‘ढिस्कोले पुरिएर मृत्यु हुने बालश्रमिक हैनन्’ सूर्योदय नगरपालिका

‘ढिस्कोले पुरिएर मृत्यु हुने बालश्रमिक हैनन्’ सूर्योदय नगरपालिका

सूर्योदय : सूर्योदय नगरपालिकाको वडा नं. १० मा घडेरी खार्ने क्रममा ढिस्कोले पुरीएर मृत्यु भएका ४ जना मजदुर बाल श्रमिक नभएको सूर्योदय नगरपालिकाले प्रष्ट पारेको छ । सूर्योदय नगरपालिकाका प्रवक्ता खेम भुजेलले प्रेस विज्ञप्ती मार्फत सामाजीक सञ्जालमा आएको टिप्पणी गलत भएको बताएका हुन् ।
केहि समाजिक सञ्जाल प्रयोगकर्ताले बैशाख २२ को सो घटनामा मृत्यु भएका बाल श्रमिक भएको भन्दै घटनालाई बेग्लै रुपमा चर्काउने प्रयास गरेका थिए । उनीहरुले बालमैत्री स्थानीय शासनयुक्त नगर पालिकाको विषयमा समेत नकारात्मक टिप्पणी गरेका थिए ।
विज्ञप्तिमा भनिएको छ ‘बालमैत्री स्थानीय शासनयुक्त सूर्योदय नगरपालिका घोषणा गरिएको विषयलाई सामाजिक सञ्जालमा भएको टिप्पणी प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ उक्त काममा घटनास्थलको प्रहरी मुचुल्का समेतका आधारमा बालश्रमिक नखटिएको व्यहोरा पुष्टि भएको छ ।’ नगरपालिकाले सूर्योदय नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भएको र यसको कार्यान्वयन आम सरोकारको विषय रहेकाले सामाजिक सञ्जालमा यस प्रकारको भ्रामक र अतिरञ्जित पोष्टहरू नगरिदिन समेत भनेको छ । बालबालिका सम्बन्धी ऐन, २०७५ ले अठार वर्ष उमेर पूरा नगरेको व्यक्ति लाई बालबालिका भनेको छ । प्रहरीका अनुसार मृतक सबै १८ बर्ष माथिका श्रमिक हुन् । प्रवक्ता भुजेलले भने ‘बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा भइसकेकोले कार्यान्वायनका लागि सबै पक्षले सहयोग गर्नुपर्छ ।’