक चन्द्रागिरीमा गरिएको पाइन्छ ।
नेपालमा च्याउ बिउको स्रोत र गुणस्तरीयतामा एकरूपता नहुँदा यसको उत्पादन र उत्पादकत्वमा पनि विविधता रहेको पाइन्छ ।
ब्यवसायीहरूले च्याउको मूल बिउ भारत, चीन, जापान, युरोपियन मुलुक, अमेरिकाबाट ल्याई बीउ उत्पादन गर्ने हुँदा वीउ र यसको उत्पादन क्षमतामा एकरूपता देखिदैन । यी प्रजातिका च्याउहरू धानको पराल, गहुँ वा जौको छ्वाली, तोरीको गट्टे, मकैको ढोड, र खोसेल्टा, काठको धूलो आदिमा प्रयोग गरी खेती गर्न सकिन्छ ।
खेती प्रविधि
कन्ये च्याउ खेती सञ्चालन गर्न अन्य च्याउको तुलनामा केही सजिलो भएको कारण यस ब्यवसायमा लाग्ने कृषकहरूको संख्या ठूलो देखिन्छ । यो च्याउको खेती गर्न निम्न ४ तरिका अपनाउनु पर्ने हुन्छ ः
– च्याउ बिउको तयारी
-च्याउ फलाउने माध्यम/ परालको तयारी
-बिउ रोपाई
-च्याउ बालीको व्यवस्थापन र च्याउ टिपाई
क) च्याउ बिउको तयारी
परिपक्क च्याउको छत्रीको मुनि रहेका बीजपत्राभित्र विकास भएकोे धूलो वा कणहरू नै च्याउको लैङ्गिक बिउ हो । यसको प्रसारण/ उत्पादन लैङ्गिक (बिउ) र वानस्पतिक दुबै तरिकाबाट हुन्छ । लैङ्गिक तरिकाबाट च्याउको बिउ उत्पादन गर्न
च्याउको फलमा रहेका बिउ सङ्कलन गरी यसलाई विभिन्न पोसिला माध्यममा सारी सङ्ख्यात्मक बृद्धि गरिन्छ अथवा राम्रो स्वस्थ परिपक्क च्याउलाई काटेर यसको बिच भागबाट सानो त्यान्द्रा÷टुक्रा निडलको सहायताले झिकी माध्यम राखी मूल बिउ बनाइन्छ ।
यसबाट मास्टर कल्चर तयार गरी पछि व्यवसायिक बिउ बनाएर कृषकहरूलाई बिक्री वितरण गरिन्छ । यसरी च्याउ बिउ उत्पादन गर्न जातअनुसार फरक फरक माध्यमको प्रयोग गरिएको पाइन्छ ।
बजारमा पाइने कन्य र गोब्रे च्याउको बिउ गहुँको दानामा मिसाएर बनाइएको हुन्छ भने मृगे र डाडु च्याउको बिउ काठको धूलोमा मिसाएर बनाइन्छ ।
च्याउ बिउको लागि आवश्यक सामग्री :
-क्लिन बेञ्च÷लेमिनार फ्लो
-अटोक्लेभ
-च्याउको मूल बिउ
-सफा नटुक्रिएको सग्लो गहुँको दाना
-प्लाष्टिक
-जिप्सम
-चुना
बिउ कसरी बनाउने ?
स्वस्थ, जातीय शुद्धता भएको च्याउ लिने र यसलाई राम्ररी सफा गर्ने । यसलाई ठीक बिचमा काटेर सानो टुक्रा निडलको सहायताबाट झिकी मेडिया रहेको टेष्टट्युबमा राख्ने ।
यो ट्युबलाई २४ देखि २६ डिग्री सेल्सियसमा राख्दा १० देखि १२ दिनमा बिउ, मदरकल्चरमा सार्नका लागि राख्न तयार हुन्छ ।
सग्ला गहुँका दाना केलाउने र आधा घण्टा जति उमाल्ने । अब यसलाई झिकी सफा मलमलको कपडामा राखी पानी तर्काउने वा सुकाउने ।
सेलाएपछि २ प्रतिशत जिप्सम र ०.५ प्रतिशत चुना मिसाएर बोतल वा प्लाष्टिकमा राख्ने र यसलाई अटोक्लेभमा २२ पाउण्ड पि एस आईमा ९० मिनेट पकाउने वा निर्मलीकरण गर्ने ।
ठण्डा भएपछि प्योरकल्चरबाट बिउ सार्ने र मदरकल्चर तयार गरी २५ डिग्री सेल्सियसमा राख्ने । करिब १२–१५ दिनमा ढुसी पैmलिन शुरू हुन्छ । यसरी मदरकल्चर तयार भएपछि यही तरीका अपनाई ब्यापारिक बिउ उत्पादन गरी आवश्यकता अनुसार प्रयोग गर्न तथा बेचबिखन गर्न सकिन्छ ।
यसरी कृषकस्तरमा च्याउको बिउ उत्पादनका लागि प्रयोगशाला स्थापना गर्न करिब ८ देखि १० लाख र व्यावसायिकस्तरमा प्रयोगशाला स्थापना गर्न करिब २५ देखि ३० लाखसम्म लगानी गर्नुपर्ने हुन्छ ।
कन्य च्याउ खेती गर्न केके चाहिन्छ ?
कन्य च्याउ खेती गर्नका लागि एक हजार किलोग्राम पराल वा छ्वाली चाहिन्छ । त्यस्तै, पराल वा छ्वाली काट्नका लागि हँसिया तथा कैंँचीको आवश्यकता पर्दछ भने २० बोटल च्याउको बिउ आवश्यक हुन्छ । दुई केजी प्लाष्टिकको ब्याग, एउटा ड्रम वा सिमेन्ट ट्याङ्क, एउटा केजी स्टोभ वा चुलो र एक केजी मसिनो डोरी वा सुतरी भएमा सामान्यतयाः कन्य च्याउको खेती गर्न सकिन्छ ।
परालको तयारी
कन्य च्याउ खेती गर्नको लागि परालको तयारी तातो पानीमा, तातो वाफ वा रासायनिक उपचार गरेर पनि गर्न सकिन्छ ।
तातो पानीमा उमालेर
सफा, राम्रो सुकेको र ढुसी नआएको पराललाई आवश्यकताअनुसारको परिमाणमा पराल जोखेर ३–४ अङ्गुल लामो टुक्रा पारेर काट्ने । आजकल टुक्रा पारिएको पराल बजारमा किन्न पनि पाइन्छ । यस पराललाई ६०–८० डिग्री सेल्सियसमा उमालिएको पानीमा आधा घण्टासम्म भिजाउने ।
रासायनिक उपचार गरेर
सफा टुक्रा पारेको पराललाई ७५ पि पि एम बेभिष्टिन र ५०० पि.पि.एम. फर्मालिन मिसाइएको पानीको घोलमा १६–१८ घण्टासम्म भिजाउने ।
यो भिजाउने कार्यको लागि टिनको भाडो वा सिमेन्ट टैंकको प्रयोग गर्न सकिन्छ । यसरी भिजाएको परालको पानी तर्काउन पानीबाट झिकेर सफा ठाउँमा ३–४ घण्टासम्म त्यत्तिकै राख्ने ।
पराललाई मुठीमा लिएर निचोरेर चिस्यान परीक्षण गर्ने । यसो गर्दा चिसो हातमा मात्र लाग्यो पानी भुइँँँमा चुहिएन भने
चिस्यान ठीक छ भत्रे बुझ्नुपर्छ । तातो वाफमा उपचार गरेर
यसको लागि आगो बालेर पानी तताइन्छ र पानीको तातो बाफ पाइपको माध्यमबाट पराल उपचार गरिने ड्रमसम्म लगिएको हुन्छ । यही बाफमा पराललाई बफाएर उपचार गरिन्छ ।
टहरा निर्माण
च्याउ उत्पादन घरको लागि कुनै निश्चित नमुना छैन तर उत्पादन घर वा टहरा बनाउँदा केही फरक र विशेष कुराहरूमा ध्यान दिन जरुरी छ । उत्पादनका लागि हाल भएकै घर वा टहरालाई केही फेरबदल अवश्य पनि गर्नु पर्ने हुन्छ । यसरी घर वा टहरा बनाउँदा निर्माण खर्च, आवश्यक सामाग्रीहरू राख्ने ठाउँ, च्याउ उमार्ने बाकस वाटे« वा झुण्डाउने ब्यवस्थालाई ध्यान दिन जरुरी छ । च्याउ उत्पादन गर्ने घर वा टहरामा झ्याल राख्न जरुरी छैन ।
च्याउ उत्पादनको लागि अँध्यारो नै चाहिन्छ भन्ने छैन तर पनि सूर्यको प्रकाश सिधा पर्नु हुँदैन । हावाको राम्रो सञ्चार हुन जरुरी छ । यस्ता घर टहरा मुसाबाट सुरक्षित हुनु पर्दछ । भूईं समथर एवं सिमेन्टको भएमा सरसफाइ गर्न सजिलो हुन्छ । सामान्यतयाः ठाउँ अनुकूल भए टहराको चौडाई १५ फिट लम्बाई ३० फिट र उचाई ७.५ फिटको उपयुक्त मानिन्छ ।
टहरामा ४ लाइनमा ४/ ४ ओटा बाँसका खाबो गाडेर त्यसमाथि १÷१ ओटा गरी जम्मा ४ ओटा बला राख्नाले च्याउ रोपिएका पोका/ डल्लाहरू झुण्ड्याउन सजिलो पर्दछ । खाँबो गाडेर बलामा डल्ला झुण्याउनका लागि कन्य च्याउका लागि टहरो १–२ फिट अझ अग्लो बनाउन उपयुक्त हुन्छ ।
ग) च्याउको बिउ रोपाई
बिउको मात्राः ५०–६० के.जी. परालको लागि १.२५ के.जी. च्याउ बिउ आवश्यक पर्दछ ।
च्याउको बिउ लिने र यसलाई रोप्न विभिन्न आकारका प्लाष्टिकका थैला वा झोला (१२ इन्च × १८ इन्च वा १६ इन्च × २६ इन्च वा अझ साना वा ठुलो) लिने । बिउ रोप्ने ब्यक्तिले हातमा स्प्रिट दलेर च्याउको बिउको पोका खोल्ने र तयार भएका थैलामा पराल भर्दै बिउ रोप्दै जाने ।
बिउ रोप्दा थैलामा २–३ अङ्गुल बाक्लो बनाएर पराल भरेपछि छेउछेउमा पर्नेगरी प्रत्येक तहमा करिब १÷१ चम्चा च्याउको बिउ छर्ने । साथै बिउ छर्दा जताततै पर्ने गरी पनि छर्न सकिन्छ ।
परालको तहमा बिउ राख्दै थैलो भरिएपछि सुतरी (डोरी)ले टत्र कसिने गरी थैलाको मुख बाँध्ने र थैलालाई न्यानो र अँध्यारो कोठामा ३ हप्तासम्म राख्ने ।
थैलाको प्रत्येक ४–५ अङ्गुलको फरकमा हावा छिर्ने स–साना प्वाल पार्ने अथवा पराल भरेर थैलाको मुख बाँधिसकेपछि थैलाको जताततै पर्ने गरी मसिनो सुइरोले प्वाल पार्ने ।
च्याउ फल्ने बेला (२०–२२ दिन)मा मात्र प्लाष्टिक खोल्नुु वा एक छेउमा काट्न वा २—४ ठाउँमा प्वाल पार्नु उपयुक्त हुन्छ ।
बिउ रोपेको परालमा पानीको मात्रा बढी भएमा कपडा सिउने सियोले थैलाको माथिल्लो भागमा ३०–४० ओटा प्वाल पारिदिने ।
च्याउको डल्ला÷पोकोलाई बाँस वा फलामको ¥याक अथवा अस्थायी टहरा बनाएर राख्न सकिन्छ । टहरा बनाउँदा यसको चौडाई १५ फिट लम्बाई ३० फिट र उचाई ७.५ फिट कायम राख्नु उपयुक्त मानिन्छ ।
टहरामा ४ लाइनमा ४/४ ओटा बाँसका खाबो गाढी त्यसमाथि १/ १ वटा गरी जम्मा ४ ओटा बला राख्नाले च्याउ रोपिएका पोका/ डल्लाहरू झुण्याउन सजिलो पर्दछ ।
बलाको डोरीमा च्याउको बिउ रोपिएका परालका डल्लाहरू बाँधेर झुण्ड्याउने । यसो गर्नाले कम क्षेत्रफलमा धेरै च्याउ फलाएर उत्पादन खर्च घटाउन सकिन्छ ।
खाँबो गाडेर बलामा डल्ला झुण्ड्याउनका लागि कन्य च्याउका लागि टहरो १–२ फिट अझ अग्लो बनाउन उपयुक्त हुन्छ ।
कन्य च्याउ खेती गर्ने समयः
तराई र बेसी : हिउँद
पहाड र उच्च पहाड: गर्मी र वर्षा ऋतु
घ) च्याउ बालीको व्यवस्थापन र च्याउ टिपाई
च्याउ खेतीबाट बढीभन्दा बढी उत्पादन लिई मुनाफा कमाउन व्यवस्थापनमा ध्यान पु¥याउनु जरुरी छ ।
यसको लागि निम्नानुसारको व्यवस्थापन कार्य गर्नुपर्दछः
कोठा÷टहरोको वातावणीय व्यवस्थापन
च्याउको बिउ रोपेका थैलाहरू राख्ने टहरो÷कोठाको तापक्रम र सोपेक्षिक आद्र्रता मिलाउनु पर्दछ ।
अतः च्याउको डल्लो राख्ने कोठाको वातावरण निम्नानुसार मिलाउनु आवश्यक हुन्छ ः
……………………………….
बिउ रोपेको २०–२२ दिनमा च्याउको ढुसी फैलिएर परालभरी सेतो देखिन्छ । यस्तो सेतो नदेखिएमा अरू २–४ दिन ढुसी फैलिन दिनुपर्छ ।
तापक्रम वा बिउको मात्रा अलि कम भएमा ढुसी पैmलिन ढिलो हुन्छ ।
ढुसी बाक्लै फैलिएको भए प्लाष्टिकलाई धारिलो चक्कु वा कैंचीको मद्दतले काटेर पूरै हटाउने वा केही भाग प्लाष्टिकलाई चिरेर च्याउ बाहिर निस्कने ठाउँ बनाउने । ।
डल्लाहरूमा दिनको १–२ पटक स्प्रेयर/ हजारीको सहायताले हलुका पानी दिने । पानी दिने स्प्रेयर विषादीको लसपस नभएको हुनुपर्दछ ।
कोठाको आर्द्रता कायम राख्न पुग्ने गरी पानी डल्ला र यसको वरिपरिको खाली ठाउँमा समेत चिसो हुने गरी भिजाउनुपर्दछ ।
प्लाष्टिक खोलेर पानी दिएको ४–५ दिनमा डल्लामा मसिना कनिका जस्तै च्याउका मसिना फल देखिन्छन्् ।
करिब ४–५ दिनमा च्याउ ठूलो हुन्छ र यसलाई टिप्नुपर्छ । च्याउ फल्ने समयमा कोठामा हावाको सञ्चालन राम्रो हुनुपर्छ ।
अक्सिजनको मात्रा कम भएमा च्याउ फक्रन सक्दैन, डाँठ लामो हुन्छ अनि बिक्री मूल्य पनि कम हुन्छ । ।
च्याउको टिपाई
– च्याउ टिप्दा च्याउका ठुटा रहने गरी टिप्नुपर्दछ । यसको लागि च्याउको फेदैमा समातेर दायाँबायाँ बटारेर हल्का तबरले टिप्नुपर्दछ ।
– च्याउ टिप्दा भाँचिएर परालका डल्लामा छोडिएका भाग पछि कुहिएर झिँगा वा भुसुना लाग्ने, अरू रोगका लागि आश्रय स्थल बन्न सक्छ ।
– च्याउ टिप्दा डल्लालाई असर नपर्ने गरी हलुकासँग च्याउ टिप्नुपर्दछ । टिप्दा डल्लालाई असर पर्न गएमा च्याउ पलाउने प्रक्रिया कमजोर हुन जान्छ र उत्पादन घट्दछ ।
– च्याउ टिपेपछि डल्लाहरूमा दिनको १–२ पटक हलुका पानी दिनुुपर्छ ।
– प्रत्येक ७–१० दिनको अन्तरालमा, ३–५ पटकसम्म च्याउ टिप्न सकिन्छ । यो प्रविधिअनुसार च्याउ खेती गर्दा १ कि.ग्रा. परालबाट सरदरमा ५०० ग्राम च्याउ उत्पादन लिन सकिन्छ । अनुभवी दक्ष कृषकले १ किलो नै वा अझ बढी पनि उत्पादन गर्न सक्छन् ।
रोग र किराको व्यवस्थापन
च्याउ खेती भइरहेका परालका डल्लाहरूमा झिँगा, सुलसुले तथा अन्य
रोगहरूले हानी नोक्सानी पु¥याउन सक्दछ । यसको व्यवस्थापनको लागि
निम्नानुसारको कार्य गर्नु पर्दछ:
समस्याहरू समाधान/ व्यवस्थापनका उपायहरू
………………….
च्याउ वर्गलाई निम्न चार श्रेणीमा बर्गीकरण गरेको पाइन्छ :
१. नरम पत्ता वा टोपी भएको
यी च्याउ खान योग्य मानिन्छ जस्तैः कन्य, गोब्रे, मृग वा सिताके ।
२. औषधीय गुण भएका
ग्यानोडर्मा वा रातो च्याउ औषधीय गुण भएका च्याउ हुन् ।
३. विषालु प्रमाणित भएका वा शङ्का गरिएका
जङ्गली च्याउहरू यसअन्तर्गत पर्दछ ।
४. विविध समूह
गुणबारे धेरै जानकारी नभएको च्याउ विविध समूहअन्तर्गत राखिएको छ ।
खान योग्य च्याउले उत्पादनको झण्डै ५० प्रतिशत हिस्सा ओगटेको छ । खान योग्य च्याउ उत्पादन हुने तरिकाको आधारमा तीन समूहमा विभाजन गरिएको छ ।
१. परजीवी च्याउ : जीवित वनस्पतीमा निर्भर भई तिनीहरूलाई नै आक्रमण गर्ने परजीवी च्याउ हो ।
२. परस्पर (माइक्रोहोराइजल) : फाइदामा निर्भर भएर अन्य वनस्पतीहरूमा बढ्ने वा हुर्कने च्याउ यसअन्तर्गत पर्दछ ।
३. मरेको बनस्पतीजन्य वस्तुहरूमा मात्र बाँच्ने र बढ्ने
सिताके च्याउ नेपालको पहाडी भेगका जंगलहरुमा पाईने यो च्याउलाई नेपालको विभिन्न भागमा बिभिन्न नामले चिनिन्छ । काठमाडौंमा सिताके च्याउलाई मृगे च्याउ पनि भनिन्छ । यो च्याउ झरीको मौसममा जंगलमा फालिएका काठका मुढाहरुमा पनि उम्रिन्छ । हाम्रो देशमा पनि करीव १५ वर्ष अगाडि सिताके च्याउ खेती ओखर जातका काठका मुढाहरुमा प्रयोगात्मक रुपमा शुरु गरिएको थियो । सिताके च्याउ खेती छिटो छिटो बढ्ने जातका रुखहरुका मुढाहरुको उपयोग गर्न सकिन्छ । उत्तिस, सौर, लाकुरे, माउदा आदि रुखका मुढाहरुमा सिताके उम्रन सक्ने पाइएको छ ।
काठको मुढामा गरिने खेती :
१. काठ छनौट
विश्वमा सिताके च्याउ विशेष गरेर ओखर जातका काठमा गरिएको पाइन्छ तर, नेपालमा गरिएको अनुसन्धान अनुसार उत्तिस, सौर, लाकुरी, धालेकटुस आदिमा पनि यसको खेती गर्न सकिने देखिएको छ ।
२. मुढाहरु कटान गर्ने
च्याउ खेती गर्नका लागि काठका मुढाहरु कटान गर्दा रुखको उमेर ५–१० वर्ष भएको हुनु पर्दछ । काठको मुढाको साइज १ मिटर लामो र १०–१५ सेन्टिमिटर गोलाई भएको मुढामा र बोक्रामा चोट लाग्न दिन हुदैन । काठ जाडो महिनामा अर्थात् मंसिर महिनाको अन्तिम हप्ता सबैभन्दा राम्रो समय मानिन्छ । काठको मुढाको बोक्रा फाल्नु हुदैन ।
३. मुढाहरु सुकाउने
रुखबाट आफुलाई चाहिने जति काठका मुढाहरु काटीसकेपछि त्यसलाई एक महिना वा २०–३० दिनसम्म सुकाउनु पर्दछ । सुकाउदा सिधा घाममा नसुकाई रुखको छहारी वा सेडमा वा स्याउला वा परालले छोपेर सुकाउन पर्दछ । सुकाएको काठमा चिस्यान ४०–४५ प्रतिशत कायम हुनुपर्दछ । चिस्यान यो भन्दा बढी भएमा धेरै ढूसी उम्रेर काठ चाडै सढ्छ भने चिस्यान त्यो भन्दा कम भएमा च्याउ राम्रोसंग उम्रिदैन ।
४. काठका मुढाहरुमा प्वाल पार्ने तरीका
काठको मुढामा च्याउ जाडो मौसममा रोप्नु पर्दछ । रोप्ने बेलामा वायुमण्डलीय तापक्रम १०–२० डि.से. हुनुपर्दछ भने सापेक्षिक आर्द्रता ७०–८० प्रतिशत हुनु जरुरी छ । काठको मुढामा प्वाल पार्दा प्वालको गोलाई १ सेन्टिमिटर वा एक औला र गहिराइ १ सेन्टिमिटर वा १ औला हुनु जरुरी छ । काठको मुढामा प्वाल पार्दा ४ औला अर्थात ५ सेन्टिमिटरको फरक पारेर बनाउनु पर्छ । काठको एक टुप्पोबाट अर्को टुप्पोसम्म एक लाइन प्वाल पारेपछि अर्का लाइनमा प्वाल पार्दा पहिलो लाईनबाट ३ औला तल पार्नु पर्दछ । दोस्रो लाइनका प्वालहरु पहिलो लाइनको प्वालहरुको वीचमा पर्ने गरी बनाउनु पर्दछ ।
५. मुढाहरुमा बीउ रोप्ने तरीका
काठका मुढाहरुमा प्वाल पार्ने काम सकिएपछि वीउ रोप्ने तयारी गर्नुपर्दछ । वीउ रोप्नलाई निम्न सामानहरु आवश्यक पर्दछ ।
क) काठमा प्वाल पार्ने ड्रिलिंग मेसिन वा बर्मा
ख) १–१.५ से.मि. साइजको ड्रिल विट २
ग) पाराफिन वाक्स (कोरा मैन) आधा के.जी.
घ) मैन पगाल्ने सानो दिक्चि वा कराई १
ङ) एउटा छोटो कपडाले बेरेको सिन्को १
च) सिताके च्याउको बीउ चाहिने जति
छ) बीउ निकलेर हाल्ने बाटा १
आवश्यक प्वालहरु पारी सकेपछि बीउ रोप्ने काम गर्नु पर्छ । सिताके च्याउको वीउ काठको धूलोमा बनाएको हुनुपर्छ । बीउ सिसीबाट निकाली एउटा भाडामा राख्नु पर्दछ । बूढी औला जत्रो एक टुक्रा बीउ लिएर काठका प्वालमा राख्नु र औलाले विस्तारै थिचेर भित्र पठाउनु पर्छ । यसरी काठको प्वाल वीउले भर्नुपर्छ ।
काठको सबै प्वालमा वीउ भरेपछि एउटा भाडामा मैन तताई राख्नु पर्छ र त्यो तातो मैनको झोलले प्वाल टाल्नुपर्छ । यसको लागि एउटा सिन्कोमा कपडा बेरेर प्रयोग गरे राम्रो हुनेछ । सबै काठका मुढाहरुमा एकसाथ प्वाल पार्ने र सबै प्वालमा वीउ राख्दै जाने र अन्तमा मैनले प्वाल टाल्नु पर्दछ । यति गरेपछि सिताके च्याउको बीउ रोप्ने काम समाप्त हुन्छ ।
यो च्याउको ढूसी काठको बोक्रा भित्र क्याम्बीयम भन्ने तहमा फैलन्छ । काठको बोक्राले यो ढूसीलाई बचाइ राख्छ र च्याउ निस्कने बेला काठको बोक्राले ठूलो मद्दत पुर्याउदछ
६. वीउ रोपेका काठका मुढाहरुको हेरचाह
यी काठका मुढाहरु राख्ने ठाउ राम्रो हुनु अति जरुरी छ । ठाउ छान्दाखेरि धेरै घाम नभएको छाया भएको ठाउहुनु पर्दछ । त्यसैले छाना मात्र भएको छाप्रो हुनु बेश हुन्छ वा रुखका छहारीमा राख्न पनि सकिन्छ । वीउ रोपेको १ महिनासम्म यी काठहरु चाग लगाएर राख्नुपर्छ । एक महिना पछि यसलाई चारवटा चारतिर राखेर चारपाटे बनाई र एक पछि अर्को तह गर्दै चाङ लगाउनु र दिनको एकपल्ट काठमा हजारीले पानी हाल्नुपर्छ । धाराबाट पानी आइरहेको छ भने विस्तारै पाइपबाट पानी दिई काठलाई भिजाउन सकिन्छ ।यसरी राखेको काठ एक महिनापछि माथिको तल तलको माथि पारी पल्टाई दिनुपर्छ । यसरी वीउ भएको काठका मुढाहरुमा नौ महिनासम्म स्याहार गर्दै जानुपर्छ । काठमाडौको अवस्थामा काठलाई मंसिरमा काटी पौष एक महिनाभरी सुकाएर मात्र माघ महिनामा वीउ रोप्दा ठीक हुन्छ ।वीउ रोपेपछि ८ महिना (फाल्गुन–भदौ सम्म) हरेक महिनामा पल्टाउदै रहने र त्यसपछि च्याउ फलाउनलाई छाप्रोमा राम्रोसंग मिलाएर राख्नुपर्छ ।
७. च्याउ फलाउने तरीका
वीउ रोपेका मुढाहरुमा ढूसी राम्रोसंग फैलिएपछि यी मुढाहरु च्याउ पलाउने छाप्रो वा छहारीमा राख्नु पर्दछ । यसबेला काठका मुढाहरु पहिले जस्तो भुईमा नराखीकन ठाडो पारेर राख्नु पर्दछ । यसको लागि एउटा वा दुइवटा बास छाप्रोको लम्बाई अनुसार छाप्रोको बीचमा दाया बाया काठको अडेस लगाएर राख्ने । अनि यही बासलाई सपोर्ट गरी ढूसी भएका मुढाहरु ठाडो पारेर अडेस लगाई लहरै मिलाएर राख्नु पर्दछ । यसरी एउटै बासमा दुबै पट्टीबाट दुई लाइन काठका मुढाहरु राख्न सकिन्छ यसैबेला छाप्रोको छेउमा एउटा सानो पोखरी बनाई पानी जम्मा गर्ने अनि यी काठहरुलाई ठाडो पारेर राख्नु पर्छ ।
त्यसको लागि एक पटक पोखरीको पानीमा १२ देखि २४ घण्टासम्म डुबाउने अनि वास माथि सोझै ठडाएर राख्ने र मुढा भिज्ने गरी दिन दिनै पानी हाल्दै गर्नु पर्छ । यसरी काठहरु ठाडो पारेर राख्दा काठमा घाम छिर्न दिनु हुदैन र काठ राखेको ठाउ ओसिलो हुनु पर्दछ । केही दिनपछि वीउ रोपेको काठको विभिन्न भागबाट सानो सानो च्याउ उम्रन थाल्दछ । यी उम्रेका च्याउ ठूलो हुनलाई ४ देखि ६ दिन लाग्दछ । एउटा मुढामा एक वर्षमा ३ पटकसम्म च्याउ फल्दछ । एक चोटी च्याउ फलिसकेपछि दिन दिनै पानी दिएर ती मुढाहरुलाई ४०–६० दिनसम्म चाङ लगाएर राख्नु पर्दछ । पटक पटक गरी काठका मुढाहरुबाट च्याउ फलाउने कोशिस गर्नु पर्छ ।
मौसम अनुसार श्रावणदेखि फाल्गुणसम्म च्याउ फल्ने सम्भावना रहन्छ । तर ज्यादै जाडो हुने महिना पुष र माघमा भने खासै फलेको देखिएन । माथि उल्लेखित प्रविधिहरु काठ काट्ने देखि लिएर वीउ रोप्ने र काठलाई सम्हाल्ने कार्यहरु नियमित रुपमा उपयुक्त तरीका र समयमा गरेको खण्डमा उक्त काठहरुबाट महंगो सिताके च्याउ फलाउन सकिन्छ ।
यस च्याउ खेतीमा सफलता पाउनको लागि उल्लेखित कार्यहरु होसियारीका साथ समयमा कार्यान्वयन गरेमा महंगो च्याउ उत्पादन गरी आिर्थक स्तर सुधार गर्न सकिने निश्चित छ ।
काठको धूलोमा खेती गरिने प्रविधि :
सिताके च्याउ काठमा मात्र नभई काठको धूलोमा पनि उमार्न सकिन्छ । कडा काठ (हार्ड उड) हुने जातका विरुवाट प्राप्त हुने काठको धूलो मुख्य रुपमा यसको खेती गर्ने प्रयोजनमा आउने गरेको छ । च्याउ खेतीका लागि बेग्लै मेसिन प्रयोग गरी काठको धूलो बनाउने चलन छ ।
साधारणतयाः सिताके च्याउ खेती गर्न फर्निचर बनाउदा निस्केको काठका टुक्राहरुलाई प्रयोग गरी काठको धूलो वनाउने मेसिनबाट धूलो बनाई प्रयोग गर्ने गरेको पाइन्छ ।
नेपालमा भने सःमिलहरुबाट काठको धूलो ल्याई सिताके च्याउ उत्पादन गर्न सक्ने सम्भावना छ । काठको धूलोमा गरिने सिताके च्याउ खेती प्रविधि काठमा गरिने तरीका भन्दा धेरै नै फरक छ ।
१. काठको धूलोको प्रयोग
एकै जातको काठको धूलो हुनु अत्यन्त जरुरी हुन्छ । हाम्रो देशमा काठ चिर्ने सःमिलहरु ठाउ ठाउमा पाइन्छ र त्यसबाट निस्केको काठको धूलो प्रशस्त मात्रामा पाइन्छ । तर ती काठका धूलो विभिन्न प्रकारका काठबाट निस्कने हुदा तिनीहरु सिताके च्याउ खेती गर्न उपयुक्त मानिदैनन् । त्यसैले एकै जातका काठ मात्रै चिर्ने सःमिलहरुबाट काठको धूलो लिनुपर्ने हुन्छ ।
२. काठको धूलो वनाउने तरीका
प्रायः जसो देशमा सिताके च्याउ खेती गर्नु भन्दा पहिलो काठको धूलो बनाउने मेसिनको बन्दोवस्त गरिन्छ । त्यसबाट आवश्यक पर्ने काठको धूलो निकालिन्छ र अनि मात्रै च्याउ खेती गर्न थालिन्छ । तर हाम्रो देशमा कुनै कुनै सःमिलहरुले मात्र उत्तिस जातको काठ प्रयोग गर्ने गर्दछन् ।
केही मात्रामा एउटै जातको काठ मात्रैचिर्ने सःमिलहरु पनि पाइन्छ । हाम्रो देशमा सिताके च्याउ खेती गर्ने सकिने काठहरुमा उतिस, कटुस, सौर आदि हुन् । यी जातका काठ चिर्ने सःमिलहरुबाटकाठको धूलो संकलन गरी च्याउ खेती गर्न सकिन्छ ।
३. काठको धूलोको समिश्रण
काठको धूलोमा निम्न प्रकारका पदार्थहरु मिसाउनु पर्दछ ।
१) काठको धूलो ७६० ग्राम
२) चामलको भुस १०० ग्राम
३) गहुको चोकर १०० ग्राम
४) क्यालसियम कार्बोनेट २० ग्राम
५) जिप्सम २० ग्राम
६) पानीको मात्रा ६५ प्रतिशत
यी सबै पदार्थहरु तराजुमा अलग अलग जोखेर काठको धूलोसंग मिसाउने अनि बिस्तारै पानीको मात्रा मिलाएर काठको धूलो तयार गर्नु पर्छ ।
४. थैला बनाउने तरीका
सिताके च्याउ खेती गर्नको लागि पोलिप्रोपिलिन जातको पोलिथिनको थैला चाहिन्छ । प्लाष्टिक थैलाको साइज १४ इन्च लम्बाई र ६–५ इन्च चौडाई हुनुपर्दछ । राम्रोसंग मिलाई सकेको काठको धूलो पोलिथिनको झोलामा हातले कोचेर राख्नु पर्दछ ।
झोलामा काठको धूलो अलिकति नभरिदै प्लाष्टिकको झोलाको मुखनिर एउटा घाटी राख्नु पर्दछ उक्त घाटी प्लाष्टिकले बनाईएको हुन्छ । प्लाष्टिकको घाटी बनाउन नसकेको खण्डमा १ इन्चको हाइडसिन्टी पोलिथिन पाइपको टुक्रा राखे पनि हुन्छ । यो घाटीको प्वालबाट ब्यागको मुख बन्द गरी यसमा कपासको विर्को हाल्नुपर्दछ ।
५. स्टेरिलाइज गर्ने तरीका
यसरी बनाएको काठको धूलो भरेको झोलालाई ड्रममा राखेर वफाउन पनि सकिन्छ तर अटोक्लेभमा राखेर राम्रोसंग स्टेरिलाइज गर्नु राम्रो हुन्छ । सयौं पाकेट बनाउनु पर्ने अवस्थामा वाफ च्याम्बरबाट नै बनाउनु उपयुक्त हुन्छ ।
पानी उमालेर वाफ वनाउदा २–३ घण्टासम्म च्याम्बर तताउन लाग्छ र अर्को ५–६ घण्टा वाफ तयार पार्न लाग्दछ । थोरै पाकेटहरु बनाउनु पर्दा अटोक्लेभमा १५ पाउण्डको प्रेसरमा २–३ घण्टा अटोक्लेभ गर्नुपर्दछ । ड्रममा बफाउदा खेरी कमसेकम ६–८ घण्टासम्म बफाउनु पर्ने हुन्छ ।
६. बीउ रोप्ने र ढूसी फैलाउने तरीका
सफा, सानो र अध्यारो कोठामा स्प्रीट स्प्रे गरेर वीउ रोप्नु पर्छ । वीउ हाल्दा पाकेटको मुखमा भएको कपास झिकेर हाल्ने र राम्रोसंग फेरि बन्द गरिदिने अनि ती पाकेटहरु सफा कोठामा याकमा वा भूईमा लहरै राख्न सकिन्छ । यी थौलाहरुलाई ४ महिनासम्म इन्कूवेट गरेर राख्नु पर्दछ।
७. म्याच्युरेसन गर्ने तरीका
प्लाष्टिक पाकेटमा ढूसी राम्रोसंग फैलिएपछि (४ महिनामा) बीच बीचमा बिर्को खोलेर हावाको संचालन राम्रो गराउनु पर्छ । त्यसपछि ती सेतो ढूसी खैरो रंगको भएर जान्छ र त्यसमा खटिरा जस्तो फोका फोका देखिन थाल्छ जसलाई बम्प्स भनिन्छ ।
८. प्लाष्टिक खोल्ने
धेरै बम्प्सहरु देखिन थालेपछि पाकेटबाट प्लाष्टिक च्यातेर निकाल्ने र पाकेटलाई भुइमा राख्ने अनि दिनको दुइ पल्ट राम्रोसंग पानी दिदै जानुपर्छ । अनि च्याउकोसानो सानो फोका निस्कन्छ र ४–६ दिन भित्रमा च्याउ तयार हुन्छ ।
९. टिप्ने बिधि
पाकेटबाट निस्केको च्याउ हातले राम्रोसंग टिप्नुपर्छ । काठको धूलो नआउने गरी हातले थिचेर विस्तारै तानु पर्छ ।
प्रतिक्रिया