खनालको क्षेत्रमा कांग्रेस नेता पाण्डेले स्वतन्त्र उम्मेदवारी दिने

खनालको क्षेत्रमा कांग्रेस नेता पाण्डेले स्वतन्त्र उम्मेदवारी दिने


इलामः सत्ता गठबन्धनको एक घटक नेपाली कांग्रेसका पुराना नेता विक्रम पाण्डेले नेकपा एकिकृत समाजवादीका वरिष्ठ नेता झलनाथले पुनः उम्मेद्धारी दिने चर्चा चलिरहेको इलामको संघिय निर्वाचन क्षेत्र न १ मा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।
चालीस बर्ष भन्दा बढि नेपाली कांग्रेसमा योगदान गरेका पाण्डेले नेता खनालको नेतृत्वमा ईलाम क्षेत्र न १ विकासमा पछि परेको भन्दै आफुले उम्मदवारी दिन लागेको बताए । उनले लोकतन्त्रमा विश्वास गर्ने हरेक व्यक्तिले आफुलाई मतदान गर्ने बताए ।
पञ्चायतकाल देखि नै नागरिकको पक्षमा वकालत गर्ने पाण्डे राजनीतिक चेत पलाउन शुरु भएपछि राजतन्त्रका कट्टर विरोधीका रुपमा प्रस्तुत भए । उनी भन्छन् ‘जानेर नजानेर सानै देखी प्रजातन्त्रमा आस्था थियो ।’ पञ्चायतकालमा दुग्ध विकास बोर्ड मार्फत दुग्ध चिस्यान केन्द स्थापना देखि कृषिका कतिपय सुधारमा उनले सकारात्मक प्रयास गरीरहे । विचार उत्तेजक मन्तव्य र प्रभावकारी विचारका कारण धेरै विच परिचित पाण्डेल २०३६ साल यताका सबै जनआन्दोलनमा नेपाली काग्रेसको तर्फबाट सकृय सहभागिता देखाएका छन् ।
उनले कांग्रेस लोकतान्त्रीक शक्ति भएकाले नै त्यसमा बसेर सेवा गरेको बताए । पछिल्लो समयमा कांग्रेसमा प्रजातान्त्रीक संस्कार नै हराएको उनको टिप्पणी छ । उनले भने ‘कांग्रेसको आन्तरीक लोकतन्त्र अहिलेपनि मुर्छित अवस्थामा छ ।’ कांग्रेस भित्र मौलाएको दास प्रवृतीको कारण दिक्क भएर आफु स्वतन्त्र भएको उनले बताए ।
राजनीति पदका लागि हैन देशको सेवाका लागि हुनुपर्ने उनको भनाई छ । देश अप्ठ्यारोमा परेको समयमा भाग्नु भन्दा पनि देशको सेवाका लागि केही गर्न स्वतनत्र उम्मेद्धारी दिएको उनले बताए । ‘मैले इमान्दार साथ काम गरेकाले जनताले मेरो आवाजलाई सुन्नु हुने छ र मलाई मतदान गर्नुहुने छ भन्ने विश्वास लिएको छु ।’ पाण्डेले भने ।
उनले नेकपा एकिकृत समाजवादीको वरिष्ठ नेता झलनाथ खनालले लामो समय क्षेत्र न १ मा नेतृत्व गरेपनि सिमानामा किसानले भोग्ने समस्या देखि घर घरमा तीन दशक देखि भोगि रहेका समस्या समाधानका लागि केही पनि गर्न नसकेको कारण जनतालाई बैकल्पिक नेतृत्व छान्ने अवसरका रुपमा आफुले उम्मेद्धारी दिन लागेको बताए । खनाल क्षेत्र न १ को विकासको तगारोको रुपमा रहेको उनले बताए ।
२०३६ सालमा आई एक्सी पास गरेका ६९ बर्षिय पाण्डे कार्यक्रम सहित जनता माँझ जान लागेको बताउँछन् ।
नेम्वाङ विरुद्ध स्वतन्त्र उम्मेद्धार
इलाम संघिय निर्वाचन क्षेत्र २ बाट इलामका युवा ब्यवसायी तथा समाजसेवी केशव खनालले उम्मेद्धारी दिने भएका छन् । दुई दशक अघिदेखी एकलौटी निर्वाचन जित्दै आएका एमाले नेता सुवासचन्द्र नेम्वाङसँग प्रतिष्पर्दा गर्न खनालले उम्मेद्धारी दिने घोषणा गरेका छन् ।
स्वतन्त्र उम्मेद्धारका रुपमा आफुले उम्मेद्धारी दर्ता गराउने उनले बताए । इलामको क्षेत्र नम्वर दुईमा पर्याप्त विकास हुन नसक्दा जनताले दुख पाएको भन्दै विकास र समृद्धिका लागि आफ्नो उम्मेद्धारी भएको उनले बताए ।
इलाम क्षेत्र नम्वर दुईको फाकफोकथुम गाउँपालिका ४ फुएतप्पा स्थाई घर भएका खनाल आफ्नो क्षेत्र तुलनात्मक रुपमा निक्कै पछि परेको बताउँछन् ।
सो क्षेत्रबाट निर्वाचित नेम्वाङ नेकपा एमाले संसदिय दलका उपनेता हुन् । तर उनले आफ्नो निर्वाचन क्षेत्रमा विकासका लागि दुइ प्रतिशत समेत विकास गर्न नसकेको खनालको भनाई छ ।
केशवका दाजु उनै सुवासचन्द नेम्वाङका करिव दुई दशकसम्म निरन्तर स्वकिय सचिवमा रहेर काम गरिसकेका छन् । केशवका दाजु हाल माई नगरपालिका ७ का वडाध्यक्ष छन् । गएको बैशाख ४ गते सम्पन्न स्थानिय तहको चुनावमा माई नगरपालिका ७ बाट निर्वाचित बुद्धि खनाल केशव खनालका सहोदर दाई हुनन् । तर पनि राजनैतिक दलले देशमा विकास गर्न नसकीरहेको आरोप लागिरहेका बेला केशव खनालले समेत स्वतन्त्र रुपमा उम्मेद्धारी घोषणा गरेका छन् ।
केशव खनाल समेत नेकपा एमाले इलामको बिभिन्न पदमा रहेर काम गर्दै आएका छन् । विस २०५३ सालमा एमालेको विद्यार्थी संगठन अखिलको इलाम नगरपालिकाको संस्थापक कोषाध्यक्ष भए । पछि नेकपा एमाले इलामकै उद्योग तथा वाणिज्य बिभागको जिल्ला सदस्य बने । पछिल्लो समय एमाले इलाम नगरपालिका नगरकमिटी सचिवालय सदस्य पदबाट राजिनामा दिएका छन् ।