logo
  • २०८३ बैशाख ४, शुक्रबार | Fri, 17 Apr 2026
  • जापानमा शक्तिशाली आँधीका कारण ११ जनाको मृत्यु

    • निगरानी
    • २०७६ आश्विन २६, आईतवार १०:५० गते
    जापानमा शक्तिशाली आँधीका कारण ११ जनाको मृत्यु

    टोकियो। जापानमा आएको हागिबिस नाम दिइएको शक्तिशाली आँधीका कारण ११ जनाको मृत्यु हुनुका साथै दर्जनौं व्यक्ति हराइरहेको उद्धारकर्मीहरुले बताएका छन्।
    आँधी प्रभावित व्यक्तिहरुको खोजी र उद्धारका लागि आइतबार सेना पनि परिचालन गरिएको छ।

    आँधीका कारण विभिन्न स्थानमा डरलाग्दो पहिरो गएको र पानीको सतह बढेका कारण नदी किनाराका घरहरु डुबानमा परेका छन्। जापानमा भइरहेको लोकप्रिय रग्बीको विश्वकप प्रतियोगिता नै ओझेलमा परेको छ। आँधीका कारण तीनवटा खेल रद्द भइसकेका छन् तर जापान र स्कटल्याण्डबीचको खेल भने तोकिएको समयमै हुने आयोजकले बताएका छन्।

    आइतबार बिहानदेखि आँधीको वेगमा कमी आएको छ, तर मध्य जापानको नागानोमा भने बाढीको खतरा देखिएको छ। नागानोस्थित छिकुमा नदीको पानी आवासीय क्षेत्रमा पसेको र त्यहाँ बाढीको स्थिति उत्पन्न भएको उद्धारकर्मीहरुले बताएका छन्।जापानी सेनाले मानिसलाई उद्धार गर्न हेलिकप्टरको प्रयोग गरिरहेका छन्। मानिसहरुले घरका झ्याल र बाल्कोनीबाट उद्धारका लागि सेनालाई अनुरोध गरिरहेको देखिएको छ।

    नागानोमा एउटा बुलेट ट्रेन माटोमा गाडिएको अवस्थामा आधा मात्र देखिएको दृश्य टेलिभिजनहरुले प्रसारण गरिरहेका छन्।नागानो शहरका एक अधिकारी यासुहिरो यामागुचीले गएराति स्थानीय ४२७ घरपरिवारका एक हजार ४१७ व्यक्तिलाई घर छाड्न अनुरोध गरिएको जानकारी दिए।

    हागिबिस आँधी जापानको होन्सु द्वीपमा शनिबार साँझ ७ बजे प्रवेश गरेको थियो। हालैका वर्षहरुमा यो निकै शक्तिशाली आँधी हो। यो आँधी प्रतिघण्टा २१६ किलोमिटरभन्दा बढीको वेगमा थियो।जापानी टेलिभिजन एनएचकेका अनुसार कम्तीमा ९९ जना घाइते भएका र एक दर्जनभन्दा बढी मानिस बेपत्ता भएका छन्। एएफपी



    निगरानी    
  • २०७६ आश्विन २६, आईतवार १०:५० गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP