नेपालमा थप १८९कोरोना संक्रमित , कुल संक्रमित१४ सय बढी

नेपालमा थप १८९कोरोना संक्रमित , कुल संक्रमित१४ सय बढी

आज थप १ सय ८९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ८५ जना पुरुष तथा ४ जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

प्रवक्ता डा. देवकोटाले कोशी अस्पतालमा गरिएको परीक्षणमा संखुवासभाका २ जना, विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीका ९ जना, नारायणी अस्पताल विरगन्जमा बाराका १ जना र पर्साका २ जना गरी जम्मा ३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका १४ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देहीका २६ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कपिलवस्तुका ३ जना र दाङका ५ जना गरी जम्मा ८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा धनुषाका ७ जना, झापाका १ जना, कपिलवस्तुका ७७ जना, ललितपूरका १ जना, महोत्तरीका ४ जना, रौतहटका ६ जना, सर्लाहीका १७ जना र सिराहाका ११ जना गरी जम्मा १ सय २४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार हाल सम्म नेपालको ५३ जिल्लाका १ हजार २ सय ८८ जना पुरुष र १ सय १३ जना महिलामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको छ ।