इलाममा  फागुन १२ गतेदेखि जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुदै

इलाममा  फागुन १२ गतेदेखि जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुदै


सविता पाण्डे , इलाम फागुन ८ : इलाममा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी फागुन १२ गते देखि संचालन हुने भएको छ  । १४ औं संस्करणको प्रतियोगिता  माङसेबुङ गाउँपालिकामा संचालन हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।


प्रतियोगिताको  लागि आवश्यक तयारी धमाधम भइरहेको  जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाले बताउनु भयो । खेलमैदान ,  बास व्यवस्थापन, खानेपानी व्यवस्थापन, प्रचारप्रसार लगायतको तयारी तिव्र पारिएको छ ।
जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तीन दिनसम्म संचालन हुनेछ । प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत १८ वर्ष ननाघेका विद्यार्थीले सहभागिता जनाउनेछन् । प्रतियोगितामा छात्र र छात्रातर्फ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका बमोजिम भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्ट सञ्चालन हुने समितिले जनाएको छ । एथलेटिक्स तर्फ दौड, उफ्रने र फ्याँक्ने तथा मार्सल आर्ट तर्फ कराँते (सितेरिया), तेक्वान्दो र उसु खेल सञ्चालन हुनेछन् ।
जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई छनौट गरेर प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुनेछन्  । यस अघि पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट खेलाडी  छनौट भएका छन । ती खेलाडीलाई कतिपय पालिकाले क्लोज क्याम्पमा समेत राखेका छन । पछिल्लो समय स्थानीय तहले यो प्रतियोगितामा चासो देखाउन थालेका छ । 

    विजेता टिम एवम खेलाडीले शिल्ड र नगद पुरस्कार तथा उपविजेता टिम एम् खेलाडीले ट्रफी र नगद पुरस्कार पाउनेछन् ।
विगतका बर्षमा  इलाम सदरमुकाममा मात्रै  सञ्चालन हुँदै आएको प्रतियोगिता गत वर्षदेखि सदरमुकाम बाहिर सञ्चालन गर्न थालिएको  जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बाँस्तोलाले बताउनुभयो ।  गत वर्ष फाकफोकथुम गाउँपालिकामा प्रतियोगिता सञ्चालन भएको थियो ।  यसपटक प्रतियोगिता सन्चालन गर्ने पालिका गत बर्ष  नै टुंगो लगाइएको थियोे । 
यो प्रतियोगिता विद्यार्थीले अध्ययन सङै खेल कौशल बिकास गर्ने र भविस्यमा राष्ट्रिय अन्तरास्ट्रिय स्तरमा सहभागी हुने आधार तयार पार्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बाँस्तोलाको भनाइ छ ।  सफल र प्रभावकारी बनाउन स्थानीय सरकार अझ बढी जिम्मेवार हुनु पर्ने र खेल क्षेत्रमा लगानी वृद्धि गर्नु पने बास्तोला बताउनु हुन्छ ।

*