सूर्योदय : लामो समय देखि दलहरुले मालपोत, राहदानी र नागरिकता सूर्योदय नगरपालिकाको क्षेत्रबाटै उपलव्ध गराउने चुनावी एजेण्डा अघि सार्दै आएका थिए । दलको प्राथमिकतामा परेका तीन एजेण्डा मध्ये नागरिकताको एजेण्डा भने पुरा भएको छ ।
‘अन्ततः हाम्रो निरन्तरको प्रयास पछि सूर्योदय नगरपालिका वडा नं. ६ देखि १४ मा बसोबास गर्ने नागरिकहरूको नागरिकता सम्बन्धी सेवा प्रवाहको क्षेत्र विस्तार गरिएको छ ।’ सूर्योदय नगरपालिकाका उपमेयर दुर्गा कुमार बरालले भने ‘अबदेखि यस नगरपालिकाका सबै बडाहरुको नागरिकता सम्बन्धी सेवा प्रवाह अध्यागमन तथा सीमा प्रशासन कार्यालय, पशुपतिनगरबाट हुनेछ ।’
नगरिकता नगर क्षेत्रबाट वितरणका लागि आवश्यक प्रकृया पुरा गर्न यस अघि नगरपालिकाले उपप्रमुख बरालको नेतृत्वमा समिति बनेको थियो । बरालले भने ‘करिब दुई बर्षको नियमित प्रयासबाट नागरिकको माग सम्बोधन भएको छ ।’ उनले मालपोत, राहदानी शाखा लगायतका कार्यालय नगरमै ल्याउन पहल गरिरहेको बताए ।
अध्यागमन तथा सीमा प्रशासन कार्यालय, पशुपतिनगरका प्रमुख होमनाथ पोखरेलले यस अघि सूर्योदय नगरपालिकाको नेपाल भारत सिमावर्ती क्षेत्रका वडाहरुका नागरिकले नागरिकताको सेवा पाएकोमा अब सबै वडाका नागरिकले सेवा पाउने बताए ।
यस अघि सूर्योदय नगरपालिकाको वाड न १ देखि ५ नम्बर सम्म, रोङ गाउँपालिकाको वाड न ६ र माईजोगमाई गाउँपालिकाको वाड न २ का करिब २८ हजार नागरिकलाई पशुपतिनगरको अध्यागमन तथा सीमा प्रशासन कार्यालयले सेवा प्रदान गर्दै आएको पोख्रेलले बताए । सूर्योदय नगरपालिकाको वाड न ६ देखि १४ सम्मको क्षेत्रमा सेवा विस्तार भएपछि सो कार्यालयबाट करिब ६० हजार नागरिकले सेवा पाउने उनले बताए ।
सूर्योदय नगरपालिका वाड न १ का वडा अध्यक्ष राजकुमार सेरेङले घण्टौ हिडेर नागरिकता बनाउन इलामको सदरमुकाम इलाम बजार जाने समस्या समाधान भएको बताए । उनले भने ‘दुई बर्ष देखिको निरन्तर प्रयासले यो उपलव्धि प्राप्त भएको हो ।’
प्रमुख पोखरेलका अनुसार चैत्र ३ गते देखि पशुपतिनगरको अध्यागमन तथा सीमा प्रशासन कार्यालबाट सूर्योदय नगरपालिकाका वडा नं. ६ देखि १४ का नागरिकहरूलाई नागरिकता सम्बन्धी सेवा गर्न लागिएको हो ।
सूर्योदयनका नागरिकले लामो समय देखि नागरिकता दिनका लागि इलाम सदरमुकाम पुग्नु पर्ने बाध्यता हटाउन माग गर्दै आएका आएका थिए । सूर्योदय नगर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईले ढिलो भएपनि महत्वपुर्ण काम भएको बताए । उनले भने ‘यसले सेवा ग्राहीको समय र अर्थको बचत हुने भएको छ ।’ यसले मृतप्राय बनेको सिमावर्ती पशुपतिनगर बजारलाई पनि चलायमान बनाउने उनले बताए । उनले मालपोत र राहदानी समेत सूर्योदय क्षेत्रबाटै वितरण गर्ने प्रवन्ध गर्नुपर्ने बताए ।
यो सेवासंगै सूर्योदय नगरपालिकाका नागरिकले करिब ४५ किलोमिटर धाएर इलाम सदरमुकाम जाने बाध्यता अन्त भएको उपमेयर बरालले बताए ।
प्रतिक्रिया