इलाम: इलामका दुई संघीय निर्वाचन क्षेत्र र ४ प्रदेश क्षेत्रको चुनावी परिणम आइसकेको छ । लामो दौडधुप पछि सफलता हात पारेका उम्मेदवार अहिले कतै सभा र र्याली गर्दै मतदातालाई धन्यवाद व्यक्त गर्दैछन् । इलाम क्षेत्र न १ (२) का प्रदेश सांसदमा विजयी समशेर राई भने श्रमजिवीलाई भेटेर खुसी साटासाट गरिरहेका छन् ।
नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्यमा विजयी समशेर राई मंगलबार बिहानै सूर्योदय नगरपालिकाको पर्यटकीय गन्तव्य कन्याम पुगे । उनले ठेलामा व्यवसाय गर्ने साना व्यवसायी, घोढचडी व्यवसाय गर्ने र चिया बगानमा काम गर्ने मजदुरलाई खदा लगाउँदै धन्यवाद भने ।
अब गाउँगाउँ पुगेर किसान र मजदुरलाई भेट्ने योजना बनाएको उनले सुनाए । हातमुख जोड्न दु:ख गर्ने समूदायका कुरा सुनेर उनीहरूको माग र चाहना अनुसार आफूले काम गर्ने प्रतिद्धता पनि दोहोर्याए ।
पहिलो पटक आफूले मतदान गरेको उम्मेदवार काम गरिरहेकै ठाउँमा आएर धन्यवाद दिँदा मतदाता पनि खुसी भए । नयाँ अनुभूति भएको बताए ।
कन्यामस्थित घोडचडी व्यवसायी संघका अध्यक्ष प्रेम तामाङले पहिलो पटक उम्मेदवार नै विजयी भएपछि आफूलाई भेट्न आउने पहिलो नेता भएको र धेरै खुसी लागेको सुनाए । राईले जनताको भावना बुझेर काम गर्ने अपेक्षा सुनाए ।
निर्वाचित राईले ठूला ठूला कार्यक्रम गर्ने पुरानो परम्परा तोडेर गरिखाने वर्गको समस्या बुझ्न निस्किएको बताए । उनले भने, ‘सपथ खाएपछि उहाँसँग आएर सानाभन्दा साना समस्या सुनेर तिनीहरूको हल खोज्नेछु । मेरो क्षेत्रका मतदाताले आधारभूत आवश्यकता पूरा गर्ने मेरो पहिलो जिम्मेवारी रहनेछ ।’
कन्यामका मजदुरले चुनाव अघि आफुलाई भोट बैंक मात्रै बनाएको गुनासो गरेका थिए । कारखानाले श्रम ऐनले तोकेबमोजिम तलब सुविधा नदिएको उनीहरूले गुनासो गरेका थिए । ती समस्याको छलफलबाट हल निकाल्ने राईले बताए ।
चिया मजदूरको पीडा उस्तै
कन्याम चिया बगानमा १७ वर्षको उमेरदेखि चिया टिपेकी सोममाया राई अहिले ६० वर्ष पुगिन् । चिया टिपेर घर व्यवहार त चल्यो तर काम छोडेर थकाइ मार्ने उमेरमा पनि उनको पिठ्युमा चियाको डोकोले छोडेको छैन ।
इलामका सरकारी स्वामित्वका चिया बगानमा अहिले दलहरूको प्राथमिकता घटेको श्रमिकको अनुभव छ ।
कन्याम, इलाम, सोक्तिम र चिलिमकोट चिया बगानका मजदुरले सरकारले राजपत्रमा प्रकाशन गरेको ज्याला समेत नपाएको गुनासो गर्ने गरेका छन् । राईले समस्या समाधानका लागी सबै प्रकारको सहयोग गर्ने बताए ।
सरकारले तोकेको ज्याला झापाका बर्ने, टोक्ला र बाह्रदशी चिया बगानका मजदुरले मात्र पाएपछि पहाडका मजदुरमाथि भएको विभेदको समाधान गर्न सबै दल असक्षम भएको मजदुरको गुनासो छ ।
चिया विकास निगम अन्तर्गतको संघाइ समूहलाई ठेक्कामा दिएपछि मजदुरका पक्षमा बोल्ने क्षमता सरकारले पनि गुमायो भन्दै मजदूरले आक्रोश पोखेका थिए ।
बगान व्यवस्थापनले त्यहाँका कारखना बाहिर काम गर्ने श्रमिकलाई दैनिक ४१४ रुपैयाँ ज्याला दिन्छ । एक मजदुर नेताका अनुसार श्रम ऐन अनुसार दैनिक ज्याला ४३५ रुपैयाँ पाउनुपर्छ । कारखाना भित्र काम गर्ने मजदुरले ४९० पाउनु पर्नेमा ४५६ रुपैयाँ मात्रै पाउँदै आएका छन् ।
कन्याम चिया बगानमा अहिले स्थायी कामदार घट्ने क्रममा रहेको मजदुर संगठनहरुले जनाएका छन् । कन्याम चिया बगानमा ६१ जना करारका श्रमिक छन् । अरु दैनिक ज्यालामा काम गरिरहेका छन् । त्यहाँ अहिले करिब १५० मजदुर छन् ।
बगान छोडेका कामदारले अहिले दैनिक कम्तिमा सात सय कमाउँछन् । सिजनमा बगानकै मजदुर पनि गाउँका नीजि बगानमा चिया टिपेर दैनिक एक हजारसम्म कमाउने गरेका छन् । कतिपयले काम नहुँदा मात्र बगानमा आउने गरेको बताए ।
जिल्लाका कन्याम, इलाम, शोत्तिम र चिलिमकोट चिया बगानबाट हजारको हाराहारीमा श्रमिक विस्थापित भइसकेका छन् । अहिले संघाई समूहले लिएका सात बगानमा करिब ७०० स्थायी श्रमिक छन् । व्यवस्था पन ती श्रमिकसमेत हटाउने रणनीतिमा रहेको श्रमिक संगठनका नेताले बताएका छन् ।
सरकारी स्वामित्वका यी चिया बगान र कारखाना २०५७ सालमा चिया बगान र कारखाना निजीकरणसँगै मजदुर विस्थापित भएका छन् । निजीकरण गरिएपछि व्यवस्थापन पक्षले दैनिक ज्याला, बिदा र सेवा सुविधामा कटौती गरेपछि परिवार पाल्नै नसक्ने अवस्था आएपछि मजदूरले विकल्प खोज्न थाले ।
४७३ स्थायी मजदुर रहेको देशको ठुलो अर्थोडक्स चिया उत्पादन गर्दै आएको कन्याम चिया बगानमा यतिबेला ६१ मजदुर छन् । त्यस्तै १६५ जना स्थायी मजदुर इलाम चिया बगान, शोक्तिम, चिलिमकोट चिया बगानमा पनि केही मजदुर मात्र स्थायी छन् ।
सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल चिया विकास निगम २०५७ सालमा संघाई ग्रुपलाई ५० वर्षका लागि भाडामा दिएपछि मजदुर मारमा परेको गुनासो गर्दै आएका छन् । विस्थापित मजदुर भारतको दार्जिलिङ्ग, सिक्किम, गान्टोक, भारतका कोइला खानी र खाडी मुलुकमा पुगेका छन् ।
चियाको समस्या समाधान गर्न प्राथमिकताका साथ काम गर्ने इलाम क्षेत्र न १ का नवनिर्वाचित सांसद महेश बस्नेतले बताएका छन् । उनले मतदातालाई धन्यवाद दिँदै भनेका थिए, ‘म यहाँका सानाभन्दा साना समस्याको समाधान गर्नेछु । यहाँका जनताका प्राथमिकताका विषय मेरो प्राथमिकतामा रहनेछन् ।’
नेकपा एमालेका तर्फबाट नेकपा एकीकृत समाजवादीका सम्मानीत नेतालाई पराजित गरेका बस्नेतले पनि मंगलबारदेखि मंसिर २४ सम्म गाउँमा बिताउने योजना बनाएका छन् ।
इलाम क्षेत्र न १ (१) बाट विजयी नेकपा एकीकृत समाजवादीकी नेतृ खिनु लङवा लिम्बुले पनि आफ्नो निर्वाचन क्षेत्रमा मतदाता भेटघाट गर्ने योजना बनाएको बताइन् । उनले फिक्कलमा आयोजित कार्यक्रममा मतदाताको आकांक्षा अनुसारको काम गर्ने बताइन् । अन्नपुर्ण पोष्टबाट
प्रतिक्रिया