सविता पाण्डे इलाम, मङ्सिर २३ :इलाममा जारी दोस्रो इलाम गोल्ड कपमा डिफेण्डिङ च्याम्पियन न्यूरोड टिम (एनआरटी) सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीले पाहुना टिम भारत दार्जिलिङको जिटिए ११ माथि २–१ ले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको हो ।
एनआरटीका लागि विदेशी खेलाडीहरु नेमारले खेलको ४५ औं मिनेटमा र मार्टिनले ८५ औं मिनेटमा गोल गरेका थिए । खेलको ३९ औं मिनेटमा जिटिए दार्जिलिङको तर्फबाट भाइचुङ्ग राईले एक गोल पेनाल्टीमार्फत गरे ।
आजको खेलमा एनआरटीका जय गुरुङ ‘म्यान अफ दि म्याच’ घोषित भए ।उनले नगद ८ हजार एकसय प्राप्त गरे । आगामी मंसिर २९ सम्म सञ्चालन हुने प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन न्युुरोड टिम, सङ्कटा क्लब, त्रिभुवन आर्मी, चर्च ब्वाइज, झापाको रेड स्टार, मच्छिन्द्र, भारत दार्जिलिङको जिटिए र आयोजक रेड हर्ष सहभागी छ्न । प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
प्रतिक्रिया