योजना सहित अघि बढ्ने तयारीमा एन्फाका स्वास्थ संयोजक निरोज

योजना सहित अघि बढ्ने तयारीमा एन्फाका स्वास्थ संयोजक निरोज

इलाम । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य निरोज खड्गीले स्वास्थ्य समितिको संयोजकको जिम्मेवारी पाएसँगै उनले आफ्नो टिम बनाउन लागिपरेका छन् । एन्फाको जेठ १९ गते बसेको राष्ट्रिय कार्यसमितिको भर्चुअल बैठकले बाँकी कार्यकालसम्मका लागि खड्गीलाई स्वास्थ्य समिति संयोजकको जिम्मा दिने निर्णय गरेको थियो । 

उक्त पत्र उनले असोज ९ गते पाएको भए पनि जिम्मा भने मंसिर २२ गते सोमबारदेखिमात्र पाएका हुन् । खेलकुदका गतिविधिहरु खासै केही नभएका कारण पनि उनले जिम्मेवारी बहन गर्न पाएका थिएनन् । 

खड्गीले चिकित्सकको पुरानो ९ जनाको टिमलाई सात जनामा झारेर सशक्त बनाउने जनाएका छन् । उनले भने, ‘पहिले ९ जनाको टिम रहेछ । अब सात जनामा झारेर जागरुक चिकित्सकहरु समेट्नका लागि लागिपरेका छौं । कतिपय चिकित्सकहरुले समय नै दिन नसकेका कारण सीमितले मात्र साथ दिनुभएको थियो ।’

स्वास्थ्यसमितिमा अहिलेसम्म तीन जना चिकित्सक तयार भइसकेका छन् भने बाँकी बोलाउने क्रममा रहेको संयोजक खड्गीले बताए । सह संयोजक डा. अजय राणा हुन् । डा. प्रफुल श्रेष्ठ र डा. राजु डंगोल पनि समेटिएका छन् । 

खड्गीले अबको योजनाबारे भने, ‘हाम्रो मुख्य काम भनेको खेलाडीहरुको फिटनेशलाई विशेष ध्यान दिनु हो । खेलाडीहरुमा फिटनेशको कमी छ । फिटनेशको सामग्री ल्याएर तयार गर्ने काम मंगलबारदेखि नै शुरु हुन्छ ।’

उनले खेलाडीहरुको जगलाई हेर्नुपर्ने भएकाले स्वास्थ्य परीक्षण महत्वपूर्ण भएको बताए । उनले बुटबल र धरानको एकेडेमीमा रहेका ५४ जना खेलाडीहरुको हरेक महिना नियमित परीक्षण गरी उनीहरुको फिटनेशलाई विशेष ध्यान दिने बताए । 

उनले राष्ट्रिय टिमका पुरुष तथा महिला नेलाडीहरुलाई अनिवार्य जिम गराउने पनि बताए । पुरुष टोलीले विश्वकप तथा एसियन कप छनोट खेल्नुपर्ने भएकाले पनि तत्काल फिटनेशमा ध्यान दिनुपर्नेछ । 

नेपाली टिमले घरेलु मैदानमा अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेइसँग खेल्न बाँकी रहेको छ । त्यसअघि नेपाली टिमले केही मैत्रिपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्ने प्रयास भइरहेको पनि केन्द्रीय सदस्य खड्गीले बताए । 

एन्फाले ५८ खेलाडीलाई राष्ट्रिय टिमका लागि बोलाएको छ । स्वास्थ्य समिति संयोजक खड्गीले खेलाडीहरु मजबुद नभएसम्म सत्प्रतिशत खेल्न नसक्ने भएकाले उनीहरुको स्वास्थ्यमा विशेष ध्यान दिइने बताए । 

इलामबाट प्रतिनिधित्व गर्दै एन्फा केन्द्रीय सदस्य बनेका खड्गी युथ डेभलपमेन्ट कमिटीका सहसंयोजकसमेत हुन् ।