फिक्कल । आगामी कार्तिक १७ गतेबाट प्रथम गोरख भेट्रान्स कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । गोरख टोल विकास संस्थाको आयोजनामा सूर्योदय नगरपालिका–५ समालबुङमा प्रतियोगिता संचालन हुने भएको हो । सामसुङ मेमोरियल मैदानमा हुने प्रतियोगिताको उद्धघाटन खेलमा आयोजक गोरख भेट्रान्स र दिपेन्द्रशिखर एफसी भिड्दै छन् ।
प्रतियोगितामा नेपाल र भारतका गरी ८ टिम सहभागी छन् । आयोजक संस्थाले फिक्कलमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको बारेमा जानकारी गराएको छ । प्रतियोगितामा दिपेन्द्रशिखर भेट्रान्स हर्कटे, दमक–लखनपुर भेट्रान्स झापा, ग्रिनस्टार फुटबल क्लब, इलाम भेट्रान्स, एमसीसी फिक्कल भेट्रान्स, पाँचथर भेट्रान्स र आयोजक गोरख भेट्रान्स सहभागी छन् ।
भारतको यएफसी भेट्रान्स बुङकुलुङ समेत प्रतियोगितामा सहभागीता जनाएको छ । पहिलो दिन ४ खेल संचालन हुनेछ । दोश्रोे दिन सेमीफाइनल र फाइनल खेल संचालन हुनेछ । २ दिनसम्म चल्ने सेभेन साइड प्रतियोगिताको बिजेताले ४० र उपविजेताले २० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कृत गरिनेछ ।
प्रतियोगिता संचालनका लागि कुल ३ लाख रुपैया खर्च हुने अनुमान रहेको आयोजक समितिका सचिव विकास तामाङले बताए । उनले स्वास्थ्यसंगै युवाहरुलाई खेलकुदमा प्रेरित गर्न भेट्रान्स प्रतियोगिता आयोजना गरिएको बताए । युवाहरुमा मोवाइल लतका कारण घुलमिलमा समस्या देखिएपछि पाको उमेरका खेलाडीहरुले फुटबल खेल्न सक्छ भन्ने उर्जा दिनका लागि आयोजना गरिएको तामाङले बताए ।
उनले युवाहरुमा नो टु ड्रग्स भन्ने सन्देश दिन फुटबल आयोजना भएको बताए । खेलमा ३८ बर्ष मुनीका २ जना र बाँकी खेलाडी ४० बर्षभन्दा माथिको हुनुपर्नेछ । प्रतियोगितामा सहभागी खेलाडीहरुको दुर्घटना बिमा समेत गरिएको उनले बताए । भेट्रान्सहरुको जस्तो लगाव युवा पुस्ताको फुटबलमा नदेखिएको वडाध्यक्ष उर्गेन बम्जन बताउँछन् ।
उनले पुरानो पुस्ताबाट फुटबलको मार्फतबाट युवालाई खेलमा आर्कषित गराउने लक्ष्य राखिएको बताए । लामो समय देखि फुटबलमा अनवरत योगदान गर्नेहरुलाई सम्मान कार्यक्रम समेत राखिएको बम्जनले बताए ।