इलाममा क्वारेन्टाइन थप गर्न पालिकालाई समितिको निर्देशन

चैत २८, इलाम । कोरोना भाइरसको रोकथाम तथा लकडाउन लम्बिएसंगै इलामका बिभिन्न पालिकामा क्वारेन्टाइन थप गर्नका लागि पहल थालिएको छ । यसका लागि शुक्रबार प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुख सहितको टोलिले जिल्लाका तीनवटा स्थानीय तहको संभावित क्षेत्रको अध्ययन गरेको छ ।

अध्ययनको क्रममा सूर्योदय नगरपालिका स्थित पशुपतिनगरमा कम्तिमा पनि ८० बेडको क्वारेन्टाइन निर्माण गर्न नगरपालिकालाई अनुरोध गरेको जिल्ला स्तरीय कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापन समितिका सुचना अधिकारी सफल पोर्तेलले जानकारी दिनुभयो । हाल पशुपतिनगर स्वास्थ्य केन्द्रको पुरानो भवनमा १५ शैयाको क्वारेन्टाइन रहेको छ । अब त्यसलाई ८० बेडको बनाउनका लागि नगरपालिकालाई अनुरोध गरेको हो । त्यसका लागि प्राथमिक स्वास्थ्य केन्द्रको भवन र केन्द्रको नजिकै रहेको एक बिद्यालयमा क्वारेन्टाइन बनाउन सकिने समितिले नगरपालकालाई सुझाएको छ । पशुपतिनगर इलामकै प्रमुख सिमावर्ती नाका भएकाले उक्त क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाउन पनि बढि भन्दा बढि क्वारेन्टाइन आवश्यक रहेको पोर्तेलको भनाई छ । यस्तै रोङ गाउँपालिकाको शान्ति निकेतन माविमा पनि थप क्वारेन्टाइन निर्माण गर्न गाउँपालिकालाई अनुरोध गरेको बताइएको छ भने चुलाचुली गाउँपालिका स्थित चुलाचुलीको जनता माविमा पनि ५० बेड सम्मको क्वारेन्टाइन बनाउन पालिकालाई अनुरोध गरेको छ ।

उक्त स्थानमा हाल १० वटा बेडको क्वारेन्टाइन रहेपनि त्यसमा ४० बेड थप गर्न आग्रह गरेको हो । क्वारेन्टाइन बनाउन पालिकाहरुको श्रोत साधनले धान्न नसक्ने अवस्था रहेपनि अहिलेको अवस्थामा महामारीको रोकथाम र यसबाट बच्नका लागि पनि क्वारेन्टाइन थप गरेर लैजानु अत्यावश्यक रहेको पोर्तेलले बताउनुभयो ।