इलाम । नेपाली काँग्रेस जिल्ला कार्य समिति इलामले असोज ७ गतेका लागि आह्वान गरेको बैठक गणपुरक संख्या नपुग्दा औपचारिक रूपमा बस्न सकेन । तर, अनौपचारिक छलफल भने भएको छ ।
बैठकमा सहभागी सदस्यहरूले हालको समसामयिक परिस्थिति, जिल्ला अधिवेशन, आर्थिक प्रतिवेदन तथा नेतृत्वको कार्यशैलीबारे खुला धारणा राखेका थिए । विशेषगरी निवर्तमान कार्य समितिले लेखा परीक्षणसहितको आर्थिक प्रतिवेदन उपलब्ध गराउन नसकेको र सोही कारण उठाउनुपर्ने लेवी रकम पनि नउठेको विषयमा व्यापक असन्तुष्टि व्यक्त भएको थियो।
महासमिति सदस्य भेषराज आचार्यले नेतृत्वको कार्यशैलीमा आमूल परिवर्तनको आवश्यकता औंल्याउँदै आत्मालोचना, गल्ती स्वीकार गर्ने साहस र भावनात्मक एकताको जरुरी रहेको बताए । उनले पार्टी विधान विपरीत गरिएका गतिविधि, भ्रातृ संस्थामा भएको हस्तक्षेप, आर्थिक अपारदर्शिता तथा मनोमानी निर्णयले पार्टी संगठन कमजोर बनेको टिप्पणी गरे ।
सचिव पूर्ण प्रसाद गौतमले जिल्ला कार्य समितिको अपारदर्शी र मनोमानीपूर्ण कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै, विधान विपरीत भएका गतिविधिले असन्तुष्टि बढाएको बताए । उनले आत्मकेन्द्रित व्यवहारले पार्टीलाई संगठित बनाउन नसक्ने उल्लेख गर्दै तत्कालीन, अल्पकालीन र दीर्घकालीन कार्य योजना बनाएर सामूहिक रूपमा अघि बढ्नुपर्ने धारणा राखे।
त्यस्तै, सदस्य दुर्गा बरालले आर्थिक पारदर्शिता कायम नगरेसम्म र पदाधिकारी चयनमा क्षेत्रीय सन्तुलन ख्याल नगरेसम्म पार्टी थप संकटमा पर्न सक्ने चेतावनी दिए ।
बैठकमा जिल्ला सभापति डम्बर खड्का, उपसभापति खगेन्द्र देवान, सचिव निरोज खड्गी लगायतको उपस्थिति रहेको थियो । इलाम काँग्रेसको बैठकमा सभापति खड्का सहितका व्यक्तिहरूमाथि विधान विपरीत पार्टी र भ्रातृ संगठन चलाएको आरोप लाग्ने गरेको पनि सहभागीहरूले बताएका छन् । नेतृत्वको गलत कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अधिकाँस जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यले बैठक बहिष्कार गर्ने गरेको जानकारी प्राप्त भएको छ ।
विशेष सूत्रका अनुसार, कोषाध्यक्षसम्बन्धी विवाद अझै समाधान नभएको र विधानसम्मत सहमति नजुटेकै कारण केही सदस्यहरूले बैठकमा उपस्थित भए पनि हस्ताक्षर नगरेको बताइन्छ।
नेतृत्वको कार्यशैली, आर्थिक अपारदर्शिता र संगठनात्मक कमजोरीबारे बढ्दो असन्तुष्टि देखिएको यस बैठकलाई पार्टी पुनर्गठन र रूपान्तरणको दिशामा महत्वपूर्ण संकेतका रूपमा लिइएको छ।
प्रतिक्रिया