इलामः इलामको सूर्योदय नगरपालिकाले कोरोना भाईरस (कोभिड १९) को प्रभाव रोकथामका लागि भएको लकडाउनको समयमा गरिबलाई बाढ्न ल्याएको ८ हजार किलो भन्दा बढि चामल सहितका सामग्री समयमा वितरण गरिनसक्दा खान अयोग्य भएको छ ।
नगरले एक चरण चामल वितरण गरेपनि त्यसपछि वितरण गर्ने व्यवस्था नगरेको कारण आठ हजार ६७५ किलो चामल, १५० किलो दाल खान अयोग्य भएको हो ।
नगरले पहिलो चरणमा २१ हजार ६०५ किलो चामल वितरण गरेपछि रहेको चामल थन्क्याएको थियो । पहिलो चरणमा एक हजार ४६० किलो नुन, दुई हजार थान साबुन, एक हजार ४६० लिटर खाने तेल वितरण गरेको विपद व्यवस्थापन समिति सूर्योदय नगरपालिकाका सचिव इश्वरी अधिकारीले बताए । उनले बाकी चामल र दाल स्टोरमा रहेपनि खान अयोग्य रहेको बताए ।
यस अघि कोरोनाको खर्च सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा चामलको विषयमा कुरा उठाउँदा सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले चामल खान अयोग्य रहेको बताएको कार्यक्रममा सहभागि मिलन क्षेत्रीले जानकारी दिए ।
नगरले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको कोरोना कोष मार्फत असार मसान्त सम्ममा क्वारेन्टाईन निर्माण, स्वास्थ्य सामग्री खरीद, राहत बितरण , क्वारेन्टाईनमा बस्नेलाई खाना खर्च , यातायातमा ७५ लाख ६६ हजार ७ सय ८ रुपयाँ खर्च भएको नगरले जनाएको छ ।
नगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा संघीय सरकार , प्रदेश सरकार , जिल्ला प्रशासन कार्यालय इलाम, नगरका जनप्रतिनिधि, कर्मचारी, र बिभिन्न संघ संस्था तथा ब्यक्तिबाट गरी ८७ लाख ९ हजार २७ रुपियाँ जम्मा भएको थियो । असार मसान्त सम्ममा १० लाख पाँच हजार ९८ रुपियाँ कोषमा बचत रहेको नगरपालिकाले जनाएको छ । नगरले त्यस पछिको हिसाव सार्वजनीक गरेको छैन ।
प्रतिक्रिया