अबको तीन दिनसम्म नै पानी पर्ने

अबको तीन दिनसम्म नै पानी पर्ने

काठमाण्डाै , असार २८ । अबको तीन दिन नै पानी पर्ने सम्भावना रहेको मौसमबिदले बताएका छन् । केही दिनयता देशभर पानी परिरहेकोले यो क्रम तत्काल रोकिने अवस्था नरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार लगातार झरी पर्ने सम्भावना भने छैन तर पानी पर्दै रोकिने क्रम भने अझै केही दिन चलिरहने छ ।
बङ्गालको खाडीबाट जलवाष्युक्त हावा नेपाल भित्रिरहेकाले पनि मनसुन थप सक्रिय भएको छ । गएराति प्रदेश-१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ । रुपन्देहीमा एक सय मिलीमिटर पानी परेको छ । यस्तै, डडेल्धुरामा १ सय १० मिलीमिटर, डोटीमा ८८ मिलीमिटर र नवलपरासीमा ९७  मिलीमिटर वर्षा भएको मापन गरिएको छ ।
सोमबार पनि प्रदेश-१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् नगरकोटीले बताउनुभयो । प्रदेश-२, लुम्बिनी र कर्णाली प्रदेशमा भने हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद् नगरकोटीले बताउनुभयो ।