सबै प्रदेशमा ट्रमा सेन्टर खोल्ने योजना कागजमै सीमित

काठमाडौं– उदयपुरका पुष्पराज तामाङ गत माघ २५ गते खानेपानीको पाइप मिलाउँन जाँदा लडे । उनको ढाडमा चोट लाग्यो । तामाङलाई उनकी पत्नी इन्द्रमाया तामाङले उदयपुरको जिल्ला अस्पताल गाइघाट लगिन् ।जिल्ला अस्पतालका डाक्टरले ट्रमाको बिरामीको उपचार जिल्ला अस्पतालमा सम्भव नभएको भन्दै प्राथमिक उपचार पछि भोलिपल्टै (माघ २६ गते) काठमाडौंको ट्रमा सेन्टरमा रेफर गर्‍यो ।

तामाङकी पत्नीसँग एम्बुलेन्समा काठमाडौं आउने खर्चसमेत थिएन । आफुसँग एम्बुलेन्स भाडासमेत नभएपछि उनले मेरुदण्डमा चोट लागेका पतिलाई सार्वजनिक बसको क्याविन सिटमा सुताएर उदयपुरबाट काठमाडौंसम्म ल्याइन् ।खानेपानीको पाइप मिलाउन जाँदा लडेर ढाडको मेरुदण्डमा चोड लाग्यो, हिँड्न पनि नसक्ने अवस्थामा थिए, जिल्ला अस्पतालले उपचार गर्न सक्दैन एम्बुलेन्समा काठमाडौं लानु भन्यो,’ उनले खबरहबसँग भनिन्, ‘ आफुसँग एम्बुलेन्स भाडा नै थिएन, कसरी लानु ? बहिनी ज्वाइँले बासमा अगाडिको सिट मिलाइदिए, बसकै सिटमा सुताएर निकै मुस्किलले काठमाडौं ल्याए ।’

तामाङमाघ २६ गतेदेखि राष्ट्रिय ट्रमा सेन्टरमा उपचारत छन् । तामाङको ढाडको मेरुदण्ड भाँचिएको छ । उनको कम्मरमुनीको शरीरका भाग नचल्ने अवस्थामा पुगेको छ । डेढ महिनासम्म ट्रमा सेन्टरको आइसियुमा बस्दा तामाङको कम्मरमुनीको भागहरुमा समेत संक्रमणका कारण घाउ भएको छ ।

आफ्नै घर नजिक ट्रमा अस्पताल नहुँदा घरमा ताला लगाएर पतिको उपचारका लागि काठमाडौं बस्नु परेको इन्द्रमायाले सुनाइन् ।‘उतैको अस्पतालमा उपचार हुन्थ्यो भने त्यस्तो दुःख भोग्नु पर्दैन थियो होला, उता यस्तो रोगको उपचार हुने अस्पताल नै छैन, सानो–सानो हेल्थपोष्टहरु छ, त्यहाँ सक्दैनौं भने,’ इन्द्रमायाले भनिन्, ‘ उहाँ बिरामी भएदेखि घरमा ताल्चा लागेको छ, सरकारले हाम्रो घर नजिक पनि यस्तै अस्पताल खोलिदिएको भए, कहिलेकाँही भनेपनि घर जान पाउथेंहोला, खर्च पनि कम हुन्थ्यो । नजिक भएपनि बेलाबेलामा घरको हेरचाह गर्न पाउथे ।’

सरकारले आफ्नै घरपायक पर्ने ठाउँमा ट्रमा सेन्टर खोलेको भए आफुहरुलाई उपचार गर्न सहज हुने उनले बताइन् ।

उनले भनिन्, ‘आफ्नै घर नजिक उपचार गर्न पाएको भए, हामीलाई सहज हुन्थ्यो, सरकारले प्रदेशमा यस्तै अस्पताल खोल्ने भनेको छ रे छिट्टै बनाए उतै गएर उपचार गराउन पाइन्थ्यो ।’रुकुमका हरि बहादुर बुढा ट्रमा सेन्टरमा साढे दुई महिना अघिदेखी उपचारत छन् । घरमा साना बालबच्चा र पत्नि भएकाले उनी आफ्ना १६ वर्षका भान्जा विरेन्द्र बोहोराको साथमा रुकुमदेखि काठमाडौंसम्म उपचारका लागि आए ।

खेतीकिसानी गरेर जीविका चलाउँदै आएका बुढा बिरामी परेपछि शुरुमा रुकुमकै जिल्ला अस्पतालमा गए । तर जिल्ला अस्पतालमा ११ दिन भर्ना भएपछि नेपालगञ्ज रेफर भए । नेपालगञ्जमा समेत उपचार नपाएपछि बुढालाई उनका भान्जाले काठमाडौंको ट्रमा सेन्टर ल्याए ।

पति बिरामी भएर अस्पताल भर्ना भएपछि गाउँमा पत्नी र साना बालबच्चाको विजोक छ ।

‘मामाको घरमा भाइजु पनि केही बुझ्नुहुन्न, कसैले यो काम गर भन्यो भने मात्रै कामगर्नुहुन्छ, भाइबहिनी पनि सानै छन्,’ बोहोराले भने, ‘माइजुलाई कुर्न ल्याएर औषधि किन्न जान पनि सक्नुहुन्न त्यसैले मामालाई कुर्न म पढाइ छाडेर आएको हो । गाउँमा मामाको परिवारको विजोक छ ।’

‘घरनजिकै उपचार गर्न पाएको भए, दुःख कम हुन्थ्योहोला, पैसा पनि धेरै खर्च भइसक्यो,’ बुढाले भने, ‘घर नजिकै उपचार पाएको भए सहज हुन्थ्यो ।’
उदयपुरका तामाङ र रुकुमका बुढा त प्रतिनिधि पात्र मात्रै हुन् । सवारी तथा अन्य विभिन्न किसिमका दुर्घटनामा परी चोटपटक लागेका तथा घाइते भएका बिरामीहरु आफ्नै प्रदेश र जिल्लामा उपचार नपाउँदा काठमाडौं नै आउनुपर्ने बाध्यता छ ।

राष्ट्रिय ट्रमामा बिरामीको चाप

दुर्घटना तथा विभिन्न कारणले चोटपटक लागेका ट्रमाका बिरामीको चाप राष्ट्रिय ट्रमा सेन्टरमा बढ्दै गएको अस्पतालका निर्देशक डाक्टर प्रमोद कुमार यादवले बताए ।

‘दैनिक एक हजार ट्रमाका बिरामीहरु हाम्रो अस्पतालमा उपचारका लागि आउँछन्, बिरामीहरुको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ,’ डा यादवले भने, ‘सडकको अवस्था, यातायातको चापका कारण बढेको दुर्घटना र गाउँघरमा लडेर चोटपटक लागेका बिरामीहरु बढेका छन्, सरकारी ट्रमा सेन्टर यही मात्रै भएर पनि हाम्रो अस्पतालमा बिरामीको चाप छ ।’

ट्रमाका बिरामीको चाप धेरै हुने भएकाले अस्पतालले बिरामीको अवस्था अनुसार उपचार गर्ने गरेको उनको भनाइ छ ।

अस्पतालको आर्थिक वर्ष २०७५÷७६ को वार्षिक तथ्यांकका अनुसार १८ हजार २ सय ६३ जनाले आकस्मिक सेवा लिएका छन् । आकस्मिक सेवा लिनेमध्ये ७४ प्रतिशत अर्थात १३ हजार ५ सय १४ जना बिरामी ट्रमाको समस्या भएका बिरामी हुन् । ती मध्ये धेरैजस्तो बिरामीहरु जिल्लाका अस्पतालहरुबाट रेफर भएका बिरामी हुन् ।

सबै प्रदेशमा ट्रमा सेन्टर खोल्ने योजना कहाँ पुग्यो ?

सरकारले दुर्घटनाका बिरामीको समयमै उपचारका लागि मुख्य राजमार्ग क्षेत्रलाई सेन्टर बनाएर ट्रमा सेन्टर निर्माण गर्ने योजना धेरै पहिला देखि बनाएको थियो ।

केही राजमार्ग क्षेत्रमा ट्रमा सेन्टर स्थापनाका लागि सम्भाव्यता अध्ययन समेत गरेको थियो । तर योजना अनुसार ट्रमा सेन्टर निर्माणका लागि काम भने शुरु भएन ।

देश संघीयतामा गएपछि सरकारले प्रत्येक प्रदेश समेटिने गरी मुख्य राजमार्ग क्षेत्रमा ट्रमा सेन्टर स्थापनाका लागि गतवर्ष पनि नयाँ योजना ल्यायो । ट्रमा सेन्टर स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न अर्थ मन्त्रालयले गतवर्ष मात्रै डेढ करोड बजेट समेत छुट्याएको थियो ।स्वास्थ्यराज्य मन्त्री डाक्टर सुरेन्द्र यादवले सरकारले सबै प्रदेशमा राष्ट्रिय ट्रमा सेन्टरको मातहतमा सञ्चालन हुनेगरी प्रदेश स्तरमा ट्रमा सेन्टर स्थापनाका लागि काम भइरहेको बताए ।

‘योजनाहरु त धेरै छन् । पहिलादेखि नै राजमार्ग क्षेत्रमा ट्रमा सेन्टर सञ्चालन गर्ने भनेर योजना बनाएको थियो, त्यतिवेला सर्वे पनि भएको थियो,तर कुनै निर्णय भएन,’ स्वास्थ्यराज्य मन्त्री डा यादवले खबरहबसँग भने, ‘अहिले देश संघीयातामा गएकाले हामीले प्रत्येक प्रदेशमा एउटा ट्रमा सेन्टर पर्ने गरी राजमार्ग क्षेत्रलाई टार्गेट गरेर ट्रमा सेन्टर बनाउने योजनामा छौं तर अहिले नै बनिसकेको छैन ।’

सरकारले यसवर्ष पनि प्रदेशहरुको मुख्य राजमार्गमा ट्रमा सेन्टर स्थापना गर्न भन्दै करिव डेढ करोड रुपैयाँ छुट्याएको स्वास्थ्य मन्त्रालयका निती, योजना तथा अनुगमन महाशाखाका प्रमूख डाक्टर विकास देवकोटाले बताए ।‘गतसालदेखि नै प्रत्येक प्रदेशमा एउटा पर्नेगरी मुख्य राजमार्ग क्षेत्रमा ट्रमा सेन्टर स्थापना गर्ने भनेर बजेट आएको थियो, उनले भने, ‘गतवर्ष पनि सम्भाव्यता अध्ययनहरु भयो, अब यो वर्षचाँही ट्रमा सेन्टर स्थापनाको काम अगाडि बढ्छ ।from : khabarhub. com