इनपाका सबै वडाका बिद्यालयलाई सेल्फ क्वारेन्टाइनका लागि तयारी

कोरोना भाइरसको प्रकोप रोकथाम र नियन्त्रणका लागि इलाम नगरपालिकाले प्रत्येक वडामा रहेका विद्यालयलाई सेल्फ क्वारेन्टाइनका लागि तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

२५ जना सम्मलाई राख्ने गरी भवनको व्यवस्थापन मिलाउन वडा नम्बर १ को नेपालटार मावि र जनता आधारभूत बिद्यालय, वडा नम्बर २ को सुम्बेक मावि, वडा नम्बर ३ को विणापानी मावि, वडा नम्बर ४ को बालमण्डल मावि र सिद्धेश्वरी आधारभूत बिद्यालय, वडा नम्बर ५ को ५ मा अमर मावि र रिब्स स्कूललाई तोकिएको छ । यस्तै वडा नम्बर ६ का प्रज्ञासदन र जनकल्याण आधारभूत बिद्यालय, वडा नम्बर ७ को आदर्श मावि, वडा नम्बर ८ को बिद्या आधारभूति बिद्यालय र महेन्द्रोदय आधारभूत बिद्यालय, वडा नम्बर ९ को भगवती मावि, वडा नम्बर १० को नन्द मावि र पूर्ण स्मारक मावि, वडा नम्बर ११ को बालकन्या मावि र महेश्वरा आधारभूत बिद्यालय तथा वडा नम्बर १२ को साङ्गरुम्वा मावि र रत्नलक्ष्मी आधारभूत बिद्यालयलाई तोकेको छ । यस्तै इलाम नगरपालिका वार्ड नम्बर ६ मा रहेको डा. मेघबहादुर पराजुली सामुदायिक अस्पताललाई आइसोलेसन वार्डको रुपमा प्रयोग गर्नका लागि तयारी अवस्थामा राख्ने निर्णय गरेको इलाम नगरपालिकाले जनाएको छ ।

सो अस्पतालमा सि अहेब दिपक पौडेलको नेतृत्वमा हेल्थ असिस्टेन गीता राई, अनमी सुनिता बस्नेतलाई परिचालन गरी इलाम अस्पताललाई सहयोगको लागि अनुरोध गर्ने निर्णय भएको नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहले जानकारी दिनुभयो । यसैगरी सर्वसाधारणलाई सुलभ ढङ्गले मास्क उपलब्ध गराउन नेपाल कपडा सिलाई व्यवसायी संघ इलामको सहयोगमा १५ हजार मास्क खरिद गर्ने समेत निर्णय भएको छ ।