logo
  • २०८३ बैशाख १६, बुधबार | Wed, 29 Apr 2026
  • सूर्योदय नगरपालिकाको नीति तथा बजेट सार्वजनिक

    • निगरानी
    • २०८२ श्रावण १९, सोमबार १६:३६ गते
    सूर्योदय नगरपालिकाको नीति तथा बजेट सार्वजनिक

    फिक्कल, १९ साउन । सूर्योदय नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट सोमबार एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ। फिक्कल माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा नगर प्रमुख रण बहादुर राईको अध्यक्षता रहेको थियो ।

    समारोहका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य महेश बस्नेत, ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनलगायतले संयुक्त रूपमा बजेट सार्वजनिक गरे ।

    सांसद बस्नेतले स्थानीय सरकार जनताको नजिकको सरकार भएकाले त्यसले जनअपेक्षा अनुसार सेवा दिनुपर्ने बताउँदै तीनै तहको सरकारको समन्वय आवश्यक रहेको धारणा राखे। स्रोत साधनको अभावका कारण अपेक्षा अनुरूपको सेवा दिन नसकेको भन्दै उनले संघीय सरकारले साना योजना र सांसद विकास कोषका बजेट कटौती गर्दा जनप्रतिनिधिहरू आलोचित बन्नुपरेको उल्लेख गरे।

    ललितपुरका मेयर महर्जनले सूर्योदय नगरपालिकाका असल अभ्यासहरू आफूहरूले अनुसरण गर्ने बताएका थिए। उनले खरिद ऐन र न्यूनतम लागतमा ठेक्का दिने प्रणालीले स्थानीय सरकारलाई गुणस्तरीय काम गर्न अवरोध पु¥याएको उल्लेख गरे।

    नगर प्रमुख राईले १७ औं नगर सभाबाट पारित नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा पूर्वाधारलाई प्राथमिकता दिइएको जानकारी गराए । यस वर्षको बजेट एक अर्ब ४० करोड भन्दा बढी रहेको उपमेयर दुर्गा कुमार बरालले जानकारी दिए ।

    कार्यक्रममा विभिन्न १६ विधामा उत्कृष्ट योगदान दिने व्यक्ति तथा संस्थालाई सम्मान गरियो । सम्मानीत हुनेमा डा विवेक कट्टेल, गायक भुपेन्द्र राई, उद्यमी संगीता कामी र सरण राई, उत्कृष्ट कृषक सिता देवि अधिकारी, उत्कृष्ट गणित शिक्षक भुपेन्द्र अधिकारी, उत्कृष्ट विज्ञान शिक्षक दिपेन्द्र आचार्य, उत्कृष्ट विद्यार्थी नामसाम राई र आशिका राई, खेल क्षेत्रमा उत्कृष्ट योगदान गरेवापत जिल्ला खेलकुद विकास समिति इलामका अध्यक्ष खगेन्द्र बास्तोला, उत्कृष्ट कर्मचारी योजना अधिकृत खेमराज राई, अधिकृत छैटौ लेखा सृर्जना विष्ट, न्याय सम्पादन तर्फ लेखनाथ दहाल, स्वास्थ्यकर्मी तर्फ स्टाफ नर्स विना लेप्चा, उत्कृष्ट सञ्चारकर्मी मनोज अधिकारी सहित वाड न ७ को अम्बिटार सिरवानी टोल विकास संस्था, सूर्योदय १ को महेन्द्रदय आधारभुत विद्यालय, पर्यटन क्षेत्रमा योगदान गरेवापत सूर्योदय ५ को होटल हिल टावर रहेका छन् । संविधानसभा सदस्य सूर्यवाला राई, प्रदेश सांसद खिनु लङवा लिम्बु, जिल्ला समन्वय समिति प्रमुख जय प्रकाश राई, नगर उपप्रमुख दुर्गा कुमार बराल, नेपाली कांग्रेसका नगर उपसभापती रमेश प्रधान, नेकपा एमालेकी नगर अध्यक्ष दुर्गादेवि भट्टराई लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले बजेट कार्यान्वयनका सन्दर्भमा धारणा राखेका थिए ।

    सांगीतिक र सांस्कृतिक कार्यक्रमले समारोहलाई थप आकर्षक बनाएको थियो ।



    निगरानी    
  • २०८२ श्रावण १९, सोमबार १६:३६ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP