इलाम जिल्ला लिगको उपाधी रेडहर्षलाई

इलाम जिल्ला लिगको उपाधी रेडहर्षलाई

इलाम , पुस ३० । इलाममा सम्पन्न एन्फा जिल्ला लिगमा रेडहर्ष फूटबल क्लब च्याम्पियन बनेको छ । शुक्रबार सम्पन्न फाइनलमा रेडहर्षले एमएफसि पान्दाम फिक्कललाई ४–शुन्यको सानदार जित निकाल्दै लिग च्याम्पियन बनेको हो । लिग च्याम्पियन रेडहर्षले अब प्रदेश लिगमा इलामको नेतृत्व गर्ने भएको छ । लिग च्याम्पियन बनेको रेडहर्षले नगद २५ हजार पुरस्कार प्राप्त गरेको छ । उपबिजेता पान्दामले १५ हजार रुपैंयाँ प्राप्त गर्यो  । बिजेता तथा उपबिजेता दुबै टिमलाई इलाम नगरपालिकाका मेयर महेश बस्नेत, एन्फाका केन्द्रिय सदस्य निरोज खड्गी, जिल्ला फूटबल संघका अध्यक्ष महेश श्रेष्ठ, इलाम नगर खेलकुद बिकास समितिका अध्यक्ष बिनोद श्रेष्ठले पुरस्कार प्रदान गर्नुभएको थियो ।  अखिल नेपाल फूटबल संघ (एन्फा)को बार्षिक कार्यक्रम अनुसार जिल्ला फूटबल संघ इलामले आयोजना गरेको एन्फा जिल्ला लिगमा ३६ खेल भएका छन् भने सेमिफाइनल र फाइनल गरेर जम्मा ४० खेल भएको छ ।संघमा आबद्ध रहेका १३ वटा क्लबले लिगमा सहभागिता जनाएका थिए । ती क्लबलाई समूह ए मा ६ र बि मा ७ वटा गरेर बिभाजन गरीएको थियो । यी दुवै समूहबाट २/२ टोलिले सेमिफाइनलमा स्थान बनाएका थिए भने यी दुबै समूहबाट एक/एकवटा क्लब यो बर्षबाट रेलिगेसनमा पर्दै बि डिभिजनमा घटुवा समेत भएको छ । समूह ए मा निहारिका स्पोटिङ क्लब, एमएफसि पान्दाम, दिपेन्द्र शिखर हर्कटे, फ्रेण्डस क्लब गोदक, मिलेनियम फ्रेण्डस क्लब र पूर्व क्षितिज क्लब कट्टेबुङ्ग रहेको थियो भने समूह बि मा माईभ्याली, रेडहर्ष, त्रिबेणि युथ क्बल, हेल्लो जस्बिरे, देउराली स्पोटीङ, ओएसिस एफसि र हेलिबोथ एफसि बिब्ल्याँटे रहेको थियो ।