तोयानाथ भट्टराई
इलाम : झापाबाट इलाम प्रवेश गर्नासाथ इलामको रोङ गाउँपालिका टेकिन्छ। झापाबाट इलाम प्रवेश गर्नेलाई स्वागत गर्ने पहिलो गाउँपालिका कृषिमा भने ‘आफ्नै मोडल’का कारण चर्चामा आउने गरेको छ।
कहिले गुन्द्रक ब्रान्डिङ त कहिले तीतेपाती खेतीलगायतमा किसानलाई उक्साइरहेको रोङ गाउँपालिकाले अब भने कृषकलाई प्रतिस्पर्धी बनाउने ‘कृषि गुरु’ कार्यक्रम अघि सारेको छ। यो देशमै पहिलो र नमुना कार्यक्रम हो। यो कार्यक्रममा संघीय सरकाले १५ लाख सहकार्य गरेको छ भने बाँकी सबै खर्च गाउँ पालिकाले बेहोर्ने छ।
रोङ गाउँपालिकाको भौगोलिक परिवेश, प्राकृतिक स्रोत एवं बजारको पहुँचले उपलब्ध गराएको अवसर र किसानहरूको अन्तर्निहित क्षमतालाई विकास गर्दै आधनिक कृषि प्रविधिहरूको उपयोगगरी व्यावसायिक कृषिको माध्यमबाट दिगो आर्थिक वृद्धि तथा खाद्य सुरक्षाका लागि नेपालमै पहिलो पटक कृषि गुरुनामक योजना अघि सारेको पालिकाले जनाएको छ।
रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो भन्छन् ‘कृषि भूमिको अवैज्ञानिक प्रयोग, निर्वाहमुखी कृषि प्रणाली र गैरकृषि क्षेत्रको तुलनामा कृषि क्षेत्रको न्यून आम्दानीको कारण कृषि क्षेत्र आकर्षक र सम्मानित हुन सकेको छैन हामी यो कार्यक्रममार्फत वास्तविक किसानको अवस्था परिवर्तनको प्रयासमा लागेका छौं।’
उनले लाखौं युवा कृषि पेसाबाट विदेश पलायन हुने अवस्थामा परिवर्तन ल्याउनसमेत यो कार्यक्रम अघि सारेको बताए। उनले कृषि क्षेत्रलाई उत्पादन, आम्दानी र रोजगारको माध्यम बनाउनका लागि प्रतिस्पर्धी र व्यावसायिक कृषक बनाउने अभियानमा गाउँपालिका लागेको बताए। रोङ गाउँपालिकाभित्र रहेका कृषकहरूमध्येबाट नै उत्कृष्ट ज्ञान, सीप, दक्षता नेतृत्व हासिल गरेका ‘गुरु किसान’ तयार गर्न कार्यविधि निर्माण गरेको अध्यक्ष स्याङ्बोले बताए।
पालिका अध्यक्ष स्याङ्बो भन्छन्, ‘सानो सानो प्रयास गरिरहेका छौं, किसानको जीवनस्तर कसरी माथि उठाउन सक्छौं भनेर प्रयास गरिरहेका छौं।’ गुरु किसान कार्यक्रम यसैको निरन्तरता भएको उनले सुनाए। गुरु किसान कार्यक्रमले रोङ गाउँपालिकाका परि श्रमी र समर्पित किसानहरू मध्येबाट गुरु कृषक छनोट गरी कृषि तथा पशुपालनसम्बन्धी अन्य किसानहरूलाई ज्ञान, सीप क्षमता विकासमा योगदान गर्ने जनशक्तिको विकास गर्ने लक्ष्य राखेको छ।
गुरु किसान हुन योग्य किसानको छनोट गरेपछि कृषि सामग्री, तालिम, कृषि उपकरणलगायतको क्षत्रमा सहजीकरण गर्ने अध्यक्ष स्याङ्बोले बताए। उनले भने ‘गुरु किसान योग्य र उदाहरणीय भए पछि अरू कृषकहरूलाई आफ्नो योग्यता, क्षमता र अनुभवबाट उदाहरणीय बनाउन सहयोग गर्नेछन्।’
कार्यक्रमले गुरु किसानहरूको नेतृत्वमा अन्य कृषकहरूमा खाद्यबाली, तरकारी, उच्च मूल्य बालीलगायत पशुपालनको क्षेत्रमा व्यावसायिक क्षमता विकास गर्ने लक्ष्य राखेको छ। कार्यक्रमले गुरु किसानलाई व्यावहारिक र अनुभवले खारिएको अघोषित प्राविधिकको रूपमा विकास गर्ने लक्ष्यसमेत राखेको छ।
‘सुरुमा करिब तीन सय जना ‘गुरु किसान’ पहिचान गर्ने तयारी छ,’ गाउँपालिका अध्यक्ष स्याङ्बोले भने, ‘किसानको उत्पादन, परिमाण, गुणस्तर र निरन्तर उत्पादनजस्ता कुरामा एकरूपता ल्याउन गुरु किसान कार्यविधिलाई कार्यपालिकाले स्वीकृत गरेको छ।’
उनीहरूलाई ‘लोगो’ र परिचयपत्र वितरण गरिने गाउँपालिकाले जनाएको छ। उनले भने, ‘गुरु किसानलाई पालिकको हरेक कार्यक्रमममा आशनग्रहण हुन्छ, सम्मान हुन्छ।’ गाउँपालिकाले गुरु किसानमार्फत उत्पादकत्वमा प्रतिस्पर्धा गराउन खोजेको छ।
रोङ गाउँपालिकाको कुल १५६ दशमलव ०२ वर्ग किलोमिटर क्षेत्रमध्ये ४९ दशमलव ६२ वर्गकिलोमिटर जमिनखेती योग्य रहेको छ। पालिकाको तथ्यांकअनुसार पालिकाभरिमा अलैंची २० मेट्रिकटन, धान ३५० मेट्रिकटन, मकै १५० मेट्रिकटन, सुन्तला १६० मेट्रिकटन, सुपारी ३५ मेट्रिकटन, अदुवा १५ मेट्रिकटन, केरा १०० मेट्रिकटन, आलु १८० मेट्रिकटन र स्कुस ५०० मेट्रिकटन उत्पादन हुने गरेको छ।
यसबाहेक तोरी, बेसार, सिस्नु, खुर्सानी, च्याउ, कुरिलो, मुला, काँक्रो, टमाटर, तीतेकरेला, कुरिलोलगायतका बाली किसानले लगाउने गरेको पालिकाको कृषि शाखाले जनाएको छ।
रोङ गाउँपालिकामा उत्पादन भएको कृषि उपज स्थानीय बजार जोरकलश, हर्कटे, झापाको चारआली, बिर्तामोड, काँकडभिट्टा, इटहरीदेखि भारतको सिलिगुडीसम्म पुग्ने गरेको स्थानीय कृषक एगा अर्याल बताउँछन्।
रोङ गाउँपालिकाका ८० प्रतिशत नागरिक कृषि पेसामा आबद्ध भएको एक तथ्यांकले देखाएको छ। अध्यक्ष स्याङ्बो भन्छन् ‘हामी तिनै किसानको दिगो विकासका लागि काम गरिरहेका छौं।’
गुन्द्रुक ब्रान्ड
नेपाली माँझ हेपिएको कृषिउपज ‘गुन्द्रुक’लाई नेपालमा पहिलो पटक रोङ गाउँपालिकाले नै ब्रान्डिङको प्रयास गरेको हो । घरघरै उत्पादन हुने सागबाट गुन्द्रुक उत्पादन अभियानमा जुटेको रोङ अहिले चाहिँ किसानलाई नै गुरु बनाउने अभियानमा जुटेको हो। गुन्द्रुकको ठूलो बजार समात्न उसले गरेको प्रयासमा एकपछि अर्को सफलता मिलिरहेको गाउँपालिकाको दाबी छ।
गुन्द्रुक बजार पुर्याइसकेपछि ८० प्रतिशतभन्दा बढी रकम गाउँमा प्रवेश गर्ने, स्थानीय सरकार जनतासँग उत्पादनमा प्रत्यक्ष जोडिने र रोजगारीसमेत सिर्जना हुने लगायतका बहुआयामिक फाइदा हुने देखेर गुन्द्रुक उत्पादन अभियान थालेको गाउँपालिकाले यो प्रयासमा पछि हट्नु परेन। गाउँपालिकाले गुन्द्रुक उत्पादन अभियान सुरु गरेपछि भने सबै गाउँलेले समान मूल्य पाएका छन्। उत्पादनपछि गाउँपालिकाले अनुदानको पनि प्रबन्ध गरेको छ।
गाउँपालिका अध्यक्ष स्याङ्बोका अनुसार गाउँपालिकाले सागको न्यूनतम समर्थन मूल्य प्रतिकेजी १० रुपैयाँ निर्धारण गरेको छ। साग गाउँपालिकाको फ्याक्ट्रीलाई दिने किसानले सागमा प्रतिकेजी ६ रुपैयाँ अनुदान पनि पाउने व्यवस्था गाउँपालिकाले गरेको छ। त्यस्तै गुन्द्रुकमा प्रतिकेजी ८० रुपैयाँ अनुदानको व्यवस्था छ। त्यो पनि अन्ततः किसानकै भागमा पर्ने गाउँपालिकाको भनाइ छ।
उनका अनुसार ग्रामीण अर्थतन्त्र बलियो बनाउन र उत्पादनपछिको सबै पैसा गाउँमै रहने एउटा उपयुक्त माध्यम गुन्द्रुक हुने ठहर गरेर यो कामको थालनी भएको हो। गत आर्थिक वर्षमा ९ सय किलो तयारी गुन्द्रुक उत्पादन गरेको कृषि शाखा कृषि प्राविधिक सन्तोष लाप्चाले जानकारी दिए। उनका उनुसार पालिकाले तयारी गुन्द्रुकमा प्रतिकिलो ८० रुपैयाँ अनुदान दिएर गुन्द्रक प्रबद्र्धनमा सहयोग गरिरहेको छ।
महमा सधैं अगाडि
ग्रन्द्रुक ब्रान्डिङमा सफल भएको इलामको रोङ गाउँपालिका महमा समेत एक कदम अघि बढेको हो। पछिल्लो समय ‘रोङ मह’ सधैं र सबै ठाउँमा किन्न पाइँदैन भन्ने नारासहित सो गाउँपालिका अघि बढेको रोङ गाउँपालिका अध्यक्ष अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास) बताउँछन्।
गाउँपालिकाले मौरीपालनलाई गाउँपालिकाको पहिचानका रूपमा स्थापित गर्न यो कार्यक्रम नै अगाडि बढाएको अध्यक्ष मणिकुमार
स्याङ्बो (सुवास)ले जानकारी दिए। उनका अनुसार मौरीपालन व्यवसायमा गाउँपालिकाले पहिला पनि लगानी गरेको र अब पनि प्राथमिकतामा यस व्यवसायलाई अघि बढाइनेछ।
गाउँपालिकाले मौरी विकास केन्द्र नै स्थापना गरेर मौरीपालनको विकासमा लागेको छ। मौरीले वातावरण जोगाउनका लागि राम्रो भूमिका निर्वाह गर्ने भएकाले पनि मौरी जोगाउनुपर्ने बताइएको छ। साथै मौरी रहेमा महसमेत उत्पादन गर्ने र किसानको जीविकोपार्जनमा सहयोग पुर्याउनेछ। गाउँपालिकाले मौरीपालनलाई विषादी नियन्त्रणको अस्त्रको रूपमा पनि प्रयोग गरेको छ।
परागशेचनले तरकारीबाली फल्नसमेत मद्दत गर्ने भएकाले पनि मौरी जोगाउन लगानी गरेको गाउँपालिका अध्यक्ष स्याङ्बोको भनाइ छ। मौरी व्यवसायी कुमार तामाङ पर्यावरण र दिगो कृषिका लागि मौरी पालन व्यवसाय आवश्यक रहेको बताउँछन्।
गाउँपालिकाले मौरी विकास केन्द्रबाट मह तथा मौरीका घार तथा मौरीसमेत बिक्री वितरण गर्ने र आम्दानीको स्रोत बढाउने रहेको छ। रोङले सुन्तला र अलैंची प्रबद्र्धनमा समेत काम गर्दै आएको छ। अध्यक्ष स्याङ्बोले स्थानीय सरोकारवालाको सहकार्यमा कृषि ऐन निर्माण गरेर थप प्रभावकारी काम सुरु गर्ने तयारी गरेको बताए। राष्ट्रिय कृषक समूह महासंघ कोशी अध्यक्ष कुसुम दाहालले रोङ गाउँपालिकाले कृषकका पक्षमा अरू स्थानीय तहले समेत अनुसरण गर्ने खालको काम गरिरहेको बताइन्।
खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले इलामको चार स्थान तहको भ्रमण पछि भने ‘रोङ गाउँपालिकाबाट देशका सबै स्थानीय सरकारले धेरै कुरा सिक्न सक्ने देखियो।’ उनले रोङ गाउँपालिकाले केन्द्र सरकारले गर्न नसकेको काम गरिरहेको बताए। गाउँपालिकाले ५० हजार कफीरोपण गराएर कृषकलाई कफीमा व्यावसायिक रूपमा लाग्न प्रोत्साहन गरेको शाखाले जनाएको छ। केही वर्षदेखि कफीखेती विस्तारमा लागेको पालिकाका २ सय २० जना किसानले कफी उत्पादन, प्रशोधन र बजारीकरण गरिरहेको गाउँपालिकाले जनाएको छ।
पशु नश्ल सुधारमा किसानसँग साझेदारी
रोङ गाउँपालिकाले गाई, बाख्रा र बंगुरको नश्ल सुधार गर्नका लागि कृत्रिम गर्भाधानका लागि कृषकलाई ५० प्रतिशत अनुदान प्रदान गर्ने गरेको छ। ८० देखि ९० प्रतिशतसम्म बाच्छी जन्मने सेक्सड सिमेन (बीर्य)को मूल्य ३ हजार पर्छ। पशुपन्छी तथा मत्स्य विकास शाखाका पशु सेवा प्राविधिक राकेशकुमार राउतका अनुसार सो रकमको आधा अथवा एक हजार ५ सय रोङ गाउँपालिकाले व्यहोर्छ भने आधा रकम किसानले बेहोर्ने गरेका छन्।
सिमेनबाहेक प्राविधिक खर्चबापत किसानले ७ सय प्राविधिक खर्च बेहोर्ने व्यवस्था छ। गत आर्थिक वर्षमा पालिकको लागत सहयोगमा २ हजार ५९३ वटा गाई, बाख्रा र बंगुरमा कृत्रिम गर्भधारण गराएको राउतले बताए।
रोङ गाउँपालिकामा ३१ वटा दुग्ध संकलन केन्द्रमार्फत दैनिक ८ हजार लिटर दुग्ध संकलन हुने गरेको छ। दुग्ध उत्पादन वृद्धि गर्ने योजनासहित कृत्रिम गर्भधारणमा अनुदानको प्रबन्ध गरेको गाउँपालिकाले जनाएको छ। यस वर्षदेखि किसानका लागत सहभागिता घटाउने तयारी गरेको पालिकाले जनाएको छ। अन्नपुर्ण पोष्टबाट
प्रतिक्रिया