इलाम , २३ फागुण : इलाम नगरपालिका ६ र ८ स्थित श्री सिंह सिद्धदेवि मन्दिर परिसरमा बुधबारदेखि श्री लिङ्ग महापुराण ज्ञान महायज्ञ सुरु हुने भएको छ । श्री अठार पुराण मुल आयोजक समितिको आयोजनामा संचालन हुन लागेको महायज्ञको सम्पुर्ण तयारी पुरा भएको अध्यक्ष सन्दिप कुमार बुढाथोकीले जानकारी दिनुभएको छ । धर्मिक पर्यटन प्रवद्धन गर्ने उदेश्यका साथ पुराण आयोजना गरिएको बुढाथोकीले बताउनु भयो । धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न आवश्यक पुर्वाधार निमार्ण साथै अक्षयकोष स्थापना गरिने उहाँको भनाई छ ।
चैत २ गते सम्म संचालन हुने महायज्ञमा कथा वाचक युवा पण्डित विष्णु प्रसाद भट्टराई र पण्डित कृष्ण घिमिरेद्धारा संगीतमय कथा प्रवचन र विविध धार्मिक सांस्कृतिक झाकीहरु समेत प्रर्दशन गरिने जनाइएको छ । २४ भगवती माताको मुर्ति सहित , भाकीहरुका साथ कलशयात्रा र इलाम नगरपरिक्रमा गरिने जनाईको छ ।
मन्दिर परिसरमा अठार पुराण मध्ये यस अघि १४ औ , १५ औ र १६ औ पुराण सम्पन्न भएको थियो । २०५९ साल माघ १५ बाट अठार पुराणको पहिलो पुराण सुरु गरिएको आयोजक समितिका सचिव रविन रायमाझीले जानकारी दिनु भएको छ । पहिलो पुराण इलाम नगरपालिका ६ र ८ स्थित श्री जनकल्याण आधारभुत विद्यालय परिसरमा बौद्ध धर्मगुरु बाट दोमाङ र सनातन हिन्दु धर्म अनुरुप श्रीमदभागवत पुराणको आयोजना गरि सुरु गरिएको रायमाझीले बताउनु भयो ।
१३ औ पुराण सम्म सोयाङ , गजुरमुखी , माइखोला लगायत जिल्लाको विभिन्न स्थानका खुल्ला क्षेत्र , बरको छहारी , खोला बगरमा संचालन गरिएको जानकारहरु बताउछन । अठार पुराणलाई व्यवस्थित र सम्पन्न गर्न अठार पुराण मुल आयोजक समितिले प्रयास गरीरहेको जनाएको छ । अग्रजहरुले सुरु गरेको अठार पुराणको संकल्पलाई पुरा गर्न अहिले युवाहरुले नेतृत्व गरी समय सापेक्ष रुपमा संचालन गर्न लागी परेको आयोजक समितिको भनाई छ ।
भगवती माताको मुर्तिको प्राण प्रतिष्ठा
महायज्ञको अवसरमा भगवती माताको मुर्तिको प्राण प्रतिष्ठा गरिने भएको छ । भारतको राजस्थानबाट देविको ५ फिट अग्लो आर्कषक मुति ल्याइएको छ । माताको मुति श्री सिंह सिद्धदेवि मन्दिर परिसरमा राखिने तयारी गरिएको छ ।
१४ औ देखि १६ औ पुराण सम्म संकलन भएको सहयोग र दाताहरुको सहयोगमा मुर्ति ल्याइएको आयोजकले जनाएको छ ।