इलाममा विश्व पर्यटन दिवसको अवसरमा फोटो प्रतियोगिता हुने

इलाममा विश्व पर्यटन दिवसको अवसरमा  फोटो प्रतियोगिता हुने

इलाम ,भाद्र ३० हरेक वर्षको सेम्टेम्बर २७ तारिखको दिन मनाउँदै आएको विश्व पर्यटन दिवसको अवसरमा इलाममा फोटो प्रतियोगिता हुने भएको छ । इलाम नगर पर्यटन समितिको मुख्य आयोजना तथा नेपाल फोटो पत्रकार महासंघ, इलाम शाखाको सह आयोजनामा आगामी असोज ११ गते दिवसको अवसरमा प्रतियोगिता हुने भएको हो । उक्त प्रतियोगितमा पहिलो, दोस्रो तथा तेस्रो हुने फोटोलाई क्रमशः दश हजार, छ हजार र चार हजार नगद प्रदान गरिने नगर पर्यटन समितिकी अध्यक्ष सुसिला सापकोटाले बताउनु भयो । नगरको पर्यटकीय क्षेत्रको प्रबर्द्धन गर्न यस प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष सापकोटाको भनाई छ ।
सह आयोजकको रुपमा रहेको नेपाल फोटो पत्रकार महासंघ, इलाम शाखाले भने प्रतियोगिताको सम्पूर्ण तयारी गर्ने, उत्कृष्ट फोटो छनौट गर्ने, इमेल मार्फत प्राप्त फोटोहरुलाई इलाम चोकबजारमा रहेको डिस्प्ले बोर्डबाट प्रदर्शन गर्ने लगायतका कार्यहरु गर्नु पर्ने संघकी सहसचिव सुनिता राईले जानकारी दिनुु भयो । प्रतियोगीहरुले सहभागिता जनाउनको लागि दुई वर्ष भित्र इलाम नगर क्षेत्रमा खिचिएको कम्तिमा पाँच वटा फोटो इमेल मार्फत उपलब्ध गराउनु पर्नेछ । उत्कृष्ट फोटोलाई पहिलो , दोस्रो र तेस्रो हुनेलाई पर्यटन दिवसको अवसरमा पुरस्कृत गरिने छ ।