कोशी प्रदेशसभामा सञ्चार विधेयक पेश गर्ने तयारी

कोशी प्रदेशसभामा सञ्चार विधेयक पेश गर्ने तयारी

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश संचारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक २०८० प्रदेशसभामा पेस गर्ने तयारी गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उक्त विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरेको हो ।

यस अघि नपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका कार्यवाहक अध्यक्ष लवदेव ढुङ्गानाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलसंग कुरा गर्दै मुख्यमन्त्री केदार कार्कीले सञ्चार विधयक प्राथमिकतामा राखेर प्रदेश सभामा पेश गर्ने बताएका थिए ।

प्रदेश सरकारको प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री शम्शेर राईले शैलजा आचार्य हृदय रोग उपचार केन्द्र संचालन कार्यविधि २०८० बैठकले स्वीकृत गरेको बताएका छन् । मुख्यमन्त्री केदार कार्कीले हृदय रोग उपचार केन्द्र तत्काल सञ्चालनका लागि कार्यविधि बनाएर काम अघि बढाएको बताएका हुन् ।
बैठकले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को प्रदेश कार्यालय र आंगिक शिक्षालय प्रदेश सरकारलाई हस्तान्तरण गर्नका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय भएको प्रवक्ता राईले बताएका छन् । यस्तै प्रदेश सरकारको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको पाँचौ वार्षिक प्रतिवेदन प्रदेश सभामा पेश गर्ने निर्णय गरेको उनले बताएका हुन् ।