इलाम , ५ बैशाख : एनआरएनए अन्तर्राष्ट्रिय इलाम गोल्डकपको तेस्रो संस्करण आज देखि इलाममा सुरु हुदैछ । इलाम स्थित ठुलो टुँडिखेलमा संचालन हुने प्रतियोगीताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। उद्घाटन खेलमा आयोजक रेडहर्ष फुटबल क्लब र पथरी–११
बीच प्रतिस्पर्धा हुनेछ। यसअघि आयोजकसंग जर्जियन एफसी भारत प्रतिस्पर्धा गर्ने तयारी भएपनी पश्चिम बंगालको निर्वाचनको कारण भारतीय टिम सहभागि हुन नसक्ने भएपछि मोरङ सहभागी हुने भएको क्लबका सदस्य निरोज खड्गीले जानकारी दिनु भएकोे छ । खेल दिउँसो २ बजे सुरु हुने तालिका छ । प्रतियोगिताको उद्धघाटन प्रतिनिधि सभा इलाम २ का सांसद सुहाङ नेम्वाङले गर्नु हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा आयोजक रेडहर्स फुटबल क्लब, पथरी–११ मोरङ, फिदिम स्पोर्टिङ क्लब, रोलिङ क्लब झापा, मछिन्द्र एफसी, एन पेनाङ एफसी (मलेसिया), डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) र चित्लाङ एफसीबीच प्रतिस्पर्धा हुनेछ। बैशाख १२ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख प्राप्त गर्नेछन् ।
यसपटक प्रतियोगितामा खेलाडी, पत्रकार, भोलेन्टीयर, आयोजक र सुरक्षा निकायको २ लाखको बिमा समेत गरिएको आयोजक रेडहर्ष फुटबल क्लबले जनाईएको छ । प्रतियोगिता सञ्चालनका लागि करिब ८० लाख रुपैयाँ लागत लाग्ने अनुमान आयोजकको छ।
खर्च व्यवस्थापनका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए), इलाम नगरपालिका, स्थानीय तह, प्रायोजक, ब्यक्तिगत तथा संस्थागत सहयोग , टिकट बिक्री रहेको आयोजकले जनाएको छ।
दर्शकका लागि बाँसको अस्थायी प्यारापिट निर्माण गरिएको छ। मैदान स्तरोन्नति , प्यारापिट लगायत ब्यवस्थापनको लागि करिब २५ लाख रुपैया खर्च गरिएको क्लबका महासचिव प्रकाश घिमिरेले जानकारी दिनु भएको छ । अघिल्लो बर्षमा खाली मैदानमा खेल संचालन गर्मु पर्ने आयोजकको बाध्यता थियो । यसपटक दुबो रोपेर हरियाली बनाइएको छ। क्लब ओएसिस र रेडहर्ष फुटबल क्लबको पहलमा मैदानमा दुबो रोपण गरि मैदान सुधार गरिएको भए पनि अझै स्तरीय बन्न सकेको छैन । ब्यवस्थित रंगशाला अभावमा हरेक बर्ष मैदान मर्मतमा लाखौ खर्च गर्नु पर्ने बाध्यता रहेको आयोजकको भनाइ छ ।

प्रतिक्रिया