logo
  • २०८३ बैशाख ४, शुक्रबार | Fri, 17 Apr 2026
  • बहुसंकट समाधानमा खुला डाटाको भूमिका सम्बन्धि   कार्यशाला इलाममा सम्पन्न

    बहुसंकट समाधानमा खुला डाटाको भूमिका सम्बन्धि   कार्यशाला इलाममा सम्पन्न


    सुनिता मगर , इलाम : खुला डाटा दिवस २०२५ को अवसरमा नेपाल इन्स्टिट्युट अफ रिसर्च एन्ड कम्युनिकेसन्स  संस्थाले इलाम नगरपालिकासँगको सहकार्यमा बहु-संकट  र खुला डाटाको सम्बन्धबारे बहु-क्षेत्रीय सहकार्य कार्यशाला आयोजना गरेको छ। यही साता इलाम सामुदायिक कृषि क्याम्पसमा सम्पन्न उक्त कार्यशालामा नगरपालिकाका पदाधिकारी, वडास्तरीय प्रतिनिधिहरू, आदिवासी तथा सीमान्तकृत समुदायका विद्यार्थीहरू, नागरिक समाजका प्रतिनिधि, वातावरणविद् तथा सञ्चारकर्मी गरी ४० जना सहभागी थिए।
    कार्यशालामा नेपालमा खुला डाटाका अभ्यास र पहलबारे जानकारी दिइएको थियो । सहभागीहरूलाई ओपन नलेज फाउन्डेसनको वेबसाइट तथा अन्य खुला डाटा स्रोतहरूबारे जानकारी गराइएको थियो । कार्यशालाका क्रममा समुदायमा देखिएका बहु-संकट समाधानका उपायहरूबारे छलफल गरिएको थियो ।
    कार्यक्रममा इलाम नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष नरेश श्रेष्ठले  फेला पार्न सकिने, पहुँचयोग्य, अन्तरसञ्चालनयोग्य, पुन: प्रयोज्य डेटा स्थानीय नीति निर्माणका लागि महत्त्वपूर्ण हुने बताए। उनले नगरपालिका र डाटा अभियन्ताहरूको सहकार्यमा खुला डाटा संकलन र उपयोग गरिने प्रतिबद्धता व्यक्त गरे। त्यसैगरी इलाम सामुदायिक कृषि क्याम्पसका प्रमुख डा. योगेन्द्रमान श्रेष्ठ ले युवा कृषि वैज्ञानिकहरूलाई खुला डाटाका नयाँ प्रवृत्तिबारे जानकारी गराउनु कार्यक्रमको मुख्य उपलब्धि भएको बताए। उनले अनुसन्धान र नीति वकालतको लागि खुला डाटा प्रयोग गर्नुपर्नेमा जोड दिए।
    कार्यशालाकामा  स्थानीय स्तरमा तथ्यांक संकलन, विश्लेषण र उपयोग सम्बन्धी ज्ञान तथा सीप अभाव देखिएको निष्कर्ष निकालिएको छ। यद्यपि, सबै क्षेत्रका सरोकारवालाहरू खुला डाटाबारे थप जानकारी लिन इच्छुक रहेको पाइएको छ। साथै, डाटा साझेदारी र बहसलाई निरन्तरता दिनका लागि वाटसएपमा सामुदायिक कार्य समूह गठन गरिनेछ, जसले बहु-संकटका प्रभावहरूलाई कागजातिकरण गर्दै समाधानका उपायहरू सुझाउनेछ।
    नेपाल अनुसन्धान तथा सञ्चार संस्थाले यस कार्यशालाबाट सिकाइएका अनुभवहरूको आधारमा आगामी दिनमा खुला डाटाको प्रभावकारी उपयोगलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको जनाएको छ ।



    निगरानी    
  • २०८१ चैत्र १०, आईतवार ०७:५६ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP