logo
  • २०८३ जेष्ठ १५, शुक्रबार | Fri, 29 May 2026
  • प्राङ्गारिक खेतीलाई प्रवर्द्धन  गर्न नव जागृती महिला समुहको पहल , किसानलाई मल बनाउने तालिम

    • निगरानी
    • २०८३ जेष्ठ १४, बिहीबार २०:१६ गते
    प्राङ्गारिक खेतीलाई प्रवर्द्धन  गर्न नव जागृती महिला समुहको पहल , किसानलाई मल बनाउने तालिम

    सविता पाण्डे , इलाम जेठ १४

    इलाम नगरपालिका वडा नं. ८ लाई पूर्ण अर्गानिक वडा बनाउने दुई दिवसीय अर्गानिक तथा झोल मल बनाउने तालिम सम्पन्न  भएको छ। वडाका विभिन्न टोलका ४० जना कृषकहरुको सहभागिता रहेको उक्त तालिमले स्थानीय स्तरमै प्राङ्गारिक खेतीलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

    नवजागृति महिला समूहको आयोजना, सहयात्रा नेपाल र इलाम नगरपालिका वडा नं. ८ कार्यालयको समन्वय तथा टेवा नेपाल को आर्थिक सहयोगमा सञ्चालन भएको तालिमको समापन  नवजागृति महिला समूहकी अध्यक्ष रोसु बानियाँ को अध्यक्षता तथा वडाअध्यक्ष दलमान तामाङ को प्रमुख आतिथ्यतामा गरिएको थियो।


    कार्यक्रमका प्रमुख अतिथि एवं वडाअध्यक्ष दलमान तामाङ ले मानव स्वास्थ्य संरक्षणका लागि अर्गानिक खेती अपरिहार्य रहेको उल्लेख गर्नुभयो। “यदि स्वस्थ रहन चाहनुहुन्छ भने अर्गानिक उत्पादनतर्फ लाग्नैपर्छ,” भन्दै उहाँले यस्ता अभियान तथा कृषि कार्यका लागि वडा कार्यालयबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो।


    त्यस्तै, कार्यक्रमकी अध्यक्ष रोसु बानियाँले अर्गानिक तथा झोल मल प्रयोग गरी उत्पादन गरिएका सागसब्जीले मानव स्वास्थ्य सुधार्नुका साथै वातावरण संरक्षणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
    दुई दिनसम्म सञ्चालन भएको तालिममा कृषि ज्ञान केन्द्र इलाम का प्राविधिक कर्मचारीहरूले सहजीकरण गरेका छन्। कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत प्रदीप लुइँटेल तथा सहायक बागवानी अधिकृत कुलबहादुर राईले सहभागी किसानहरूलाई प्रयोगात्मक र सैद्धान्तिक ज्ञान प्रदान गर्नु भएको थियो ।
    रासायनिक विषादी र मलको प्रयोग दीर्घकालीन रूपमा दिगो नहुने  किसानहरूलाई टोलस्तरबाटै अर्गानिक खेतीतर्फ आकर्षित गर्ने सकारात्मक सुरुवात भएको स्थानीय बताउछ्न ।

    यसैबीच नवजागृती समुहको पहलमा  कृषि ज्ञान केन्द्र इलाम बाट तालीममा सहभागी ४०जना किसानलाई झाेल मल साथै जाैविक बिसादि बनाउने सामग्री उपलब्ध गराएको जनाइएको छ ।



    निगरानी    
  • २०८३ जेष्ठ १४, बिहीबार २०:१६ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP