इलाम २:सबैको जित्ने दावी

इलाम २:सबैको जित्ने दावी

इलाम : गत भदौ २६ गते नेकपा एमाले उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधन भएपछि हुन लागेको उपनिर्वाचनका लागि इलाम-२ मा उम्मेदवार बन्ने सबैको दाबी छ- ‘जनताको मन मैले नै जित्ने हो।’
गत वर्षको मंसिर ४ गते सम्पन्न निर्वाचनको समानुपातिकतर्फ ५८६ मत प्राप्त गरेको नेकपा एकीकृत समाजवादीका वरष्ठि नेता झलनाथ खनालले आफ्ना उम्मेदवार जितबहादुर राई जित्ने दाबी गरे। ‘उहाँ (जितबहादुर राई) भूगोल बुझेका उम्मेदवार हुन्। जनताले हामीलाई विजयी गराउँछन्,’ उनले भने। राईले इलाम-२ को भूगोल र समस्या बुझेको उम्मेदवार भएकाले यसपटक आफूले सबै उम्मेदवारलाई उछिन्ने दाबी गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङले पनि जनताको आवश्यकताअनुसार काम गर्ने योजना सुनाउँदै आफूले नै जित निकाल्ने दाबी गरे। गत निर्वाचनमा राप्रपाले सो क्षेत्रबाट समानुपातिकमा ११९१  मत प्राप्त गरेको थियो प्रतयक्षतर्फ भने उसले ५१० मतमात्र ल्याएको थियो।
तामझामसहित मनोनयनमा आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बुले आफ्नो पार्टीले पहिचानको मुद्दालाई स्वीकार  गरेरै आफूलाई उम्मेदवार बनाएको प्रष्ट पारे। उनले आफूले विजयको माला पहिरने दाबीसमेत गरे। श्रम मन्त्रीसमेत रहेका उपसभापति डोरप्रसाद अर्यालले भुगोलका भूमिपुत्रलाई उम्मेदवार बनाएकाले त्यस क्षेत्रका जनताले विजय दिलाउने दाबी गरे। 

पहिचानवादी उम्मेदवारको रूपमा चर्चा कमाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम उम्मेदवारहरूमध्येकै शिक्षित र राम्रा उम्मेदवारका रूपमा मानिन्छन्। पहिचानवादीहरू उनको उम्मेदवारीलाई ‘कोशी प्रदेशसँग जोडिएको पहिचान आन्दोलनको जनमत संग्रह’को रूपमा चर्चा गरिरहेका छन्। थेगिङ भन्छन्, ‘पहिचना र भूगोलको विकासका लागि मलाई नै नागरिकले मत दिनेछन्।’

स्वर्गीय सुवासचन्द्र नेम्वाङ पुत्र सुहाङले नेकपा एमालेबाट उम्मेदवारी दर्ता गराएका छन्। उनलाई नेकपा माओवादीको समेत साथ छ। मनोनयन दर्ताको क्रममा यसअघि माओवादीबाट उम्मेदवारका लागि सिफारिसस भएका धिरेन्द्र शर्मासमेत साथमै थिए। सुहाङले मनोनयनअघि नै पार्टीले सञ्चालन गरेको घरदैलो अभियानमा नागरिकले एमालेलाई नै मत हाल्ने जाँगर देखाएको दाबी गरे। उनले अरु उम्मेदवारलाई कमजोर नठाने पनि जनताले आफूलाई सांसद बनाउने दाबी गरे। 

गत निर्वाचनमा एमालेले २६ हजार ५६२ मत पाएको थियो भने प्रत्यक्षतर्फ नेम्बवाङले ३० हजार २० मत पाएका थिए। यसपटक समानुपातिकमा ५ हजार १५३ मत पाएको माओवादी पनि एमालेलाई नै मत दिन तयार भएको छ। यसअघि माओवादीको मत कांग्रेसका उम्मेदवार डम्बर खड्काले पाएका थिए। माओवादी नेता-कार्यकर्ताले भने भने स्वतन्त्र उम्मेदवार थेगिमको पक्षमा नारा लगाएका थिए।

उम्मेदवारको रस्सकसीबीच टिकट हत्याएका नेपाली कांग्रेस इलामका सभापति डम्बरबहादुर खड्काले उम्मेदवारको मनोनयन दर्तापछि जनताको सुखदुःखमा साथमै रहने बताए। ‘भुगोल बुझेको छु। समस्या सबै थाहा छ। मतदाताले मलाई नै जिताउँछन्,’ उनको दाबी छ। 

खड्काको छेउँमै बसेका नेपाली कांग्रेसको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले इलाममा कांग्रेस एक ढिक्का भएकाले खड्काले जित्ने दाबी गरे। उनले भने ‘सबैसँग परिचित खड्काको विकल्पमा अर्को उम्मेदवार हुन सक्दैन।’ खड्काले अघिल्लो निर्वाचनमा २९ हजार ९०६ मत पाएका थिए। 

शनिबार इलाममा भएको मनोनयन दर्ताका क्रममा अर्जुन कुमार शाही (स्वतन्त्र), केशब कुमार चाँपागाई (स्वतन्त्र), गणेश बहादुर चौहान (राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल), जयवन्त विक्रम शाह (राष्ट्रिय मुक्ति आन्दोलन नेपाल), डाक प्रसाद गौतम (स्वतन्त्र), दिनेश बोहोरा (स्वतन्त्र), धनराज मगर (नेशनल रिपव्लिक नेपाल), प्रेम कुमार थाम्सुहाङ (जनमत पार्टी) मनिबहादुर लिम्बु (मंगोल नेशनल अर्गनाइजेशन), मनोज निरौला (स्वतन्त्र), योगेन्द्र गुरुङ(स्वतन्त्र), राज वश्याल (स्वतन्त्र), रेशम बहादुर सुनार (नेपाल जनता दल), श्याम बहादुर दर्जी (नेपाल मजदुर किसान पार्टी) सहित २० जनाले मनोनयन दार्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।