logo
  • २०८१ आश्विन १७ | Thu, 03 Oct 2024
  • रूपान्तरण नेपालसँग भएको सम्झौता माग : बा सँग बालबालिका कार्यक्रम र अघिल्लो समितिमा आर्थिक हिनामिना भएको आशंका !

    रूपान्तरण नेपालसँग भएको सम्झौता माग : बा सँग बालबालिका कार्यक्रम र अघिल्लो समितिमा आर्थिक हिनामिना भएको आशंका !

    झापा । झापाको कनकाई बाल सञ्जालले ‘बा’ सँग बालबालिका कार्यक्रम सम्झौता गर्दा आर्थिक अनियमितता भएको आशंका गरेको छ । कनकाई नगरपालिकाले झापा जिल्ला बाल सञ्जालसँग उक्त कार्यक्रम गर्दा भएको आर्थिक सम्झौताको विषयमा सञ्जालले प्रश्न उठाएको छ । उक्त सम्झौता सार्वजनिक गर्न सञ्जालले माग गरेको छ ।

    कनकाई बाल सञ्जालको शुक्रवार नगरपालिकाको सभा हलमा गरेको छलफलले उक्त सम्झौता माग गर्ने निर्णय गरेको अध्यक्ष अश्लेषा कँडेलले जानकारी दिइन् । ‘बा’ सँग बालबालिका कार्यक्रम पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लक्षित कार्यक्रम हो । सम्झौता बमोजिम नगरमा उक्त कार्यक्रम सम्पन्न भइसकेको छ । 

    “यो कार्यक्रम गर्दा बाल सञ्जाललाई आधिकारिक खबर आएन । ४ लाख बढी खर्च हुन्छ भनेर पत्रकार सम्मेलन गरेर उहाँहरूले भन्नुभएको थियो,” उनले भनिन्, “आर्थिक स्रोत भने खुलाउनुभएको थिएन । त्यही विषयमा खर्च विवरण माग गर्दा उहाँहरूले कुरा मोड्न खोज्नुभएको छ।”

    उनले उक्त कार्यक्रममा कति रकम खर्च भएको हो भनेर पटक–पटक सोध्दा समेत कतैबाट जवाफ नपाएको बताइन् । आर्थिक हिनामिना भएको हुन सक्ने अनुमान उनको छ । 

    “नभए उहाँहरूले जानकारी दिनुपर्ने हो । किन लुकाउनुभयो त?,” उनले भनिन् । 

    शुक्रवार बसेको छलफलले नगरपालिका र रूपान्तरण नेपालबिच कस्तो सम्झौता भएर बालबालिकाको वडा भेलाहरू सम्पन्न भयो भन्ने प्रश्न समेत उठाएको छ । प्राविधिक सम्झौता भनिएको रूपान्तरण नेपालसँगको सम्झौता हेर्न पाउनुपर्ने विषय उठेको छ । अध्यक्ष कँडेलका अनुसार उक्त सम्झौता सार्वजनिक गर्न निवेदक लेखेर प्रमुख प्रशासकीय अधिकृतलाई माग गर्दा योजना शाखा देखाउने, कहिले बाल सञ्जाल अधिकृतलाई देखाउने काम भएको छ ।

    उनले आफूहरूलाई कनकाई नगर बाल सञ्जाल नेपाली कांग्रेस भएछ , भ्रष्टाचार गर्न थालेछ भन्ने घिनलाग्दो आरोप समेत लगाइएको बताइन् । 

    “योजना शाखाका जमुना कटुवाल जो सातौं तहको कर्मचारी हुनुहुन्छ उहाँले उल्टै हाम्रो कुरा सुन्नुभन्दा पनि बाल सञ्जाल नेपाली कांग्रेसको भएछ अब त भन्दै आक्रोश पोख्नुभयो,” उनले भनिन्, “बाल सञ्जाल अधिकृत उमानाथ ढकाल सँग सम्झौताको विषयमा बुझ्न गयौँ । उहाँहरूले आफ्नो फोनमा सम्झौताको पहिलो पृष्ठ मात्र देखाउनुभयो ।”

    कटुवालले वैशाख २० गते सम्झौता भएको रूपान्तरण नेपालसँगको १ लाख ४७ हजारको आर्थिक सम्झौता बारे जानकारी गराएको उनले बताइन् ।  

    “प्राविधिक साहयताका लागि सम्झौता भएको कुरा मौखिक भन्नुभयो , लिखित देखिएन । यति मात्र देखाउन मिल्छ अरू प्राविधिक विषय हो भन्दै उहाँहरूले देखाउनुभएन । हामीले पटक पटक सम्झौता देखाउन भन्यौँ,” उनले थपिन् । 

    साथै उनले छलफलले बाल सञ्जालको अघिल्लो कार्यकालका लागि भएको सम्पूर्ण आर्थिक विवरण माग गरिएको पनि बताइन् । पटक पटक लिखित रूपमै माग गर्दा पनि छैटौँ समितिले अहिलेसम्म आर्थिक प्रतिवेदन नदिएको गुनासो उनको छ । 

    “अभिषेक मिश्र अध्यक्ष हुनुहुन्छ उहाँले छैटौँ र पाँचौँ कार्यसमिति अध्यक्ष भएर चलाउनुभयो । आर्थिक विवरण त्यसको आएको छैन,” उनले भनिन्, “पटक पटक माग्दा पनि भोली पर्सि दिन्छु भन्नुहुन्छ तर दिनुहुन्न ।”

    अध्यक्ष कँडेलका अनुसार २०७२ सालमा स्थापना भएको सञ्जाल नगरको आधिकारिक संस्थाको हो । सञ्जालले हरेक वर्ष नगरबाट ५ लाखको बजेट पाउँछ । यो सञ्जाल व्यवस्थापनका लागि हो । नगरका बालबालिका केन्द्रित बजेट भने ४५ लाख रहेको छ । 

    “छैटों समितिले कति काम गरेको छ विवरण पाइएन । नगरप्रमुख, बाल कल्याण अधिकारी, उपप्रमुख लगायतलाई सोध्दा समेत हामीलाई विवरण आएन,” उनले अन्त्यमा भनिन् । कँडेलका अनुसार वर्तमान समितिले १२ हजार रूपैयाँ खर्च गरेको छ ।



    Avatar निगरानी डेक्स    
  • २०८१ असार ८, शनिबार ०६:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP