logo
  • २०८३ बैशाख ४, शुक्रबार | Fri, 17 Apr 2026
  • गच्छेभन्दा बाहिर गएर तडकभडक नगर्न प्रधानमन्त्रीकोआग्रह

    • निगरानी
    • २०७६ आश्विन २१, मंगलवार ०१:०६ गते
    गच्छेभन्दा बाहिर गएर तडकभडक नगर्न प्रधानमन्त्रीकोआग्रह

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वमा गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुन आग्रह गरेका छन्। बडादशैँ २०७६ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस चाडले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा जसरी विगतदेखि योगदान गर्दै आएको छ, त्यो योगदान गर्दै जाओस् भन्ने कामना पनि गरेका छन्।

    प्रधानमन्त्रीको सन्देशको पूर्ण विवरणः

    ‘‘दिदीबहिनी तथा दाजुभाइहरु,
    हामी नेपालीहरुको महान र परम्परागत चाड बडादशैँका उपलक्ष्यमा यहाँहरु सबैमा अर्थात् देशभित्र र देश बाहिर रहनुभएका सबै दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक एवं मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

    दशैँ लामो समयदेखि हामीले मनाउँदै आएको एकताको चाड हो, पुनः मिलनको चाड हो, आफन्तहरुका बीचमा, छिमेकीहरुका बीचमा भेटघाट र शुभकामना आदानप्रदान गरेर अत्यन्तै हार्दिकता र मित्रताका साथ मनाइने चाड हो। यो चाड आफूभन्दा ठूलाहरुबाट आशीर्वाद लिने सानाहरुलाई आशीर्वाद एवं स्नेह दिने मानवीयताको चाड हो। यस चाडलाई सकेसम्म भव्यताका साथ मनाऔँ। भव्यताका साथ मनाइहँदा हामीले कतिपय परम्पराका नाममा हुने नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्ने आवश्यकता छ।

    यो चाड मनाइरहँदा स्वास्थ्यलाई ध्यान दिने, मित्रतालाई ध्यान दिने, सामाजिक शान्तिलाई ध्यान दिने, छिमेकीलाई प्रतिकूल असर नपरोस् भनेर ध्यान दिने गरौँ। परिवार, छिमेक र आफन्तमा आपसमा स्नेह, माया, ममता र सद्भाव फैलियोस्। यस चाडले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा जसरी विगतदेखि योगदान गर्दै आएको छ, त्यो योगदान गर्दै जाओस् र जान सकोस् भन्ने कुरामा ध्यान दिन जरुरी छ।

    चाडहरु बढी खर्चालु नहून्। हामी आफ्नो गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त होऔँ। यसमा पनि ध्यान दिन जरुरी छ।
    आज हामी राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सकेर समृद्धिको यात्रामा छौँ। यस यात्रामा हामीले समृद्धिसँगै समाजलाई सभ्य, शान्तिपूर्ण, मानवतापूर्ण, मित्रतापूर्ण, सुसंस्कृत र शिक्षित समाजका रुपमा विकास पनि गर्नु छ। यसमा हामी सबैको ध्यान जान उत्तिकै जरुरी छ।

    हामी ‘समृद्ध नेपाल, सुखी नेपाल’को राष्ट्रि«य आकाङ्क्षा पूरा गर्ने अभियानमा छौँ। यस अभियानमा यो दशैँले हामी सबैमा प्रेरणा पनि दिन सकोस्। म यस बडादशैँका अवसरमा शुभकामना व्यक्त गर्दछु। धेरै धेरै शुभकामना।’’



    निगरानी    
  • २०७६ आश्विन २१, मंगलवार ०१:०६ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP