logo
  • २०८१ चैत्र ७ | Thu, 20 Mar 2025
  • कृषि ऐनमा सन्दकपुर पहिलो

    कृषि ऐनमा सन्दकपुर पहिलो

    इलाम । स्थानीय सरकारले कृषि ऐन निर्माण र लगानीमा चासो नदिएको गुनासो बढि रहेको बेलामा इलामको सन्दकपुर गाउँपालिकाले कृषि ऐन निर्माण गरेको छ । सन्दकपुर गाउँपालिका साविक मेची र कोशी अञ्चलकै पहिलो कृषि ऐन बनाउने जिल्ला बनेको छ ।

    कृषकसंग स्थानीय सरकार भन्ने नारा रहेको गाउँ पालिकाको छैटौ गाउँ सभाले ऐन पारित गरेको प्रवक्ता गिरीराज खनालले जानकारी दिए । गाउँपालिकाले वर्गिकरण सहितको किसान परिचय पत्र वितरण लगायतका कार्यक्रम समेत अघि बढाउनका लागि ऐन निर्माण गरेर अघि बढेको उनले बताए ।

    गाउँपालिका अध्यक्ष राईले किसाको व्यवसायीक हितका लागि ऐन निर्माण गरेर काम अघि बढाएको बताए । राष्ट्रय कृषक समूह महासंघ इलामको प्राविधिक सहयोगमा ऐन निर्माण गरेको खनालले जानकारी दिए ।

    इलामका सबै स्थानीय तहमा कृषि ऐन निर्माणका लागि महासंघले पहल गरिरहेको महासंघका इलाम अध्यक्ष विष्णु दुलालले बताए । उनले भने ‘साविक मेची र कोसी अञ्चलमै कृषि ऐन बनाउने सन्दकपुर पहिलो स्थानीय तह भएको छ ।’ ऐनमा परिचय पत्र वितरण, करार खेती, गैर सरकारी सस्था संगको सहकार्यमा कृषिलाई व्यवसायीक बनाउने लगायतका विषय समेटीएको खनालले बताए ।

    इलामको फाकफोकथुम, इलाम नगरपालिका लगायतमा पनि ऐन निर्माणका लागि छलफल शुरु गरेको महासंघले जनाएको छ । फाकफोकथुम गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेशनाथ दहालले कार्यविधि मार्फत अघि बढ्दा कानुनी जटिलता देखिएकाले ऐन निर्माण गरेर अघि बढ्नु राम्रो हुने बताए । उनले भने ‘त्यो गाउँ सभाको विषय हो तर ऐन बनाएर अघि बढ्दा राम्रो हुन्छ । फाकफोकथुम गाउँपालिका ३ का वडाअध्यक्ष राजन पौड्यालले कृषि ऐन निर्माणका लागि काम शुरु भएको बताए ।
    इलाम नगरपालिकाकी उपमेयर शुशिला नेम्बाङले खास कृषकले कृषि अनुदान लगायतका सुविधा नपाएकाले कानुनी वनाएर नियमन गर्न प्रयास गर्ने बताइन् । इलामका ६ गाउँपालिका र ४ नगरपालिका मध्ये सन्दकपुरले जिल्लामै पहिलो कृषि ऐन निर्माण गरेको महासंघका जिल्ला सहसचिव नेत्र पराजुलीले जानकारी दिए । स्थानीय तहले कार्यविधिकै भरमा कृषि अनुदान लगायतका कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।



    निगरानी    
  • २०७६ फाल्गुन १८, आईतवार ११:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP